बेलायत । ग्रेटर रसमोर नेपाली कम्युनिटी (जीआरएनसी) र स्थानीय निकायले अन्तर्राष्ट्रिय नारी दिवस २०२६ भव्य रूपमा मनाएका छन्। ७ मार्च २०२६ शनिबारका दिन अल्डरसटको ‘द प्यालेस’ मा आयोजित उक्त कार्यक्रममा ‘रसमोर बरो काउन्सिल संगको सहकार्यमा आयोजना गरिएको थियो।
विगतका वर्षहरूमा काउन्सिललाई अतिथिका रूपमा मात्र सहभागी गराइने परम्परा रहे पनि यसपटक काउन्सिलर सोफी पोर्टरको विशेष प्रस्तावमा काउन्सिल आफैँले आयोजनामा हात बढाएको थियो। संस्था स्थापनाको २० वर्षपछि पहिलो पटक महिला नेतृत्वका रूपमा लिला सेलिङ माबोले बागडोर सम्हालिरहेको अवधिमा स्थानीय सरकारबाट प्राप्त यो साथ र सहयोगलाई नेपाली समुदायले एउटा महत्त्वपूर्ण उपलब्धिको रूपमा हेरेको छ।
समारोहमा ‘रसमोर बरो काउन्सिल’का मेयर कालुम स्तुर्ट प्रमुख अतिथिका रूपमा रहेका थिए भने सांसद एलेक्स बेकर विशेष अतिथिको भूमिकामा उपस्थित थिए। त्यस्तै नेपाली तथा स्थानीय निकायका बिभिन्न संघ संस्थाका अध्यक्ष र प्रतिनिधि हरुको उपस्थिति रहेको थियो।
कार्यक्रमलाई विगतभन्दा फरक र थप समावेशी बनाउने उद्देश्यले यस वर्ष नेपाली, मुस्लिम, श्वेत र अश्वेत समुदायका प्रतिनिधिहरूका साथै युवा पुस्ताको समेत सक्रिय सहभागिता गराईएको जीआरएनसीकी अध्यक्ष लिला सेलिङ माबोले जानकारी दिइन्।
संस्थाका सचिव प्रजेष श्रेष्ठका अनुसार कार्यक्रममा बिभिन्न क्षेत्रका अनुभव बटुलेका वक्ताहरुले मानसिक स्वास्थ्य, घरेलु हिंसाको न्यूनीकरण, बाल सुरक्षा र अपराध नियन्त्रणजस्ता गम्भीर सामाजिक मुद्दाहरूमा विशेष प्रस्तुति र छलफलहरू समावेश गरिएका थिए। सामाजिक सचेतनाका साथै मनोरञ्जनका पक्षलाई पनि उत्तिकै प्राथमिकता दिँदै बालबालिकाका लागि विभिन्न खेलकुद, सांस्कृतिक नृत्य, सांगीतिक प्रस्तुति र राफल ड्र जस्ता रोचक गतिविधिहरू पनि सञ्चालन गरिएको थियो।
उपाध्यक्ष अनिता राईको संयोजन र प्रोजेक्ट म्यानेजर सुशीला थापाको सहसंयोजनमा सम्पन्न कार्यक्रममा बेलायतवासी नेपाली समुदाय र स्थानीय निकायसँगको सम्बन्धलाई थप उचाइमा पुर्याएको छ।















तस्बिरहरु : एभरेस्ट टाईम्स यूके






