लन्डन, ७ मार्च २०२६ । नेपालको पहिलो पर्यटकीय गाउँ सिरुबारीका बेलायतवासीहरूको भेला शनिबार ह्यारो स्पोर्ट्स क्लब (Harrow Sports Club), भ्यालेन्टाइन रोडमा भव्य रूपमा सम्पन्न भएको छ।
अध्यक्ष डेभिड गुरुङको अध्यक्षता र महासचिव धनबहादुर गुरुङको सहजीकरणमा सञ्चालन भएको यस भेलामा बेलायतको व्यस्ततालाई पन्छाउँदै विभिन्न ठाउँबाट सिरुबारीवासीहरू जम्मा भएका थिए। कार्यक्रमको उद्घाटन समाजका ज्येष्ठ सदस्यहरू देउबहादुर गुरुङ, निर्मला गुरुङ, रुद्रबहादुर गुरुङ र भीमबहादुर गुरुङले संयुक्त रूपमा पानसमा बत्ती बालेर गरेका थिए। तत्पश्चात् इरानमा भएको मानवीय क्षतिप्रति दुःख व्यक्त गर्दै एक मिनेट मौन धारण गरिएको थियो।
सो भेटघाट कार्यक्रममा अति चर्चित नेपाली लोक साङ्गीतिक समूह ‘कुटुम्ब’ (Kutumba) का व्यवस्थापक तथा प्राविधिक संयोजक एवं सिरुबारीका सुपुत्र अरुण गुरुङ (सूर्यमान गुरुङका छोरा) को पनि विशेष उपस्थिति रहेको थियो। कार्यक्रममा सिरुबारी समाजका सदस्य हवल्दार भीमबहादुर गुरुङ र विष्णु गुरुङका सुपुत्र सार्जेन्ट निशान गुरुङले बेलायतमा नयाँ घर खरिद गरेको तथा दुई सन्तानको जन्म भएको खुसियालीमा, साथै ‘कुटुम्ब’ ब्यान्डका म्यानेजर अरुण गुरुङ बेलायत सांगीतिक भ्रमणमा आएको उपलक्ष्यमा उनीहरूलाई सिरुबारी समाज बेलायतद्वारा फेटा र खादा ओढाएर सम्मान गरिएको थियो।
भेलामा उपस्थित सदस्यहरूले एकअर्कासँग भलाकुसारी गर्दै गाउँको संस्कार, पुर्खाले आर्जेका रीतिथितिहरूको जगेर्ना गर्ने र परदेशमा बस्दा भावी पुस्तालाई ती संस्कारहरू कसरी हस्तान्तरण गर्ने भन्ने विषयमा छलफल गरेका थिए। साथै, आफ्नो पुर्ख्यौली गाउँ र त्यस भेगलाई कसरी माथि उठाउन तथा आत्मनिर्भर बनाउन सकिन्छ भन्ने विषयमा पनि महत्त्वपूर्ण कुराकानी भएको थियो। कतिपय सदस्यहरू नेपालमै रहेका, कोही बिरामी परेका र अन्य विविध कारणले गर्दा यसपटक भेलामा सङ्ख्यात्मक उपस्थिति केही कम भए पनि सहभागी सबैले विदेशमा रहेर आफ्नो गाउँलाई अझ सुन्दर, सशक्त र यसको पहिचानलाई कसरी दिगो बनाउन सकिन्छ भन्ने कुरामा जोड दिएका थिए।
कार्यक्रममा खेलाइएको ‘राफल ड्र’ (चिट्ठा) को प्रथम पुरस्कार (सुनको चन्द्रमा) सुरुमा समाजका उपाध्यक्ष नवराज गुरुङलाई परेको थियो। तर, उनले “नारीको गहना नारीलाई नै पर्नुपर्छ” भन्दै पुनः ड्र गर्न लगाएपछि उक्त पुरस्कार सिरुबारी नाँसाकी चेली युद्ध गुरुङलाई परेको थियो। उक्त पुरस्कार श्रीकृष्ण ज्वेलरीले प्रायोजन गरेको थियो भने कार्यक्रममा पिउने पानीको व्यवस्थापन समाजका अध्यक्षकी धर्मपत्नी बिना गुरुङले गरेकी थिइन्।
अन्त्यमा, सबैजनाले गायिका सोनी कुँवर क्षेत्रीको सुमधुर स्वरमा सांगीतिक मनोरञ्जन लिँदै सामूहिक नाचगान गरेका थिए। व्यस्त सहर बेलायतमा रहेका सिरुबारीवासीहरू मन नअघाए पनि फेरि भेट्ने बाचासहित आ–आफ्नो गन्तव्यतिर लागेका थिए।







