शिवकुमार गुरुङ
(२८ जुन २०२६)
आज हामी दुई दम्पतीको जीवनको एक अविस्मरणीय दिन बन्यो । चिनियाँ इतिहास, राजनीति र संस्कृतिको मुटु मानिने बेइजिङको टिएनमेन स्क्वायर पुग्ने अवसर मिल्यो । होटेलबाट करिब २० मिनेटको यात्रापछि हामी त्यहाँ पुग्यौं । तर, टिएनमेन स्क्वायरमा प्रवेश गर्नु सहज थिएन; कडा सुरक्षा जाँच, चार पटकसम्मको आईडी भेरिफिकेशन र लामो लाइनमा उभिएर करिब एक घण्टाको पर्खाइपछि मात्र उक्त ऐतिहासिक भूमिमा पाइला टेक्ने अवसर मिल्यो ।
टिएनमेन स्क्वायर: इतिहासको साक्षी
यो स्क्वायर संसारकै सबैभन्दा ठूला सार्वजनिक चोकहरूमध्ये एक हो । यसको ऐतिहासिक महत्त्व अतुलनीय छ, किनकि सन् १९४९ मा माओत्सेतुङले यही थलोबाट जनवादी गणतन्त्र चीनको घोषणा गर्नुभएको थियो । त्यहाँ देखिने माओत्सेतुङको विशाल पोट्रेट निकै अद्भुत छ त्यो पोट्रेटको विशेषता यो हो कि तपाईं जहाँबाट हेर्नुहोस्, माओले तपाईंलाई नै हेरिरहनुभएको जस्तो आभास हुन्छ । मेरो मानसपटलमा केही समयअघि चिनियाँ राष्ट्रपति सी जिनपिङले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई स्वागत गरेको दृश्य घुमिरहेको थियो—आज त्यही ऐतिहासिक थलोमा उभिन पाउँदा मन निकै प्रफुल्ल भयो । इतिहास र आधुनिकताको यो संगम अनुभव गर्नु आफैंमा एउटा विशेष अनुभूति थियो ।
निषिद्ध सहर (Forbidden City): राजवंश र सम्राटहरूको गाथा
टिएनमेन स्क्वायरपछि हामी ‘फरबिडन सिटी’ (निषिद्ध सहर)को भ्रमणमा गयौं । यहाँ पनि सुरक्षा जाँच उत्तिकै कडा थियो । यो सहर ५०० वर्षभन्दा बढी समयसम्म चीनका ‘मिङ’ र ‘छिङ’ राजवंशका सम्राटहरूको सत्ताको केन्द्र थियो । यहाँको इतिहास निकै रोचक छ :
मिङ राजवंश (Ming Dynasty): यस सहरको निर्माण मिङ सम्राट ‘योङ्ले’ (Yongle) को पालामा सुरु भएको थियो । भनिन्छ, यसको निर्माणमा १० लाखभन्दा बढी कामदारहरू खटिएका थिए भन्छन् ।
छिङ राजवंश (Qing Dynasty): यस राजवंशका सम्राट ‘काङसी’ (Kangxi) र ‘कियानलोङ’ (Qianlong) ले यस दरबारलाई कला र संस्कृतिको चरमोत्कर्षमा पुर्याएका थिए ।
रोचक तथ्य र वास्तुकला: यो दरबारमा कुल ९,९९९ कोठा छन् भनिन्छ । चिनियाँ मान्यतामा ‘९’ अंकलाई सम्राटको प्रतीक मानिन्छ । त्यहाँ देखिने विशाल ढुङ्गा र इँटाहरूको बनावट देख्दा अचम्म लाग्छ, त्यो प्राचीनकालमा त्यति ठूला ढुङ्गाहरूलाई कसरी ओसारपसार गरेर ल्याइयो होला भनी सोच्दा आश्चर्यचकित भइन्छ । अर्को रोचक पक्ष भनेको त्यहाँको ड्रेनेज प्रणाली हो जसमा पानी निकासका लागि ‘गोहीको मुख (Crocodile mouth) आकारका धाराहरू बनाइएका छन् । यी सबै कुराले सम्राटहरूको शासन र बाहिरी संसारसँगको उनीहरूको सीमित सम्बन्धलाई आज पनि जीवन्त रूपमा दर्शाउँछन् ।
Qinle Palace Theatre एक्रोब्याटिक शो:
फरबिडन सिटीको भ्रमणमा धेरै हिँड्नुपरेकाले हामी केही थाकेका थियौं, तर दिउँसोको मिठो चिनियाँ खानापछि हामी पुनः ऊर्जावान् भयौं । त्यसपछि हामी ‘Qinle Palace Theatre’ मा पुग्यौं । त्यहाँको ‘बेइजिङ एक्रोब्याटिक शो’ साँच्चै नै अद्भूत थियो । करिब एक घण्टा चलेको उक्त शोमा कलाकारहरूले प्रस्तुत गरेका १० भन्दा बढी विभिन्न शारीरिक कला र चुनौतीपूर्ण स्टन्टहरूले दर्शकलाई मन्त्रमुग्ध बनायो ।
विशेषगरी, मेरो नजरमा सबैभन्दा खतरा र रोचक प्रस्तुति ‘ग्लोब अफ डेथ’ (Globe of Death) थियो—एउटा गोलो पृथ्वीको आकारको केज (पिँजडा) भित्र पाँचवटा मोटरसाइकलले पालैपालो प्रवेश गरी एकसाथ विभिन्न कलात्मक स्टन्टहरू देखाएको दृश्य अत्यन्तै डरलाग्दो र मनोरञ्जनात्मक थियो । यति साहसी प्रदर्शन मैले सायद पहिलोपटक देखेको हुँ । यदि तपाईं कहिल्यै चीन भ्रमणमा आउनुहुन्छ भने, यो शो छुटाउनै नहुने अनुभव हो ।
आजको हाम्रो गाईडेड भ्रमण यहाँ समापन भयो । भोलिका लागि थप उत्साहजनक योजनाहरूका साथ हाम्रो गाईडले बिदा लिनुभयो । आजका यी सबै अनुभवहरूले मेरो बेइजिङ भ्रमणलाई अर्थपूर्ण बनाएका छन् । हामी अब भोलिको नयाँ गन्तव्य र अनुभवको प्रतिक्षामा छौं ।







