काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखकलाई प्रहरीले पक्राउ गरेको छ ।
ओलीलाई प्रहरीले गुण्डु र लेखकलाई कटुन्जे भक्तपुरबाट शनिबार बिहान पक्राउ गरेको हो ।
गत भदौ २३ र २४ को घटना छानबिनका लागि गठित गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयनका लागि उनहरुलाई पक्राउ गरिएको हो । पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखक पक्राउका लागि गृह मन्त्रालय जाहेरीकर्ता बनेर पत्र पाएपछि प्रहरीले जेन–जी आन्दोलन दमन आरोपमा ज्यानसम्बन्धी मुद्दामा अनुसन्धान सुरु गरेको छ ।
प्रहरीले पक्राउका लागि लिखित आदेश मागेपछि राति नै गृहसचिव राजकुमार श्रेष्ठ कानुन सचिव परासर ढुंगानालाई लिएर प्रहरी प्रधान कार्यालय पुगेका थिए । यो बीचमा उपत्यकाको सुरक्षा व्यवस्था कडा पारिएको छ । शुक्रबार मध्यरातिसम्म पक्राउ गर्ने विषयमा गृहमन्त्री सुधन गुरुङले सुरक्षा प्रमुखहरुसँग छलफल गरेका थिए ।
कार्की आयोगले प्रधानमन्त्री रहेका केपी शर्मा ओली, गृहमन्त्री रमेश लेखक र आईजीपी चन्द्रकुवेर खापुङलाई फौजदारी कसुरमा कारबाही गर्न सिफारिस गरिएको थियो । उनीहरूलाई दफा १८१ र १८२ बमोजिम कारबाही सिफारिस गरिएको थियो । मुलुकी फौजदारी संहिताको दफा १८१ मा ‘कसैले लापरबाहीपूर्ण काम गरेर कसैको ज्यान मार्न नहुने’ कसुर छ । त्यस्तो कसुर गर्ने व्यक्तिलाई ३ देखि १० वर्षसम्म कैद र ३० हजार रुपैयाँदेखि १ लाखसम्म जरिवाना हुन सक्ने व्यवस्था छ ।
दफा १८२ मा ‘हेलचेक्र्याइँपूर्ण कुनै काम गरी कसैको ज्यान मार्न नहुने’ भनिएको छ । यसमा ३ वर्षसम्म कैद र ३० हजार रुपैयाँसम्म जरिवाना हुन सक्ने भनिएको छ ।






