लन्डन । एनआरएनए आईसीसी पूर्वअध्यक्ष कुल आचार्यले बालेन सरकारको १०० कार्यसूचीमा प्रवासी नेपालीबारे केही पनि विषय उल्लेख नहुनु दुखद् भएको प्रतिक्रिया दिएका छन् ।
आइतबार सामाजिक सञ्जालमा आफ्ना धारणा सार्वजनिक गर्दै आचार्यले बालेन्द्र शाहलाई प्रधानमन्त्रीको कुर्सीमा पुर्याउन विदेशमा रहेका नेपालीको योगदान भए पनि कार्ययोजनामा प्रवासमा बस्ने नेपालीहरुका बारेमा केही पनि उल्लेख नगरेकोमा दु:ख लागेको बताएका हुन् ।
…संसारभरि रहेका नेपालीहरुले नेपालमा रहेका आफ्ना परिवारजनलाई श्री बालेन्द्र शाह ‘बालेन’लाई प्रधानमन्त्री बनाउन फोन गरेको जग जाहेर छ । जसले गर्दा राष्ट्रिय स्वतन्त्र पार्टीले झन्डै दुई तिहाइ बहुमत हासिल गरेको छ। तर बालेन सरकारले आफ्नो १०० दिने कार्ययोजनामा प्रवासमा बस्ने नेपालीहरुका बारेमा केही पनि उल्लेख नगरेकोमा दु:ख लागेको छ,’ आचार्यले लेखेका छन्, ‘अब प्रधानमन्त्रीले देशवासीका नाममा गर्ने पहिलो सम्बोधनमा रास्वपाले गैरआवासीय नेपालीका सम्बन्धमा आफ्नो वाचापत्रमा उल्लेख गरेका विषय पनि समावेश गर्न अनुरोध गर्दछु ।’
बालेन नेतृत्वको पहिलो मन्त्रिपरिषद् बैठकले स्वीकृत गरेको सरकारको १०० कार्यसूची शनिबार सार्वजनिक गरिएको थियो ।






