काठमाडौं १५ जनवरी २०२५ । राष्ट्रिय योग दिवस २०८१ का अवसरमा मनोक्रान्तिका प्रणेता डा. योगी विकाशानन्द पुरस्कृत भएका छन् । उनलाई नेपाल यौगिक समाज नेपालले प्रदान गर्ने ‘नेपाल योग पुरस्कार २०८१’ बाट मंगलबार सम्मानित गरिएको हो । पुरस्कार राशि ६० हजार रुपैयाँ रहेको छ ।
डा.योगी ‘संसारलाई बदल्नु छ, सुरु आफैंबाट गर्नु छ’, ‘आफ्नो लागि साधना र अरुका लागि सेवा’ जस्ता संकल्पसहित मनोक्रान्ति अभियान तथा विकाशानन्द फाउण्डेशन विश्व परिवार संस्थामार्फत योग, प्रवचन तथा ध्यानलगायत अध्यात्मिक साधनालाई निरन्तरता दिँदै आइरहेका छन् । करिब चार दशकदेखि योग, प्राणायाम तथा थ्यानका क्षेत्रमा सक्रिय उनलाई शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले राष्ट्रिय योग दिवसका अवसरमा आयोजना गरेको मूल समारोहमा सम्मान गरिएको हो ।
प्रज्ञा प्रतिष्ठानमा आयोजित समारोहमा स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेल, शिक्षामन्त्री विद्या भट्टराईलगायतले सम्मानित गरेका थिए । सम्मानित गरेकोमा धन्यवाद दिँदै उनले आफू कसरी योगमा आएको भन्ने विषयलाई उल्लेख गरेका थिए ।






