लन्डन । राजेन्द्र पुडासैनी नेतृत्वको गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेले नेपाल र विश्वभर फैलिएको नेपाली डायस्पोराबीचको सुदृढ साझेदारी राष्ट्रको दीर्घकालीन समृद्धिका लागि अत्यन्त महत्वपूर्ण हुने जनाएको छ।
अध्यक्ष राजेन्द्र पुडासैनी र महासचिव दिवाकर पाण्डेद्वारा शुक्रबार संयुक्त रूपमा जारी गरिएको वक्तव्यमार्फत नेपालका नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) तथा राष्ट्रिय स्वतन्त्र पार्टी नेतृत्वमा गठित मन्त्रिपरिषदलाई बधाई दिँदै एनआरएनए यूकेले यो जनादेशले देशमा स्थायित्व, पारदर्शिता र समावेशी विकास अघि बढाउने महत्वपूर्ण अवसर प्रदान गरेको उल्लेख गरेको छ।
विदेशमा बसोबास गर्ने दोस्रो र तेस्रो पुस्ताका नेपालीहरूसँगको सम्बन्ध सुदृढ बनाउँदै उनीहरूको भाषा, संस्कृति र पहिचानसँगको सम्बन्ध जोगाइराख्नु दीर्घकालीन राष्ट्रिय विकासका लागि महत्वपूर्ण हुने बताउंदै एनआरएनए यूकेले “एक पटकको नेपाली, सधैंको नेपाली” भन्ने भावनालाई अझ मजबुत बनाउन नयाँ सरकारले ठोस पहल गर्ने अपेक्षा व्यक्त गरेको छ।







