लन्डन १० मार्च २०२६ । ईष्ट लन्डन महिला कम्युनिटीले ११५औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस (८ मार्च) विभिन्न कार्यक्रम गरी मनाएको छ ।
“गीभ टु गेन” नारालाई आत्मसाथ गर्दै डेगेनहाममा कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रममा कम्युनिटीका महिलाहरुले आफ्ना विभिन्न पेसा एवं क्षेत्रमा पुर्याएको योगदानलाई कदर गर्दै सम्मानपत्र, सील्ड र पुष्पगुच्छाले सम्मान गरिएको थियो । सम्मानित हुनेमा चौध वर्षदेखि सौन्दर्य व्यवसायमा आबद्ध समाजसेवी गंगाकुमारी राई, नेपाली पाठशालालाई दश वर्षदेखि निरन्तर सहयोग पुर्याउँदै आएकी व्यवसायी साङ्गे लामा गुरुङ र नुमा एस्टिल्लोकी संस्थापक नताशा लिम्बु रहेका छन् ।
त्यसैगरी कम्युनिटीका पूर्वअध्यक्षहरु ललिता चोङबाङ लिम्बु, सिमा गुरुङ र कमला लिम्बुलाई दोसल्ला ओढाएर विशेष धन्यवादसहित सम्मान गरिएको थियो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि नेपाल पत्रकार महासंघ युकेकी पहिलो महिला अध्यक्ष बिमला सेनले अन्तर्राष्ट्रिय महिला दिवसको महत्वबारे प्रकाश पारिन् । उनले अब महिलाहरुको युग हुने बताउँदै समान अधिकारका लागि आफूलाई सशक्त बनाउनुपर्नेमा जोड दिइकी थिइन् ।
महिला दिवसको अवसर पारेर समुदायका महिलाहरुको योगदानलाई कदर गर्ने प्रथाको प्रशंसा गर्दै यसले महिलाहरुलाई अगाडि बढ्न थप प्रेरणा मिल्ने उनले उल्लेख गरेकी थिइन् ।
विशेष अतिथिको रूपमा उपस्थित ईष्ट लन्डन नेपाली गोर्खा कम्युनिटीका अध्यक्ष बिनय आचार्यले आउँदो वर्ष अझ ब्यापक रुपमा मनाउँदै समुदायका पुरुष सहभागिताको लागि विशेष पहल हुने बताएका थिए ।
सम्मानित हुनेहरुले जीवनमा कहिले पनि मञ्चमा उभिएर नबोलेको र आफूले सम्मानको आशा नगरी गरेको काममा समाजले मूल्याङ्कन गरी सम्मान गरेकोमा आफूहरु जस्तो भूइँमान्छेका लागि महिला दिवसको भएको महसूस भएको भन्दै खुशी व्यक्त गरेका थिए ।
ईष्ट लन्डन नेपाली महिला कम्युनिटीले स्थापनाकालदेखि समुदायमा नवजात शिशुको जन्ममा स्वागत, नयाँ घरको गृह प्रवेश, श्रद्धाञ्जली भेटघाट र कम्युनिटीका नयाँ पुस्ताहरुका लागि नेपाली भाषा तथा संस्कृतिसम्बन्धी कक्षा (पाठशाला) संचालन जस्ता कार्य संचालन गर्दै आइरहेको छ । नेपाली पाठशालाको संयोजन लक्ष्मी राईले गर्दै आएकी छिन् ।
कार्यक्रममा संस्थाले १० वर्ष पूरा गरेको उपलक्ष्यमा केक समेत काटिएको थियो भने गरगहना तथा रेडिमेड लुगाहरुको बिक्री स्टल, फोटो प्रदर्शनी तथा घरबाट पकाएर ल्याइएका विभिन्न परिकार राखिएको थियो ।
कार्यक्रममा ईष्ट लन्डन गोर्खा नेपाली कम्युनिटीका पूर्वअध्यक्ष मिन गुरुङ, सामाजिक अभियन्ता क्रिस्टिनालगायत स्थानीय महिला दिदीबहिनीहरुको उल्लेख्य सहभागिता रहेको थियो ।











