
काठमाडौँ ८ जनवरी २०२४ । नेपाल सरकारका कानून, न्याय तथा संसदीय मामिलामन्त्री अजय कुमार चौरासियाले संसद्को आगामी (हिउँदे) अधिवेशनबाट गैरआवासीय नेपाली नागरिकताको कार्यान्वयनमा रहेका जटिलता सम्बोधन हुने बताएका छन् ।
संविधानले निर्देश गरेअनुसार आर्थिक, सामाजिक र सांस्कृतिक अधिकारसहितको गैरआवासीय नेपाली नागरिकताको कार्यान्वयनमा देखापरेका जटिलता सम्बोधन गर्ने गरी संसद्मा लैजाने गृहकार्य भइरहेको उनको भनाइ छ ।
गैरआवासीय नेपाली संघका अध्यक्ष डा. बद्री केसीको नेतृत्वको प्रतिनिधिमण्डलसँग भेटका क्रममा मन्त्री चौरासियाले गैरआवासीय नेपाली नागरिकताको कार्यान्वयन छिटो होस् भनेर सरकारले गृहकार्यमा गरिरहेको बताए । ‘यस सम्बन्धमा के कसरी अघि बढ्ने भनेर गृहमन्त्रालयसहित अन्य सरोकारवाला मन्त्रालयसँग हामीले छलफल गरिरहेका छौँ,’ उनले भने ।
यसअघि संघका अध्यक्ष डा. केसीले संविधानको धारा १४ मा प्रष्ट व्यवस्था भएको सामाजिक, सांस्कृतिक र आर्थिक अधिकार सहितको गैरआवासीय नेपाली नागरिकता प्रदान गर्ने भन्ने भावना अनुसार नागरिकता प्रदान गरिसकिएको भए पनि त्यसको कार्यान्वयन नभएको उल्लेख गरेका थिए । राजनीतिक अधिकार बाहेक सम्पूर्ण अधिकार नेपाली नागरिक सरह नै प्रयोग गर्न पाउने गरी कानूनी प्रक्रिया अघि बढाउन उनले अनुरोध गरेका थिए ।






