
- सञ्जय सिञ्जाली मगर
नेपालको पहाडी भूगोलमा गहिरो जरा गाडेको मगर समुदायको जीवनशैली, श्रमशीलता र सामूहिकतासँग गाँसिएको एक समृद्ध र जीवित सांस्कृतिक परम्परा हो रोधीं। यो केवल मनोरञ्जनको माध्यम मात्र नभई सामाजिक शिक्षा, सामूहिक स्मृति र मौखिक परम्पराको संरचना हो, जसले पुस्ता दरपुस्ता मगर समुदायलाई एक सूत्रमा बाँध्ने कार्य गर्दै आएको छ। पछिल्लो समय मगर र गुरुङ समुदायबीच देखिएको सांस्कृतिक विवादले रोधींको ऐतिहासिकता र सांस्कृतिक स्वामित्वबारे गहिरो बहस आवश्यक भएको देखिएको छ।
रोधींको प्रारम्भिक विकास प्राचीन मगर समाजमा भएको मानिन्छ, सम्भवत नेपालको राजनीतिक एकीकरण वि.सं. १८२५ साल भन्दा अघिदेखि नै। प्रारम्भिक चरणमा रोधीं केवल गीत–संगीतको कार्यक्रम होइन, सामाजिक संस्था नै थियो जहाँ दिनभरि कृषि श्रम गरेका युवकयुवतीहरू साँझ एकत्रित भई गीत, नृत्य, संवाद र परामर्शमा सहभागी हुन्थे।
रोधींघरहरू कुनै निश्चित भौतिक संरचना नभएर, गाउँकै घरहरूमा पालोपालो सञ्चालन हुने सामाजिक अभ्यास थियो। यसले आतिथ्य, अनुशासन र पारस्परिक सम्मानको जीवन्त अभ्यास गराउँथ्यो।
रोधींको आत्मा गीत, नृत्य र संवादमा निहित छ । सोरठी, सलाईजो, कन्हरा जस्ता मौलिक लोकगीतहरू प्रेम, वियोग, वीरता, श्रम, हास्य र प्राकृतिक सौन्दर्यको गाथा हुन्। यी गीतहरू केवल मौखिक साहित्य मात्र होइनन्, सामाजिक शिक्षाका सशक्त माध्यम पनि हुन् जसले युवा पुस्तालाई भाषा, संस्कार, मूल्यबोध र सहकार्य सिकाउने कार्य गर्दथे । अतीतमा जब औपचारिक शिक्षा सुलभ थिएन, त्यतिबेला रोधीं सामाजिक पाठशालाको रूपमा कार्यरत थियो।
हालका वर्षहरूमा केही गुरुङ सांस्कृतिक कार्यक्रमहरूमा रोधींलाई “गुरुङ परम्परा” भनेर प्रस्तुत गर्ने प्रवृत्तिले मगर समुदायभित्र बेला बेला बहसको रुपमा आवाज उठ्ने गर्छन् । यद्यपि मौखिक इतिहास, मानवशास्त्रीय अध्ययन र परम्परागत अभ्यासहरूले रोधींको मूल उत्पत्ति मगर समुदायमै भएको स्पष्ट गर्छ।
महत्वपूर्ण कुरा के हो भने, रोधीं मगर भाषा, संस्कार र सामाजिक संरचनासँग प्रत्यक्ष गाँसिएको परम्परा हो । गुरुङ समुदायमा रोधींको अभ्यास पछिल्ला दशकहरूमा सांस्कृतिक सहअस्तित्व र अन्तःक्रियाको परिणामस्वरूप देखिएको हो, जुन सांस्कृतिक आदान प्रदानको स्वाभाविक प्रक्रिया हो। तथापि, यस प्रक्रियाबाट मौलिक उत्पत्तिको स्वामित्व परिवर्तन हुँदैन ।
राणा शासन, पञ्चायती संरचना, र शहरी हिन्दू शिक्षाको प्रभावले आदिवासी संस्कृतिहरूलाई हेपिएको बनायो । रोधीं पनि “पिछडिएको”, “असभ्य”, वा “गाउँले रमाइलो” का रूपमा चित्रित हुन थाल्यो। त्यसैगरी शहरीकरण, प्रविधिको प्रभाव र वैदेशिक रोजगारको कारण सामूहिक जीवनशैली खण्डित हुँदै रोधींघरहरूको अस्तित्व हराउँदै गए।
तर पछिल्लो दशकमा जातीय जागरण र सांस्कृतिक पुनर्जागरणसँगै रोधींको पुनरुत्थान उत्साहजनक रूपमा अगाडि बढेको छ। गण्डकी, लुम्बिनी, कर्णाली लगायतका मगर बस्तीहरूमा रोधीं कार्यक्रमहरू पुनः सञ्चालनमा आएका छन्। नेपाल मगर संघ, मगर युवा संघ, र प्रवासी मगर समुदायहरूले विद्यालय, महोत्सव, मिडिया तथा डिजिटल प्लेटफर्ममार्फत रोधींलाई पुनर्जीवित गर्ने कार्य गरिरहेका छन्। विदेशस्थित मगर संघसंस्थाहरूले समेत रोधींमार्फत सन्तानमा संस्कार र पहिचानको बीजारोपण गरिरहेका छन्।
रोधींको पुनरुत्थान उत्साहजनक भए पनि, यसको व्यवसायीकरण र मञ्च–केन्द्रित सीमितताको जोखिम देखिएको छ। यदि रोधीं केवल एक सांस्कृतिक “शो” मा सीमित रह्यो भने यसको आत्मा सामूहिकता, संवाद र मौलिकता हराउने खतरा छ। रोधीं मगर समुदायको सांस्कृतिक पहिचान, सामाजिक संरचना र मौखिक ज्ञान प्रणालीको जीउँदो प्रतीक हो।
आजको भूमण्डलीकृत, उपभोक्तामूलक र एकरूपी प्रवृत्तिपूर्ण समाजमा रोधींजस्ता परम्पराहरूले स्थानीयता, सामूहिकता र सांस्कृतिक निरन्तरताको महत्त्व सम्झाइरहेका छन्। रोधींको संरक्षण गर्नु भनेको केवल मगर समुदायको अतीत जोगाउनु मात्र होइन, नेपालको बहुसांस्कृतिक विविधताको सम्मान गर्नु पनि हो।
वर्तमान समयको चुनौती भनेको सांस्कृतिक संवादमा पारस्परिक सम्मान कायम राख्नु हो। विविध समुदायबीचको सहअस्तित्वको अभ्यासले मात्र समावेशी राष्ट्रको निर्माण सम्भव छ। रोधीं सम्बन्धी विवादमा विषयगत प्रमाण, ऐतिहासिक यथार्थ र सांस्कृतिक गहिराईलाई आत्मसात गर्दै संवाद गर्नु आवश्यक छ।
यद्धपी सांस्कृतिक इतिहासको विश्लेषण गर्दा साझा अभ्यासको सम्मान गर्नु आवश्यक हुन्छ, तर मौलिक उत्पत्तिको यथार्थ पहिचान अझै आवश्यक हुन्छन्। रोधींको सन्दर्भमा मगर समुदायको ऐतिहासिक, भाषिक र सांस्कृतिक सम्बन्धलाई अस्वीकार गर्नु केवल अन्याय होइन ज्ञानको अपहेलन पनि हो। त्यसैले सबै सरोकारवालाहरूले पारस्परिक सम्मान र तथ्यमा आधारित संवादको बाटो अपनाउँदै निचोडमा पुग्नु पर्ने आजको आवश्यकता हो।


