नेपालको काठमाडौँ उपत्यकासहित धेरै ठाउँमा वर्षा, लामो दुरीका सवारी साधन तीन दिन चलाउन नपाइने

SHARE:

काठमाडौँ ४ अक्टोबर २०२५ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार शनिबार बिहानैदेखि काठमाडौँ उपत्यकासहित धेरै क्षेत्रमा वर्षा भइरहेको छ । बिहानदेखि भने वर्षा बढ्न थालेको छ । लगातार झरी परिरहेको हो । अहिले पछिल्लो एक घण्टामै काठमाडौँमा ६, ललितपुरमा ९.८ र भक्तपुरमा पाँच मिलिमिटर वर्षा भएको छ । अहिले उपत्यका आसपासका जिल्लासहित तराई केन्द्रित वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जानकारी दिएको छ ।

पछिल्लो एक घण्टामा पर्सामा १० र रौतहटमा १०.६ मिलिमिटर वर्षा भएको छ । महोत्तरी र धनुषासम्म वर्षा भइरहेको जनाइएको छ । पछिल्लो १२ घण्टामा भने सबैभन्दा बढी कैलालीको गर्भामा ८३.२ मिलिमिटर वर्षा भएको विभागका सूचना अधिकारी दिनकर कायस्थले जानकारी दिनुभएको छ । उहाँका अनुसार १२ घण्टामा पर्सामा ४० र बारामा २८ मिलिमिटर वर्षा भएको छ ।

जल तथा मौसम विज्ञान विभागले आज र भोलि भारीदेखि अति भारीसम्म वर्षा हुने चेतावनी दिइसकेको छ । रातिमा अझ धेरै वर्षा हुने जनाइएको छ । हाल विशेष गरी बागमती प्रदेश र मधेस प्रदेशका धेरै स्थानहरूमा, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानहरूमा तथा कोशी प्रदेशको थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

वर्षा गराउने प्रणाली पूर्व–उत्तर पूर्व दिशातर्फ सरिरहेको र त्यी क्षेत्रमा वर्षा जारी रहने भएकाले सतर्कता अपनाउनु हुन र पछिल्लो मौसमी सूचनाको जानकारी लिनुहुन अनुरोध गरिएको छ ।

यसैबीच,राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले लामो दूरीका र काठमाडौं उपत्यका भित्रिने तथा यहाँबाट बाहिरिने सवारी साधन आगामी तीन दिनसम्म सञ्चालन नगर्न सम्बद्ध सबैपक्षसँग आग्रह गरेको छ । प्राधिकरणले शनिबार सार्वजनिक सूचना जारी गरेर भारी वर्षाका कारण पहिरो, डुबान र बाढीको जोखिम बढ्ने भएकाले आगामी तीन दिन सवारी साधन सञ्चालन नगर्न सम्बद्ध पक्षलाई अनुरोध गरिएको तथा त्यसको अनुगमन गर्न सम्बन्धित जिल्ला प्रशासन कार्यालय र सुरक्षा निकायलाई आग्रह गरिएको जनाएको छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!