काठमाडौँ १५ जनवरी २०२५ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने जिल्ला अदालत काठमाडौँबाट धरौटीमा रिहा भएका छन् ।
बुधबार थुनछेक बहसपछि अदालतले सभापति लामिछानेलाई सहकारी ठगी प्रकरणमा ६० लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको थियो । अदालतको उक्त आदेशानुसार उनी धरौटी बुझाएर रिहा भएका हुन् ।
जिल्ला अदालतले सहकारी ठगीमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्वगृहमन्त्री लामिछानेलाई धरौटीमा छोड्न आदेश दिएको थियो । लामिछानेलाई ६० लाख धरौटीमा छोड्न काठमाडौं जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासले आदेश दिएको हो ।
काठमाडौं कालिमाटीस्थित स्वर्णलक्ष्मी सहकारीको बचत अपचलन गरेको मुद्दामा लामिछानेलाई धरौटीमा छोड्न काठमाडौं जिल्ला अदालतले आदेश दिएको हो । गत आइतबार अदालतमा उपस्थित भएका लामिछानेको यसबीचमा बयान र थुनछेक बहस भएको थियो ।






