लन्डन । पर्वत समाज यूकेले पर्वतका गरिव तथा जेहेन्दार विद्यार्थीहरुको सहयोगार्थ नेपाली नयाँ वर्ष २०८३ को अवसरमा च्यारिटी कार्यक्रम गर्ने भएको छ ।
अल्डरसटस्थित एम्पायर हलमा आउँदो अप्रिल ४ तारिख शनिबार च्यारिटी डिनर गर्न लागिएको हो । नेपालका राष्ट्रिय कलाकारहरुको प्रस्तुतिका साथ सांगीतिक माहोलमा च्यारिटी डिनर गर्ने योजना रहेको समाजका अध्यक्ष सुरज पौडेलले जानकारी दिए । कार्यक्रम बेलुकी ५ बजेबाट सुरु हुनेछ ।
कार्यक्रम संयोजन उपाध्यक्षद्वय सन्जयध्वज भण्डारी र भिमलाल भट्टराईले गर्दैछन् । टिकट मूल्य वयस्कहरुका लागि २५ पाउण्डमात्र तोकिएको छ भने ५ देखि १० वर्षसम्मका बालबालिकालाई जनही १० पाउण्ड छ ।
सन् २००२ मा स्थापित पर्वत समाज यूके बेलायतको च्यारिटी कमिसनमा दर्ता छ । बेलायत तथा नेपालमा विभिन्न सामाजिक कार्य गर्दै आएको समाजले यसअघि पनि च्यारिटी डिनर गरि पर्वतका विभिन्न गाउँपालिकास्थित करिब एक हजार गरिब तथा जेहेन्दार विद्यार्थीलाई न्यानो कपडा वितरण गरेको थियो ।






