लन्डन । उत्तरी लन्डनको गोल्डर्स ग्रीनस्थित यहूदी स्वयंसेवक संस्था हात्जोलाका चार वटा एम्बुलेन्समा आगजनी गरिएको घटनामा दुई जनालाई पक्राउ परेका छन् । ती एम्बुलेन्समा सोमबार बिहान आगजनी भएको थियो ।
उक्त घटनामा ४७ वर्षीय एक पुरुषलाई बुधबार बिहान उत्तर–पश्चिम लन्डनबाट मेट्रोपोलिटन प्रहरीले पक्राउ गरेको हो भने ४५ वर्षीय अर्का पुरुषलाई मध्य लन्डनबाट पक्राउ गरिएको बीबीसीले जनाएको छ । दुवै जना बेलायती नागरिक हुन् ।
बरो कमाण्डर चिफ सुपरिन्टेन्डेन्ट जेसन स्टुअर्टले बीबीसीसँग कुरा गर्दै भने, ‘यी पक्राउहरू स्पष्ट रूपमा एउटा महत्वपूर्ण प्रगति हुन्,’ तर उनले सीसीटीभी फुटेजमा तेस्रो पुरुष पनि देखिएको प्रहरीले थाहा पाएको बताए । उनले अनुसन्धान तीव्र गतिमा अगाडि बढिरहेको बताए .
काउन्टर टेररिज्म पोलिसिङ लन्डनकी प्रमुख कमाण्डर हेलेन फ्लानागनले सीसीटीभीले कम्तीमा तीन जना संलग्न भएको संकेत गरेको पनि बताइन्।
“
लन्डन फायर ब्रिगेडले एम्बुलेन्समा लागेको आगो निभाउने क्रममा भित्र यसभित्रका ग्यास सिलिन्डर पड्किएर सीसा फुटेको जनाएको थियो । आगो नियन्त्रणका लागि ६ वटा दमकल र झण्डै ४० जना अग्निनियन्त्रक खटाइएको थियो । यस घटनापछि महानरीय प्रहरीले आसपासका घर खाली गराउँदै झन्डै ३० जनालाई सुरक्षित आश्रयस्थलमा सारिएको बताइएको छ ।
बेलायतका स्वास्थ्य मन्त्री वेस स्ट्रिटिङले सामाजिक सञ्जाल एक्समार्फत् घटनालाई घृणित आक्रमणको संज्ञा दिएका छन् ।






