दिनेशकुमार परियार
लन्डन । बेलायतस्थित नेपाली राजदूत डा.दुर्गाबहादुर सुवेदीले गोर्खाहरुलाई आन्दोलनका कार्यक्रमहरु नगर्न अनुरोध गरेका छन् ।
गोर्खा सत्याग्रह संघर्ष समितिले आप्mनो पाँऔं वार्षिकोत्सव मानाउन बुधबार लन्डनको नर्थोल्टमा आयोजना गरेको कार्यक्रमका प्रमुख अतिथि राजदूत सुवेदीले स्वरुप भने, ‘संघर्ष र हड्तालको मिति तोके बेलायतसँग सम्वादको ढोका बन्द हुन्छ ।’ प्राविधिक समितिले बुझाएको संयुक्त प्रतिवेदनमा उठेका गोर्खाको मागहरु अधिकांश सम्बोधन हुने आश्वासन दिँदै राजदूत डा.सुवेदीेले नेभेम्बरमा परराष्ट्र सचिवको नेतृत्वमा आउने नेपाल सरकारको प्रतिनिधिले बेलायती समकक्षीसँग भेट गरेर छलफलअघि बढाउने जानकारी दिए ।

गत मार्चमा आन्दोलनरत गोर्खा संस्थाहरुले हस्ताक्षर गरी नेपाली राजदूत डा. सुवेदी र बेलायती रक्षा मन्त्रालयका भेट्रान राज्यमन्त्री मार्क लान्कास्टरको उपस्थितिमा रिटायर्ड मेजर जुद्ध गुरुङले प्रतिवेदन प्रस्तुत गरेका थिए ।
प्रतिवेदनको कार्यान्वयन गर्न ढिलाई भइरहेको भन्दै सत्याग्रहका संयोजक कृष्णबहादुर राईले कार्यक्रममा गोर्खाहरुको माग कार्यान्वयन नभएसम्म परिस्थिति हेरी आन्दोलनको घोषणा गर्ने बताए ।
गोर्खा अभियन्ता ज्ञानबहादुर राईले प्रतिवेदनको कार्यान्वयनमा नेपाल सरकारले कूटनीति अपनाएको भन्दै आलोचना गरे । उनले आफ्ना मागहरु छिटो कार्यान्वयन गराउन गोर्खाहरु जस्तै खुट्टा नकमाईकन पहल गर्न नेपाल सरकारसँग माग गरे ।
कार्यक्रममा पूर्वसभासद तारा राईले गोर्खाहरुको मागमा नेपालका शीर्ष नेताहरुले आत्मसाथ गरेको जिकीर गरिन् ।
कार्यक्रममा बुद्धिजीवी सुमाया राई र प्रेम गुरुङ, नेपाली सेनाका कर्णेल कुमारबावु थापा लगायतको उपस्थिति थियो ।
कार्यक्रममा गोर्खाहरुको मागमा ऐक्यबद्धता जनाउँदै सन् २०१३ मा रिले अनशन बस्ने अभियन्ताहरुलाई सम्मान गरिएको थियो । यसैगरी गोर्खा स्टुडियो युकेको पहलमा चन्द्रमाया राईको आफन्तलाई बेलायत ल्याउन सहयोग गर्ने उद्देश्यले दुई हजार १ पाउन्ड हस्तान्तरण गरिएको थियो ।
कार्यक्रममा नेपालबाट आएकी लोकगायिका कला लम्साल र स्थानीय बाल कलाकार पुनम गुरुङले गीत तथा नृत्य प्रस्तुत गरी मनोरञ्जन गराएका थिए ।
जमानबहादुर गुरुङको सभापतित्वमा सम्पन्न कार्यक्रममा सत्याग्रहका उपसंयोजक सूर्य नेम्वाङले स्वागत गरेका थिए भने कार्यक्रम होम सुनुवारले सञ्चालन गरेका थिए ।






