एनआरएनए यूकेद्वारा चन्दा संकलनपछि नेपाली विद्यार्थीको पार्थिव शरीर स्वदेश पठाइयो

SHARE:

लन्डन १८ फेब्रुअरी २०२६ । गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेले बेलायतमा निधन भएका नेपाली विद्यार्थी विवेकानन्द मण्डलको पार्थिव शरीर नेपाल पठाइएको जनाएको छ ।

सन्डरल्याण्ड रोयल अस्पतालमा उपचारका क्रममा २ फेब्रुअरी २०२६ मा उनको निधन भएको थियो । उनी १ फेब्रुअरी २०२६ मा अस्पताल भर्ना भएका थिए । उनले १४ फेब्रुअरीमा नेपाल फर्किने योजना बनाएका थिए तर सोही दिन उनको पार्थिव शरीर नेपाल पुग्यो ।

एनआरएनए यूकेका अनुसार पार्थिव शरीर १४ फेब्रुअरी २०२६ शनिबार बिहान नेपाल पुगेको थियो र १५ फेब्रुअरी २०२६ मा अन्त्येष्टि सम्पन्न गरिएको छ । पार्थिव शरीर स्वदेश फिर्ता गर्ने सम्पूर्ण प्रक्रिया एन्जल फ्युनरल केयरले व्यवस्थापन गरेको थियो । यस कार्यका लागि कुल ४४० जना दाताले आर्थिक सहयोग प्रदान गरेका र चन्दा अभियानमार्फत कुल १०,५५८ पाउण्ड संकलन भएको थियो ।

एन्जल फ्युनरल डाइरेक्टर्सलाई पार्थिव शरीर स्वदेश पठाउने शुल्कबापत ४,५०० पाउण्ड भुक्तानी गरिएको र गोफण्डमीको शुल्क ४१७.०१ पाउण्ड कटाएर बाँकी रहेको ५,६४०.९९ पाउण्ड नेपाल पठाइएको एनआरएनए यूकेका अध्यक्ष राजेन्द्र पुडासैनीले बताए ।

नेपाल पठाइएको रकम तथा अन्य सहयोग रकमसमेत गरी कुल ११,१२,४५९.६४ रुपैयाँ दिवंगत विवेकानन्दका पिता श्रवण कुमार मण्डललाई हस्तान्तरण गरिएको उनले जानकारी दिए । एनआरएनए यूकेले यो दुःखद घडीमा सहयोग गर्ने बेलायतस्थित सम्पूर्ण नेपाली समुदाय, संघसंस्था तथा सहयोगी मनहरूलाई हार्दिक धन्यवाद दिएको छ। परिवारसँग निरन्तर समन्वय र जानकारी आदानप्रदान गर्दै सम्पूर्ण प्रक्रिया पारदर्शी रूपमा सम्पन्न गरिएको एनआरएनए यूकेद्वारा एक प्रेस विज्ञप्तिमा जनाइएको छ।

यस अघि दिवंगत विद्यार्थीको सम्मानमा उनको विश्वविद्यालय तथा सन्डरल्याण्डस्थित नेपाली समुदायको पहलमा श्रद्धाञ्जली सभा आयोजना गरिएको थियो । उक्त सभामा एनआरएनए यूकेका अध्यक्ष पुडासैनी आफै उपस्थित भएर श्रद्धान्जलि दिएका थिए ।

एनआरएनए यूकेले यस्तो दुःखद परिस्थितिमा एकजुट भई सहयोग गर्ने नेपाली समुदायको भावनाको उच्च प्रशंसा गर्दै दिवंगत आत्माको चिरशान्तिको कामना गरेको छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!