लन्डन ३ अप्रिल २०२६ । गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेका प्रमुख संरक्षक डेभिड गुरुङले नेपालको नवनिर्वाचित प्रतिनिधिसभाको पहिलो अधिवेशनमा प्रस्तुत सुशासन, रोजगारी, विकास तथा एनआरएनसम्बन्धी धारणाप्रति स्वागत व्यक्त गर्दै वंशजको नागरिकता कार्यान्वयन गर्न सरकारसँग आग्रह गरेका छन् ।
यूके हिन्दू महासंघका सल्लाहकार समेत रहेका गुरुङले जारी गरेको वक्तव्यमा ‘एकपटकको नेपाली, सधैंको नेपाली’ भन्ने अवधारणाअनुसार गैरआवासीय नेपालीका सन्तानलाई नागरिकता दिने विषयलाई प्राथमिकतामा राखी आवश्यक कानुनी प्रक्रिया शीघ्र अगाडि बढाउन माग गरिएको छ । उक्त विषय संसद्को पहिलो बैठकमै उठाइएकोप्रति उनले सरकार तथा राजनीतिक दलहरूप्रति आभार व्यक्त गरेका छन् ।
वक्तव्यमा भनिएको छ कि विगतमा रेमिटेन्समार्फत देशको अर्थतन्त्रमा महत्त्वपूर्ण योगदान पुर्याए पनि एनआरएनका मुख्य मागहरू पर्याप्त रूपमा सम्बोधन हुन नसकेको अवस्थामा हाल देखिएको सकारात्मक पहलले नयाँ आशा जगाएको छ ।
त्यस्तै, विश्वभर फैलिएका गैरआवासीय नेपालीहरूलाई एकताबद्ध भई आफ्ना अधिकारका लागि पहल गर्न पनि आह्वान गरिएको छ । नेपालमा लगानी गर्न आफूहरू पूँजी, सीप र अनुभवसहित तयार रहेको उल्लेख गर्दै सरकारले त्यसका लागि आवश्यक वातावरण सिर्जना गर्ने विश्वास व्यक्त गरिएको छ ।
यसैबीच, खाडी क्षेत्रमा बढ्दो द्वन्द्वका कारण त्यहाँ कार्यरत नेपाली श्रमिकहरू जोखिममा परेको उल्लेख गर्दै सरकारसँग उनीहरूको शीघ्र संरक्षण, उद्धार र व्यवस्थापनका लागि प्रभावकारी कदम चाल्न आग्रह गरिएको छ ।
यस्तो डेभिड गुरुङको अनुरोध जस्ताको तस्तै
नेपाल सरकारप्रति अनुरोधः
नेपालको नवनिर्वाचित प्रतिनिधिसभा २०८२ को पहिलो अधिवेशनको पहिलो बैठकमा विभिन्न राजनीतिक दलका शीर्ष नेताहरूले प्रस्तुत गर्नुभएको सुशासन, रोजगारी, विकास तथा गैरआवासीय नेपाली नागरिक (NRN) सम्बन्धी धारणा प्रति हामी गैरआवासीय नेपालीहरू हार्दिक स्वागत तथा उच्च सम्मान व्यक्त गर्दछौं। उक्त बैठकबाट प्रवाहित सन्देश समग्र रूपमा सकारात्मक र आशाजनक रहेको हामीले महसुस गरेका छौं।
विशेषगरी “एकपटकको नेपाली, सधैंको नेपाली” भन्ने भावनाअनुरूप गैरआवासीय नेपालीहरूको वंशजको नागरिकता कायम रहने विषयले अब सार्थकता पाउने संकेत देखिएकोमा हामी अत्यन्त आशावादी भएका छौं। विभिन्न बाध्यता र परिस्थितिका कारण विश्वभर फैलिएका हामी गैरआवासीय नेपालीहरूको यो प्रमुख मागलाई संसदको पहिलो बैठकमै स्पष्ट र ठोस रूपमा उठाइएकोमा हामी सम्बन्धित सबै पक्षप्रति हार्दिक धन्यवाद तथा आभार व्यक्त गर्दछौं।
नेपालमा रहेका आम नेपाली जनताको अपेक्षासँगै गैरआवासीय नेपालीहरूको मागलाई समेत प्राथमिकताका साथ संसदमा प्रस्तुत गरिनु हामीप्रति गरिएको सम्मानको रूपमा लिएका छौं। विगतमा हाम्रो रेमिटेन्सले देशको अर्थतन्त्र धाने पनि वंशजको नागरिकताको मागले अपेक्षित प्राथमिकता नपाएको यथार्थ सबैलाई अवगत नै छ। यस पृष्ठभूमिमा वर्तमान सरकार र राजनीतिक दलहरूको सकारात्मक दृष्टिकोणले हामीमा नयाँ आशा र विश्वास जगाएको छ।
विश्वका जुनसुकै कुनामा रहे पनि हाम्रो मन र आत्मा सधैं नेपालमै जोडिएको छ। हामी हाम्रो पूँजी, सीप र अनुभव नेपालमै लगानी गर्न प्रतिबद्ध छौं। अव हामि NRN संग सम्वन्धित सबै अभियन्ताहरु फुटेर हैन जुटेर हाम्रो प्रमुख माग नेपाल सरकारको तर्फबाट पुरा गराउन कम्मर कसौं भनिन चाहन्छु। त्यसका लागि सरकारले आवश्यक वातावरण र अवसर उपलब्ध गराउनेछ भन्ने हाम्रो विश्वास छ।
हाल खाडी क्षेत्रमा चर्किंदो द्वन्द्वका कारण त्यहाँ कार्यरत ठूलो संख्यामा रहेका नेपाली श्रमिकहरू गम्भीर जोखिममा रहेका छन्। तसर्थ, नेपाल सरकारसँग त्यहाँ रहेका सम्पूर्ण नेपाली नागरिकहरूको शीघ्र संरक्षण, उद्धार तथा उचित व्यवस्थापनका लागि आवश्यक कदम चाल्न हार्दिक अनुरोध गर्दछौं।
अन्त्यमा, विदेशमा श्रमरत नेपालीहरूले रेमिटेन्समार्फत नेपालको अर्थतन्त्रमा पुर्याएको महत्वपूर्ण योगदान तथा हालै सम्पन्न निर्वाचनमा परिवर्तनका पक्षमा विदेशमै रहेर समेत आफ्ना परिवारजनमार्फत जनमत निर्माणमा खेलेको भूमिकालाई संसदको पहिलो बैठकले उच्च सम्मान गरेकोमा हामी गौरवान्वित भएका छौं।
गैरआवासीय नेपाली (NRN) हरूका वंशजको नागरिकता कायम गर्ने तथा “एकपटकको नेपाली, सधैंको नेपाली” भन्ने अवधारणालाई कार्यान्वयनमा ल्याउने विषयलाई उच्च प्राथमिकतामा राखी आवश्यक कानुनी प्रक्रिया शीघ्र अगाडि बढाइयोस् भन्ने हाम्रो हार्दिक आग्रह छ। साथै, नेपालको समृद्धि र विकासका लागि हाम्रो निरन्तर साथ, सहयोग र प्रतिबद्धता रहने कुरा पुनः दोहोर्याउन चाहन्छौं। धन्यवाद।
डेभिड गुरुङ
प्रमुख संरक्षक, NRNA UK
सल्लाहकार, यूके हिन्दू महासंघ
लण्डन






