बेलायतमा ‘मिलारेपा’ नाटकको भव्य मञ्चन [फोटोसहित’

SHARE:

लन्डन, ७ मार्च २०२६ । बेलायतको अल्डरसट सहरस्थित प्रिन्सेस हलमा ‘मिलारेपा’ नाटकको भव्य मञ्चन भएको छ। उक्त नाटकका लागि चर्चित हास्य कलाकार बुद्धि तामाङसँगै लामागुरु कोसिस लोब्साङ वाइबा पनि गत शुक्रबार बेलायत आएका थिए ।

‘मिलारेपा’ नाटक मञ्चनको औपचारिक कार्यक्रममा बीसीसी यूकेका अध्यक्ष आङ्दावा शेर्पा, लामा गुरु, बुद्धि तामाङ र आमा समूहकी प्रमुख शारदा गुरुङले संयुक्त रूपमा दीप प्रज्वलन गरी नाटक मञ्चनको आरम्भ गरेका थिए।

कार्यक्रममा अध्यक्ष शेर्पाले उपस्थित दर्शकहरूसामु आफ्नो वक्तव्य राख्दै स्वागत गरे भने उपाध्यक्ष तथा संयोजक क्याप्टेन देव घलेले दर्शक, प्रायोजक एवं प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग गर्ने सङ्घसंस्था र व्यक्तिहरूलाई धन्यवाद दिए। त्यस्तै, आमा प्रमुख शारदा गुरुङले पाहुनाहरूलाई खादा लगाएर स्वागत गरिन् भने महासचिव मेजर कुमार गुरुङ (एमभीओ) ले औपचारिक कार्यक्रम सञ्चालन गरेका थिए।

नेपालबाट बेलायत आएका लामा गुरु र कलाकार तामाङले अध्यक्ष शेर्पा, उपाध्यक्ष क्याप्टेन घले र आमा प्रमुख शारदा गुरुङलाई मायाको चिनो प्रदान गरेका थिए।

मानव जीवनको गहिरो अर्थ, धर्म, त्याग, सङ्घर्ष र आत्मबोधलाई उजागर गर्ने सत्य कथामा आधारित नाटक ‘मिलारेपा’ बुद्धिष्ट कम्युनिटी सेन्टर (बीसीसी) यूकेको च्यारिटी सहयोगार्थ प्रदर्शन गरिएको हो।

यो नाटक नेपाल–तिब्बत सीमावर्ती क्षेत्र क्याङ्त्सामा जन्मिएका महान् योगी तथा कवि जेत्सुन मिलारेपाको जीवनकथामा आधारित छ। कालो तान्त्रिक साधनामा संलग्न एक भड्किएको युवाबाट गुरु मार्पा लोचावाको मार्गदर्शनमा कठोर साधना गर्दै आत्मज्ञान प्राप्त गर्ने साधकसम्मको उनको जीवनयात्रा यस नाटकको मुख्य विषयवस्तु हो। यसले मानव जीवनमा परिवर्तन सम्भव छ भन्ने सन्देशलाई अत्यन्त प्रभावकारी र प्रेरणादायी रूपमा प्रस्तुत गरेको छ।

मण्डला थिएटर नेपालको विशेष प्रस्तुति रहेको उक्त नाटकमा चाङ ङोन हेरुकको लेखन तथा बुद्धि तामाङ र उमेश तामाङको निर्देशन रहेको छ। त्यस्तै, रूपेश लामा, रमिला मोक्तान, विकास लामालगायतका कलाकारको जोडदार अभिनय छ। साथै, आनी छोइङ डोल्माको स्वरसहितको प्रत्यक्ष परम्परागत सङ्गीत प्रस्तुत गरिएको छ, जसको सङ्गीत संयोजन सुदीप खतिवडाले गरेका हुन्।

आधुनिक शैलीमा बाँचिरहँदा मानिसलाई चाहिने अत्यावश्यक शिक्षा र दुर्लभ ज्ञानले भरिपूर्ण एवं धेरैको मन छुन सफल यस नाटकलाई बीसीसी यूकेले बेलायतवासी नेपालीमाझ पस्कन सफल भएको भन्दै अध्यक्ष आङ्दावा शेर्पाले नाटक हेर्ने अवसर नगुमाउन आग्रह गरेका थिए।

त्यस्तै, ‘मिलारेपा’ नाटकले बौद्ध धर्मावलम्बीहरूका लागि मात्र नभई, सर्वसाधारण दर्शकहरूलाई पनि जीवनको यथार्थ सत्य, धर्मको मर्म, लोभ–क्रोध–अहङ्कारबाट मुक्त हुने मार्ग तथा आत्ममन्थनको गहिरो अवसर प्रदान गरेको छ। मिलारेपामा देखाइएको त्याग, पश्चात्ताप र कठोर साधनाले दर्शकलाई आफ्नै जीवनमाथि पुनः सोच्न प्रेरित गर्ने विश्वास लिइएको छ।

 

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!