लन्डन । नेपाल पत्रकार महासंघ बेलायत शाखाले पत्रकार सुरेश सिंह धामीको उपचारका लागि साढे ६५ हजार रुपैयाँ सहयोग गरेको छ ।
नेपाल पत्रकार महासंघ कन्चनपुर जिल्ला शाखा अध्यक्षसमेत रहेका धामीको उपचार सहयोगका लागि नेपाली रुपैयाँ ६५ हजार ५०० रुपैयाँ रकम मंगलबार नेपाल पत्रकार महासंघकी अध्यक्ष निर्मला आचार्यलाई हस्तान्तरण गरिएको प्रतिनिधि तथा पत्रकार महासंघ बेलायतका सचिव विश्वास दीप तिगेलाले जानकारी दिए । सहयोग हस्तान्तरणका क्रममामा पत्रकार महासंघका महासचिव रामप्रसाद दाहाल, कोषाध्यक्ष रामकृष्ण अधिकारी, बेलायत शाखाका सदस्य तथा सितलपाटी न्यूजका सम्पादक वाचस्पति रेग्मीलगायतको उपस्थिति थियो ।
अपिटुडे दैनिकका प्रकाशक समेत रहेका धामीको पाचन प्रणालीसँग सम्बन्धित ग्रन्थि (प्याङक्रियाज)मा ट्युमर फेला परेपछि पहिलो चरणको शल्यक्रिया (अप्रेशन) केही महिनाअघि गरिएको थियो । थप संक्रामक जटिल रोग देखिएर दोस्रो चरणमा उपचार गर्नुपर्ने, उपचारको क्रममा धेरै रकम खर्च भईसकेको, अर्को अस्पताल जानु पर्ने, लामो समय उपचार गराउनु पर्ने भन्दै नेपाल पत्रकार महासंघ कन्चनपुरले सहयोगका लागि आह्वान गरेको थियो ।







