लन्डन ७ मार्च २०२६ । चर्चित हास्य कलाकार बुद्धि तामाङ बेलायत आएका छन् ।
‘मिलारेपा’नाटक मञ्चनमा भाग लिन कलाकार तामाङ शुक्रबार बेलाइत आइपुगेको बीसीसी यूके आमा प्रमुख शारदा गुरुङले जानकारी दिए । उनका अनुसार कलाकार तामाङसँगै गुरुङ कोसिस लोब्साङ वाइबा पनि बेलायत आएका छन् ।
कलाकार र लामा गुरुको स्वागतका लागि बीसीसी यूकेका अध्यक्ष आङ्दावा शेर्पा, चियरलेडी शारदा गुरुङ, उपाध्यक्ष तथा संयोजक क्याप्टेन देव घले र आमा सचिव पवित्र गुरुङ एयरपोर्ट पुगेका थिए ।
मानव जीवनको गहिरो अर्थ, धर्म, त्याग, सङ्घर्ष र आत्मबोधलाई उजागर गर्ने सत्य कथामा आधारित नाटक ‘मिलारेपा’ बुद्धिष्ट कम्युनिटी सेन्टर (बीसीसी) यूकेको च्यारिटी सहयोगार्थ आइतबार ८ मार्च २०२६ को साँझ ६ बजे अल्डसटस्थित प्रिन्सेस हलमा प्रदर्शन गर्न लागिएको हो ।
नाटक नेपाल–तिब्बत सीमावर्ती क्षेत्र क्याङ्त्सामा जन्मिएका महान् योगी तथा कवि जेत्सुन मिलारेपाको जीवनकथामा आधारित छ । कालो तान्त्रिक साधनामा संलग्न एक भट्किएको युवाबाट गुरु मार्पा लोचावाको मार्गदर्शनमा कठोर साधना गर्दै आत्मज्ञान प्राप्त गर्ने साधकसम्मको उनको जीवनयात्रा यस नाटकको मुख्य विषयवस्तु हो । यसले मानव जीवनमा परिवर्तन सम्भव छ भन्ने सन्देशलाई अत्यन्त प्रभावकारी र प्रेरणादायी रूपमा प्रस्तुत गर्दछ ।
मण्डला थिएटर नेपालको विशेष प्रस्तुति रहेको उक्त नाटक चाङ ङोन हेरुकको लेखन, बुद्धि तामाङ र उमेश तामाङको निर्देशन रहेको छ । त्यस्तै, रुपेश लामा, रमिला मोक्तान, विकास लामालगायतका कलाकारको जोडदार अभिनय छ । साथै, आनी छोइङ डोल्माको स्वरसहितको प्रत्यक्ष परम्परागत संगीत प्रस्तुत गरिएको छ । जसको संगीत संयोजन सुदीप खतिवडाले गरेका छन् ।
नाटकले, आधुनिक शैलीमा बाची राख्दा, मानिसलाई चाहिने अतिवश्यक शिक्षा र दुर्लभ ज्ञानले सजिएको, धेरैको मन छुन सफल यो नाटक, विभिन्न विकल्पद्वारा, बीसीसी यूकेले बेलायतवासी नेपालीलाई पस्कन सफल भएको भन्दै अध्यक्ष आङ्गदावा शेर्पाले नाटक हेर्ने अवसर नगुमाउन आग्रह गरेका छन् ।
टिकट बीसीसी यूकेको अल्डरसटस्थित गुम्बा वा अनलाइनमार्फत खरिद गर्न सकिने व्यवस्था मिलाइएको छ ।
त्यस्तै, ‘मिलारेपा’ नाटक बौद्ध धर्मावलम्बीहरूका लागि मात्र नभई, सर्वसाधारण दर्शकहरूका लागि पनि जीवनको यथार्थ सत्य, धर्मको मर्म, लोभ–क्रोध–अहंकारबाट मुक्त हुने मार्ग तथा आत्ममन्थनको गहिरो अवसर प्रदान गर्नेछ र मिलारेपाको त्याग, पश्चात्ताप र कठोर साधनाले दर्शकलाई आफ्नै जीवनमाथि पुनः सोच्न प्रेरित गर्ने विश्वास आयोजकको रहेको छ ।







