काठमाडौँ २० फेब्रुअरी २०२६ । लमजुङ समाज यूकेका निवर्तमान अध्यक्ष दलबहादुर गुरुङलाई पितृशोक परेको छ । एनआरएनए यूकेका सल्लाहकारसमेत रहेका दलबहादुरका बुबा नेपाली कांग्रेसका नेता, समाजसेवी एवम् प्रजातन्त्र सेनानी टेकबहादुर गुरुङको १०० वर्षको उमेरमा बिहीबार राति निधन भएको हो ।
मृतक टेकबहादुर नेपाल भूतपूर्व सैनिक सङ्घका केन्द्रीय अध्यक्ष गर्जबहादुर गुरुङ, नेपाल तरूण दलका पूर्वमहासचिव यमबहादुर गुरुङ, लमजुङ जिल्ला नेपाली कांग्रेस दूधपोखरी गाउँपालिकाका उपसभापति गमबहादुर गुरुङ, गोब्ली गुरुङकी पिता हुन् ।
प्रजातन्त्र सेनानी एवम् समाजसेवी टेकबहादुरको निधनप्रति कांग्रेस केन्द्रीय कार्यालयका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले शुक्रबार शोक विज्ञप्ति जारी गरी गहिरो दुःख व्यक्त गरेका छन् ।
स्वर्गीय गुरुङले नेपालको लोकतान्त्रिक आन्दोलनमा र पार्टी सङ्गठनमा सक्रिय भूमिका निर्वाह गरेको कांग्रेसले जनाएको छ । उनको निधनबाट नेपाली कांग्रेसले एक अग्रज र अनुभवी व्यक्तित्वलाई गुमाएको जनाएको छ । उनको निधनप्रति कांग्रेस सभापति गगनकुमार थापाले गहिरो दुःख व्यक्त गर्दै भावपूर्ण श्रद्धाञ्जलि अर्पण गरेका छन् । सभापति थापाले स्वर्गीय आत्माको चिरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवार तथा आफन्तजनप्रति पार्टी र आफ्नो तर्फबाट गहिरो समवेदना प्रकट गरेका छन् ।


