लन्डन ४ अप्रिल २०२६ । ग्रेटर रश्मूर नेपाली कम्युनिटी (जीआरएनसी) यूकेको टोलीले अल्डरसटका नेपाली व्यवसायीहरूको दैलोदैलो पुग्ने कार्यक्रमलाई निरन्तरता दिएको छ ।
नेपाली नयाँ वर्ष कार्यक्रमको तयारी, प्रचारप्रसार र सहयोग संकलन कार्यका क्रममा जीआरएनसीको टोली शुक्रबार ३ अप्रिल २०२६ मा अल्डरसटका विभिन्न व्यवसायीकहाँ पुगेको हो ।
अध्यक्ष लिला सेलिङ माबोले अल्डरसटमा धेरै नेपाली व्यवसायहरूलाई सँगै नेपाली नयाँ वर्ष मनाउन आमन्त्रित गर्न भ्रमण गरिएको एभरेस्ट टाइम्सलाई जानकारी दिइन् । व्यवसायीहरुले भीआईपी टिकट खरिद, अन्य सहयोग गरिएको भन्दै उनले धन्यवाद दिइन् । अध्यक्ष माबोले व्यवसायीकहाँ पुग्ने कार्यक्रम अझै जारी रहने बताइन् ।
यस वर्ष २०२६/२०८३ को नयाँ वर्षको अवसरमा जीआरएनसीले स्थानीय मौलिक कला संस्कृति र स्थानीय समाजसेवी तथा व्यवसायीहरूलाई समेट्दै जीआरएनसीमा नयाँ वर्ष उत्सव मनाउने उद्देश्यले घरदैलो अभियान सञ्चालन गरेको उनले प्रस्ट पारिन् ।
टोलीमा जीआरएन्सी उपाध्यक्ष तथा कार्यक्रम संयोजक उत्तरबहादुर गुरुङ, रामचन्द्र गुरुङ (पूर्वअध्यक्ष, ट्रस्टी), रामधन राई (पूर्वअध्यक्ष, ट्रस्टी), सुनील राना (महासचिव, लेफ्टिनेन्ट अवकाशप्राप्त), मीना गुरुङ (सदस्य), दिलराज गुरुङ (व्यापार सचिव) लगायत सहभागी थिए । टिकट र सहयोगका लागि उत्तर गुरुङ वा दिलराज गुरुङलाई सम्पर्क गर्न पनि अनुरोध गरिएको छ ।
जीआरएनसी यूकेले यही अप्रिल १२ मा नयाँ वर्ष मनाउँदैछ । कार्यक्रम अल्डरसटस्थित एम्पायर हलमा साँझ ४ बजेदेखि राति १० बजेसम्म हुने छ । कार्यक्रममा सांस्कृतिक प्रस्तुति, ख्याति प्राप्त कलाकारहरुको गायन तथा नृत्य, राफल ड्र लगायत हुनेछन् ।
प्रवेश शुल्क वयस्कलाई २५ पाउन्ड, जेष्ठ नागरिकलाई २० पाउन्ड र बालबालिकाका १२ पाउन्ड तोकिएको छ ।













