आदरणीय सभापति Gagan Thapa ( Gagan Thapa Secretariat , Gagan Thapa : Energy with Experience )ज्यू,
नमस्कार। जय नेपाल।
हिजो राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशन समारोहमा यहाँको उपस्थिती र मन्तव्य सुन्दा हामीजस्ता लोकतन्त्रप्रेमी नेपाली तथा रुखको छहारीमा हुर्केका कांग्रेसी परिवारलाई नेपाली कांग्रेसप्रति पुनः गर्वको अनुभूति भयो। विशेष महाधिवेशनपछिको नेतृत्वप्रति हामीमा आशा र अपेक्षा अझ बलियो बनेको छ।
हिजोको भाषणमा चितवनको १८ सालको आन्दोलन र त्यस क्रममा बलिदान दिने १८ जना सहिदहरूको प्रसंग उठाउँदा मेरो मन भावविह्वल बन्यो, मेरो पुर्खा मेरो हजुरबुबा सहिद हरि प्रसाद गुरुङलाई सम्झिए। आफ्ना पुर्खाहरूको त्याग सम्झँदा गर्व पनि लाग्यो। जब तपाईंले रास्वपाका कार्यकर्ताहरूलाई “तपाईंहरू उभिएको जमिन १८ जना सहिदको रगतले सिञ्चित छ” भन्नुभयो, त्यसबेला एउटा प्रश्न पनि मनमा उठ्यो-के नेपाली कांग्रेसले ती सहिदहरूप्रति आफ्नो कर्तव्य पूरा गर्न सकेको छ?
म सहिद हरिप्रसाद गुरुङको परिवारको सदस्य हुँ। मेरा हजुरबुबासहित ती सहिदहरूले जुन कांग्रेसको सपना देखेका थिए, त्यो कांग्रेस गुटबन्दी, राजनीतिक ठेकदारी, पैसाको चलखेल र परिवारवादको चंगुलमा फस्ला भन्ने कल्पना समेत गरेका थिएनन्। यदि उहाँहरूले आफ्नो आत्मसम्मान बेचेर राज्यसत्तासँग सम्झौता गरेको भए, सायद हाम्रो परिवारको जीवन फरक हुन्थ्यो। तर उहाँहरूले आफ्नो भविष्यभन्दा देशको भविष्य रोज्नुभयो, आफ्नो जीवनभन्दा लोकतन्त्रलाई ठूलो ठान्नुभयो।
उहाँको बलिदानसँगै हाम्रो परिवारले अभिभावक गुमायो। हामी एक अर्थमा टुहुरा भयौं। तर पोखराको हरिचोकमा स्थापित उहाँको पूर्णकदको सालिकले हामीलाई सधैं सम्झाइरहन्थ्यो-“हामी टुहुरा छैनौं, यो देशले उहाँलाई सम्झिरहेको छ।” त्यो सालिक केवल हाम्रो परिवारको मात्र होइन, लोकतन्त्रमा विश्वास गर्ने सम्पूर्ण नेपालीको गौरव थियो।
दुर्भाग्यवश, जेन–जी आन्दोलनका क्रममा त्यो सालिक ढल्यो, अझै भनौं ढलाईयो। घटना भएको यति महिना बितिसक्दा पनि न वडा कार्यालयको ध्यान पुग्यो, न महानगरपालिकाको, न प्रदेश सरकारको, न संघीय सरकारको। अझ दुःखको कुरा, नेपाली कांग्रेस स्वयं पनि यस विषयमा मौन देखियो।
हिजो तपाईको भाषण सुन्दा मनमा एउटा पीडादायी प्रश्न उठ्यो, जब एउटा सहिदको सालिकप्रति समेत संवेदनशीलता देखाउन नसक्ने संरचनाले सहिदका सपना कसरी पूरा गर्ला? के सहिदहरूको नाम केवल भाषण, मौनधारण र स्मृति सभासम्म सीमित रहने हो?
आज हामी सहिद परिवारका सदस्यहरू आपसमा एउटा म्यासेन्जर समूह बनाएर आफ्नै खर्चमा सालिक पुनर्निर्माण गर्ने तयारी गरिरहेका छौं। स्पष्ट भन्नुपर्दा, हामीलाई सरकारप्रति मात्र होइन, पार्टीप्रति समेत भरोसा छैन। तर हामीलाई थाहा छ, सालिक पुनर्निर्माण भएपछि त्यसको उद्घाटन कसले गर्ने, काङ्ग्रेसको कति ठूलो झण्डा गाड्ने भन्ने राजनीतिक बहस काङ्ग्रेसीहरुमा फेरि सुरु हुनेछ। प्रश्न उठ्छ—के नेताहरूको भूमिका यतिमै सीमित हो?
अन्य समुदाय वा अन्य दलका सहिदहरूको नाममा करोडौंका परियोजना बनेका छन्। स्मृति पार्क बनेका छन्। संस्थागत संरचनाहरू खडा भएका छन्। तर नेपाली कांग्रेसका संस्थापक सहिदहरूमध्ये एक सहिद हरिप्रसाद गुरुङको नाममा बनेको प्रतिष्ठानले पोखराको हरिचोकमा एउटा सानो भवन बनाउन समेत सरकारी जग्गा पाउन सकेको छैन।
सहिद धर्मपत्नी नन्ददेवी गुरुङ आज पाटी कार्यलय नजिकै कान्छा छोराको घर ललितपुरमा बिरामी अवस्थामा हुनुहुन्छ। उहाँको स्वास्थ्य अवस्थाबारे चासो लिने नेता भेटिँदैनन्। परिवारले चितवन निशुल्क रोपनीका रोपनी दिएर स्थापना गरिदिएको विद्यालयमा प्रविधिक रुपमा सरकारी समस्या परेको छ। कास्कीको सहिद हरिप्रसाद आधारभूत विद्यालय र सहिद हरिप्रसाद स्मृति प्रतिष्ठानको अवस्थाबारे राज्य र पार्टी दुवै बेखबर छन्।
सभापतिज्यू,
सहिदहरू केवल इतिहासका पात्र होइनन्, लोकतन्त्रका जग हुन्। उनीहरूको सम्मान केवल शब्दले होइन, व्यवहारले हुनुपर्छ। यदि पार्टीले आफ्ना सहिदहरूलाई नै बिर्सन्छ भने भविष्यका पुस्ताले पार्टीलाई किन सम्झने?
त्यसैले यो खुला पत्रमार्फत विनम्र आग्रह गर्दछु, पोखरा हरिचोकस्थित सहिद हरिप्रसाद गुरुङको सालिक पुनर्निर्माणमा स्वयं नेपाली कांग्रेस केन्द्रीय समितिको खाताबाट तत्काल पहल गरोस् । साथै, सहिद हरिप्रसाद स्मृति प्रतिष्ठानलाई पुनर्जीवित गर्न पार्टीले संस्थागत सहयोगको घोषणा गरोस्। त्यसो गर्न सकियो भने मात्र “नयाँ कांग्रेस” को अनुभूति जनताले गर्न सक्नेछन्।
अन्यथा, विगतमा जस्तै हामी परिवारजनले आफ्नै सीमित स्रोतसाधनबाट यो जिम्मेवारी पूरा गर्नेछौं। किनभने सहिदको सम्मान कुनै सरकार वा पार्टीको कृपाबाट होइन, हाम्रो कर्तव्यबाट बाँचेको छ।
सभापतिज्यूसँग प्रत्यक्ष पहुँच छैन। यदि यो पत्र कुनै माध्यमबाट यहाँसम्म पुग्यो भने, यसलाई एउटा सहिद परिवारको गुनासो मात्र नभई कांग्रेसप्रतिको अन्तिम भरोसाको स्वरका रूपमा ग्रहण गरिदिनुहोला।
जय नेपाल।
सम्राट गुरुङ
सहिद परिवार सदस्य
सहिद हरिप्रसाद स्मृति प्रतिष्ठान, नेपाल
सम्पर्क: ९८५६०१९८०४ / ९८०३६२०८०४






