लन्डन २६ मार्च २०२६ । तमु समाज यूकेले नेपालमा नयाँ सदनले राजनीतिक स्थिरता, सुशासन र समृद्धिका लागि महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास लिएको जनाएको छ ।
तमु समाज युकेकी अध्यक्ष बिन्दु कुमारी गुरुङ घलेले बिहीबार विज्ञप्तिमार्फत उक्त शुभकामना सन्देश जारी गरेकी हुन् । ‘नयाँ सदनले देशमा राजनीतिक स्थिरता, सुशासन र समृद्धिका लागि महत्त्वपूर्ण भूमिका खेल्नेछ भन्ने हाम्रो दृढ विश्वास छ । साथै, देश र विदेशमा रहनुभएका सम्पूर्ण नेपालीहरूको हित र अधिकारका लागि यहाँहरूको आवाज सधैं बुलन्द रहोस् भन्ने कामना गर्दछौं ।’
१२ चैत २०८२, बिहीबार संघीय राजधानी काठमाडौंमा आयोजित विशेष समारोहमा नेपालको प्रतिनिधिसभाका नवनिर्वाचित सदस्यहरूले पद तथा गोपनीयताको शपथग्रहण गरेको सुखद् अवसरमा तमु समाज यूकेले खुसी व्यक्त गरेको छ ।
सांसदहरूले आ-आफ्नो मातृभाषा र मौलिक जातीय भेषभुषामा सजिएर शपथ लिएको दृश्यले नेपालको बहुजातीय र बहुसांस्कृतिक पहिचानको सुन्दर झलक प्रस्तुत गरेको समेत तमु समाज यूकेले उल्लेख गरेको छ । जनताको अमूल्य मतद्वारा निर्वाचित भई देशको सर्वोच्च नीति निर्माण तह (संसद्)मा पुगेका सम्पूर्ण सांसदहरूलाई तमु समाजले हार्दिक बधाई ज्ञापन गर्दै सफल कार्यकालको शुभकामनासमेत व्यक्त गरेको छ ।
सांसदहरुलाई सिंहदरबारमा आयोजित कार्यक्रममा प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले शपथग्रहण गराएका थिए । नेपाली कांग्रेसको समानुपातिक तर्फबाट निर्वाचित ज्येष्ठ सदस्य केसीले बुधबार राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष राष्ट्रपति भवन शितल निवासमा शपथग्रहण गरेका थिए ।






