लन्डन । नेकपा एमाले निकट प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय समितिले भदौ २३ र २४ को घटना छानबिन गर्न गठित गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णयप्रति गम्भीर आपत्ति जनाएको छ । मञ्चले उक्त प्रतिवेदन एकपक्षीय, तथ्यहीन र पूर्वाग्रही रहेको आरोप लगाउँदै त्यसको कार्यान्वयन रोक्न माग गरेको छ ।
मञ्चका अध्यक्ष रमेश पाण्डे र सचिव चानक पोखरेलद्वारा शनिबार जारी प्रेस विज्ञप्तिमार्फत पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकको पक्राउप्रति निन्दा गर्दै तत्काल रिहाइको माग गरेको छ । साथै, राजनीतिक प्रतिशोधबाट प्रेरित निर्णय नगर्न र लोकतान्त्रिक मूल्य–मान्यता तथा विधिको शासनको संरक्षण गर्न सरकारलाई आग्रह गरेको छ।
मञ्चले राष्ट्रिय एकता, संवाद र लोकतान्त्रिक स्थिरता कायम राख्न सरकार जिम्मेवार बन्नुपर्ने बताउँदै आफ्ना माग सम्बोधन नगरे उत्पन्न हुने परिस्थितिको जिम्मेवारी सरकारकै हुने चेतावनी दिएको छ ।






