बीजिएनएले वोयलफर अफिसर क्याप्टेन निर्मल गुरुङलाई निमन्त्रणा!!!

SHARE:

लण्डन । ब्रिटिस गोर्खा नेपालीज् एसोसिएसन (बीजिएनए) वेम्बलीले गत आइतबार, ८ मार्च २०२६ का दिन एक विशेष सूचनामूलक कार्यक्रम सम्पन्न गरेको छ। गोर्खा वेलफेयर ट्रस्ट सेन्टर (GWTC) बाट वेलफेयर अफिसर क्याप्टेन निर्मल गुरुङलाई संस्थाले विशेष निमन्त्रणा गरी उक्त कार्यक्रमको आयोजना गरेको हो।

यो निमन्त्रणा कुनै औपचारिक भोजभतेर नभई ब्रिटिस भूतपूर्व गोर्खा सैनिक र तिनका सन्ततिहरूका लागि नेपाल तथा बेलायतमा उपलब्ध स्वास्थ्य सेवा, पेन्सन र अन्य सुविधाहरूका बारेमा जानकारी दिने उद्देश्यले गरिएको थियो।

कार्यक्रमको सुरुवात गर्दै महासचिव धनकाजी गुरुङले उपस्थित सबैलाई स्वागत गर्नुका साथै ‘फायर सेफ्टी’ (आगलागी सुरक्षा) सम्बन्धी जानकारी गराउनुभएको थियो। संस्थाका अध्यक्ष सन्त बहादुर गुरुङले हरेक आइतबार हुने नियमित योगा र अङ्ग्रेजी कक्षा यसपटक स्थगित गरिएको जानकारी दिँदै वेलफेयर अफिसरबाट प्राप्त हुने जानकारीहरूको महत्त्वमाथि प्रकाश पार्नुभयो।

मुख्य वक्ताका रूपमा आमन्त्रित वेलफेयर अफिसर निर्मल गुरुङले मेडिकल सुविधाका बारेमा विस्तृत जानकारी दिनुभयो। विशेषगरी, आकस्मिक रूपमा अस्पताल भर्ना हुनुपर्दा वा शल्यक्रिया (अप्रेशन) गर्नुपर्दा गोर्खा वेलफेयरबाट कति आर्थिक सहयोग प्राप्त गर्न सकिन्छ भन्ने विषयमा उहाँले प्रस्ट पार्नुभयो।

यसका साथै, बेलायतमा बसोबास गरिरहेका गोर्खाहरूका लागि पेन्सन क्रेडिट, साधारण पेन्सन र ८० वर्ष पुगेपछि पाइने अतिरिक्त पेन्सनका सुविधाहरूबारे पनि छलफल गरिएको थियो। नेपालबाट भर्खरै बेलायत आएका नयाँ सदस्यहरूले सुरुवाती चरणमा गर्नुपर्ने कानुनी प्रक्रिया र सुविधाहरूका लागि आवेदन दिने सही तरिकाबारे उहाँले विशेष सल्लाह र सुझावहरू प्रदान गर्नुभयो।

दिउँसो १ बजेबाट सुरु भएको उक्त कार्यक्रम साँझ ४:३० बजे समापन भएको थियो। कार्यक्रमको अन्त्यमा उपस्थित सदस्यहरूले दिदीबहिनीहरूद्वारा प्रेमपूर्वक तयार पारिएका सेलरोटी, म:म र आलुदम जस्ता परिकारहरूको स्वाद लिँदै बिदाबारी भएका थिए।

अन्त्यमा अध्यक्ष सन्त बहादुर गुरुङले क्याप्टेन निर्मल गुरुङ र उपस्थित सम्पूर्णलगायत सेलरोटी, म:म र आलुदम जस्ता परिकारहरू ब्यबस्थापन गरिदिनुहुने दिदीबहिनीहरूलाई धन्यवाद दिएका छन्।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!