लन्डन १८ मार्च २०२६ । एलेक्स बेकरसहित १९ जना सांसदले गोर्खाहरूको मुद्दा सम्बोधन गर्न माग गर्दै बेलायती सरकारलाई पत्र लेखेका छन् ।
अल्डरसट र फार्नबरो क्षेत्रकी सांसद एवं अल पार्टी पार्लियामेन्ट्री ग्रुप नेपाल अध्यक्ष एलेक्स बेकरसहितका सांसदहरुले बेलायती भेट्रान मन्त्री लुइस स्यान्डर जोन्सलाई सोमबार पत्र लेखेका हुन् । नेपालमा नयाँ सरकार गठनसँगै अगाडि बढ्न लागिरहँदा अहिले दुई राष्ट्रहरूबीचको दिगो सम्बन्ध पुनः पुष्टि गर्ने एक अद्वितीय अवसर प्राप्त भएको उल्लेख गर्दै सांसदहरुले पत्रमा मन्त्री जोन्सलाई नेपालका नयाँ प्रधानमन्त्री र उनको टिमसँग निकट रहन, भूतपूर्व गोर्खा सैनिकहरूले लामो समयदेखि राख्दै आएका मुद्दा सम्बोधन गर्न, विशेष गरी उनीहरूको सेवाको उचित कदर एवं थप कल्याणका लागि सहकार्यमा यो क्षण सदुपयोग गर्न सुझाएका छन् ।
दुई देशबीचको निकट सम्बन्धलाई बढावा दिँदै साझा विश्वव्यापी चुनौतीहरूको सामना गर्न र पारस्परिक हितहरू अगाडि बढाउन एकअर्कालाई सहयोग गर्न सकिने पनि पत्रमा उल्लेख छ ।पत्रमा सांसदहरुले मन्त्री नियुक्त भएदेखि नै मन्त्री जोन्सले नेपाल सरकार, विभिन्न गोर्खा संगठनका प्रतिनिधि सम्मिलित जी १० समूह र गोर्खा भेट्रानहरूसँग संलग्न हुन गरेको महत्त्वपूर्ण प्रयासका लागि धन्यवाद समेत दिएका छन् । गोर्खा समुदायलाई सहयोग गर्ने मन्त्रीको नेतृत्व र समर्पणको धेरै प्रशंसा गरिएको पनि पत्रमा उल्लेख छ ।








