लन्डन । बेलायतमा बसोबास गर्दै आएका नेपालीहरूको संस्था शान्ति नेपाली समाज बेलायतको आयोजनामा नेपाली नयाँ वर्ष २०८३ को उपलक्ष्यमा बृहत् सांस्कृतिक कार्यक्रम आयोजना हुने भएको छ।
कार्यक्रम आगामी १३ अप्रिल २०२६ (सोमबार) दिउँसो ४ बजेदेखि सुरु हुने आयोजकले जनाएको छ । कार्यक्रम वेस्ट ब्रुमवीचमा सञ्चालन गरिनेछ।
कार्यक्रममा नेपाली कला, संस्कृति तथा सांगीतिक प्रस्तुतिहरू समावेश गरिनेछन्। विशेषगरी नौमती बाजा समूहको प्रस्तुति आकर्षणको केन्द्र रहने बताइएको छ। साथै, चर्चित गायिका सोनी कुँवरले आफ्नो सांगीतिक प्रस्तुति दिने कार्यक्रम तय गरिएको छ।
गायिका कुँवरले सबै जना मिलेर रमाइलो गर्नुपर्ने भन्दै उपस्थित हुन बेलायतवासी नेपाली समुदायलाई आग्रह गरेकी छन् । ‘नमस्ते म लोक तथा दोहोरी गायिका सोनी कुँवर । शान्ति नेपाली समाज बेलायतद्वारा नयाँ वर्षको अवसरमा बृहत् सांस्कृतिक कार्यक्रम हुँदैछ । यही आउँदो अप्रिल १३ तारिख सोमबारको दिन म आउँदै छु यहाँहरुसँग नाच्न, गाउन, रम्न ,अनि रमाउन । सबैजना तयार भएर बस्नुहोला सबैजना मिलेर रमाइलो गर्नुपर्छ है त,’ उनले भनेकी छ्न् ।
आयोजकका अनुसार कार्यक्रमका लागि अग्रिम टिकट मूल्य १६ पाउण्ड निर्धारण गरिएको छ भने प्रवेश शुल्क वयस्कका लागि १८ पाउण्ड, १२ वर्षमुनिका तथा अन्तर्राष्ट्रिय विद्यार्थीका लागि १० पाउण्ड राखिएको छ । ५ वर्षमुनिका बालबालिकाका लागि भने प्रवेश निःशुल्क हुने जनाइएको छ।
नेपाली समुदायबीच आपसी सम्बन्ध सुदृढ गर्दै कला–संस्कृतिको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागिएको आयोजकले जनाएको छ।






