सेमन्त राई
दसैंको अन्तिम चरणमा अलि अलि धङधङ्गी लागिरहेको भए पनि निक्कै अगाडिदेखि अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) बेलायतले महाकवि लक्ष्मीप्रसाद देवकोटा ११० औं जन्मजयन्ती मनाउने जानकारी पाएको थिएँ । सदाझैं हरेक पटक अनेसास बेलायतले यसपटक पनि लन्डनमा १३ अक्टोबर, सन् २०१९ का दिन उक्त दिवस भव्यताका साथ मनाउने तयारी भएको थियो । उक्त कुराको जानकारी संस्थाका अध्यक्ष सुमलकुमार गुरुङज्युले बारम्बार विभिन्न माध्यमबाट प्रक्षेपण गरी रहनुभएको थियो । म सदाझैं बिहानै उठेर अब के गर्ने भनी एकछिन अलमलमा परें । हतार हतार ब्रेकफास्ट खाएर एकछिन बाँसुरीको थोरै अभ्यास गरें । यस्ता कार्यक्रममा मलाई कुन धुन बजाउने, के सिर्जना वाचन गर्ने भनेर जहिले पनि सोचनीय अवस्था हुने गर्दछ । म एक साहित्यमा भर्खर अभ्यास सुरु गरेको विद्यार्थी भएकाले गर्दा कथा, कविता, गीत, गजल, हाईकु सबै कुराको चासो राख्ने गर्दछु । साहित्यमा प्रखर हुन समय लाग्ने, निक्कै अध्ययन र अभ्यास गर्नु पर्ने हुनाले त्यो समयसम्म मैले आफ्नो सिर्जनामा मितव्ययिता नै अपनाउनु पर्ने हुन्छ ।
म अलि समयको महत्व बुझ्न चाहने मान्छे, दिइएको समयभन्दा ढिला कुनै पनि कार्यक्रममा पुग्नु भनेको अरुको समय नष्ट गर्नु हो भन्ने सोच राख्छु ।
त्यसैले घरबाट दिनभरीको लागि साहित्यमा रमाउने इच्छासहित, विभिन्न अग्रज साहित्यकारहरुसँग भेट्न पाउने, अग्रजहरुबाट नयाँ कुरा सिक्न पाउने आशाले मन फुरुङ हुँदै घरबाट निस्कने हतारो गरें । दसैंको व्यस्तताले गर्दा सिर्जनाको कुनै तयारी गर्न पनि भ्याइएको थिइनँ । तैपनि आफूले केही दिन अगाडि लेखेको एउटा देवकोटासँगै सम्बन्धित कविता प्रस्तुत गर्ने विचारले बाटो लागें १० बजेतिर । समय अनुकूल भए आफूले सिक्दै गरेको बाँसुरीको एक धुन पनि प्रस्तुत गर्ने सोचले आपूmसँग भएको बाँसुरी पनि बोकें । रहर न हो, कुनै गुरु बिनाको बाँसुरी बजाउने कक्षा आफैंले आपूmलाई सञ्चालन गर्दै आएको छु र मौका मिल्दा सिकेका धुनहरु अरुलाई सुनाएर आफैं आनन्दित हुन्छु । बजाउँदा आफू त रमाउँछु नै, मैले बजाएको धुन सुनेर राम्रो हुँदैछ भनी प्रोत्साहन स्वरुप प्रतिक्रिया पाउँदा हौसिएर अझ राम्रो बजाउने उमङ्ग बढ्छ ।
आजभोलि प्रविधिले गर्दा कतै जान लागेको ठाउँमा पुग्न कति लाग्छ भनेर पूर्वतयारी गर्ने चलन हराएको महसुस गरेको छु । कतै जानु प¥यो भने जब कारभित्र पस्यो अनि पुग्ने स्थानको पोस्ट कोड हानेर कति समय लाग्दोरहेछ भनी जान्न खोज्ने नराम्रो बानी बसेको छ । पहिला कुनै ठाउँमा जानु पर्दा जाने ठाउँको बाटो एटलासमा चिह्न लगाएर हिँड्नु पर्ने, बाटो मुखाग्र पारेर पूर्वतयारी गर्ने चलन सबै हरायो ।
आजकल त कुन दिशातर्फ जाने हो, कुन बाटो जाने हो केही जानकारीबिना बाटो लागिन्छ । स्याटनाभ वा टम टमले जता जा भन्छ त्यतै रोडमा कुदिन्छ, त्यसरी नै कुदें म सदाझैं आज पनि । खै विकास र प्रविधिको सुविधाले गर्दा कताकता हाम्रो पल्टनमा सिकेको नक्सा हेरेर आफ्नो बाटोको योजना तर्जुमा गर्ने कला हराएको पो हो कि जस्तो पनि लाग्छ कहिलेकाहीं । समयको भने बचत मजाले हुने गरेको छ यस मानेमा भने प्रविधि फाइदाजनक नै भएको मान्नु पर्छ । जसको सदुपयोग अक्सर आजभोलि अरुले त खै तर मैले भने संधैं गर्ने गरेको छु ।
साहित्य मेरो लागि चासोको विषय हो, त्यसैले समय मिलेसम्म म जुनसुकै साहित्यिक कार्यक्रममा सहभागी हुन खोज्छु । बेलायतका अनेकौं संस्थाहरुमध्ये साहित्यिक संस्थालाई बढी रुचाउन थालेको छु । त्यो दिन यही उत्कट चाहना र उत्सुकता मनभरी बोकेर एम २० को बाटो लागें । कतै बाटोमा गाडीको भीडले गर्दा निश्चित समयमा नपुगिने पो हो कि भनी डराउँदै अगाडि बढें । भाग्यवस एम २० को ट्राफिक सरल नै रहेछ । उक्त दिनको कार्यक्रम प्लम्स्टेडको वर्किङ्गमेन्स् क्लबमा आयोजना गरिएको थियो, जहाँ धेरै साहित्यका पारखीहरुलाई भेट्न आतुर यो मन झन्डै ४० मिनेटको यात्रापछि निधारित समयमा नै पुगें । पुग्नसाथ दाइ सुमल, भाउजु सारा कार्यक्रमको तयारीका लागि आवश्यक सामग्रीहरु ओसार्दै व्यस्त हुनुहुन्थ्यो । मैले उहाँको साहित्यप्रतिको लगनशीलता, माया, समर्पण र परिश्रमको प्रत्यक्ष अनुभव अनेसासको संलग्नतापश्चात् मात्र गर्ने मौका पाएँ ।
हुन त, गत अगस्ट ३,४,५, सन् २०१९ मा अनेसास छैटौं अन्तर्राष्ट्रिय सम्मेलन, लन्डनको सफलताले उहाँको साहित्यप्रतिको लगाव र कार्यक्रम समायोजनको कुशलतालाई प्रमाणित गरिसकेको कुरा सम्मेलनमा उपस्थित हुनुहुने संसारभरका सहभागीहरुले दिनुभएको प्रतिक्रियाबाट थाहा भइसकेको छ । उक्त दिन पनि सपरिवार तयारीमा लाग्नु भएको देखेर मैले पनि थोरै सहयोग नगरी रहन मनले दिएन । खाना, पानी, चियापान, पाहुनाको स्वागत, समयमा कार्यक्रमको सञ्चालनजस्ता कुराहरु सबै एक्लैले गरिरहनुभएको हेर्दा सुमल दाजुको मात्र नभएर सारा भाउजुको पनि बराबर सहयोग र समर्थन रहेको अनुभव गरें । ११ बजेतिरबाट बिस्तारै निम्तालु पाहुनाहरुको उपस्थिति हुन थालेको थियो । पाहुनाहरुमा बेलायतका लागि नेपाली राजदूत डा. दुर्गाबहादुर सुबेदी (दुबसु) नेपालबाट पाल्नुभएका पाहुना, स्थानीय विभिन्न सस्थाका पदाधिकारीहरुको बाक्लो उपस्थिति थियो । महामहिम राजदूत डा. दुर्गाबहादुर सुबेदीको प्रमुख आतिथ्यमा आयोजना गरिएको कार्यक्रममा सिक्किमका पूर्व मुख्यमन्त्री पवन चाम्लिङको उपस्थिति हुने भनिएको भए पनि विशेष कारणबस अन्तिम समयमा उहाँको उपस्थिति रद्द भएको थियो ।
कार्यक्रम दिनको १२ बजेतिर सुरु भएको थियो । कार्यक्रमको अध्यक्षता संस्थाका अध्यक्ष सुमलकुमार गुरुङले गर्नु भएको थियो । कार्यक्रमको उद्घाटन प्रमुख अतिथि, विशेष अतिथिहरु लगायत अध्यक्षद्वारा दीप प्रज्वलन गरी देवकोटाको फोटोमा पुष्पगुच्छा अर्पणबाट भएको थियो । कार्यक्रमको स्वागत भाषण संस्थाका कोषाध्यक्ष सचिन गुरुङले गर्नुभएको थियो भने सञ्चालन महासचिव सन्तोष कार्कीले गर्नुभएको थियो । त्यसैगरी महाकवि देवकोटाको बारेमा अनेसास बेलायतका सल्लाहकार डा. रुपक श्रेष्ठले बिस्तृत जानकारी गराउनु थियो । देवकोटाका बारेमा जति बोले पनि कमी हुने भन्दै उहाँका प्रकाशित कृतिहरुमध्ये बहुचर्चित खण्डकाव्य मुनामदनको अनुवाद अन्तर्राष्ट्रियस्तरमा ७ भाषामा भइसकेको जानकारी गराउनुभयो । देवकोटाको बारेमा धेरै कुरा सुन्न पाउँदा आपूm पहिला खगेन्द्र गौतम सरको ऐच्छिक नेपाली कक्षामा बसेर नेपाली साहित्यबारेमा सिकेको विद्यार्थी जीवनको झझल्को आयो । देवकोटाको बारेमा प्रकाश पार्नेक्रम सँगै विशेष अतिथि तथा नेपाली गजल गायक राज सिग्देलको बारेमा पनि जानकारी गराउनुभयो । उहाँको उपस्थितिले उक्त दिनको कार्यक्रममा सुनमा सुगन्ध थपेको जानकारी दिनुभयो । उहाँको मीठो स्वरमा विभिन्न गीत गजलको रसस्वादन गर्न पाउँदा ज्यादै रमाइलो अनुभूत भएको थियो । नेपाली साहित्यको सिर्जना सुन्न गएको म संगीत भरिएको मीठो स्वरलाई सुन्न पाउँदा मेरो समेत लेखन कलामा अझ उर्जा थपिएको अनुभूत भयो । मेरा गीतहरु पनि यसरी नै उहाँको स्वरमा रेकर्ड गराउने उत्साह बढेर आयो ।
त्यसैगरी प्रमुख अतिथि दुबसु क्षेत्रीले राष्ट्रप्रेमी भावनायुक्त वचनसहित नेपाली भएर परदेशमा आफ्नो अस्तित्व जोगाउनु र नेपाली भएर गर्वले बाँच्नु पर्ने कुरालाई जोड दिँदै नेपालीत्व जोगाउन उहाँको व्यक्तिगत वा दूतावासको तर्फबाट नेपाली समाजलाई सकेसम्म सहयोग गर्ने प्रतिबद्धता जाहेर गर्नुभयो । आफ्नो भाषा, संस्कृति, भेषभूषालाई बचाएर राख्नु हामी सबै नेपालीको कर्तव्य रहेको उहाँको भनाइ थियो ।
नेपाली कला, गीत, संगीत, मौलिक बाजाहरुलाई सम्मान गर्दै बाँसुरी समूह यूकेलाई दूतावासमा बोलाउने कुराको उद्घोषण गर्नुभयो । उहाँको हातबाट अनेसासका आजीवन सदस्यहरुलाई प्रमाणपत्र वितरणसमेत गरिएको थियो । गजल गायक राज सिग्देलले आफ्नो मन्तव्यमा दुबसु क्षेत्रीको प्रभावशाली भाषणबाट धेरै कुरा सिक्न पाएको जानकारी दिनुभयो । सिग्देलले बेलायतको सिंगो नेपाली भाषा र साहित्यलाई अनेसास बेलायतका अध्यक्ष सुमलकुमार गुरुङले एक्लै बोकेको अनुभूति व्यक्त गर्नुभयो । परदेशमा बसेका नेपाली सर्जकहरुकै साथ र सहयोगले नेपाली गीत संगीत बजार चलेको र गायक गायिकाहरुको प्रमुख स्रोत नै विदेशमा रहेका सर्जकहरु हुन् भन्नुभयो । परदेशमा रहेर पनि नेपाली साहित्य, गीत, संगीतलाई यसरी नै माया गरी रहन आव्हान पनि गर्नुभयो । मेरो सिकारु बाँसुरीको धुनलाई सुनेर उत्साह थप्दै उहाँ पनि सुरुमा बाँसुरी सिक्न घर छोडेको र त्यहीबाट नै गीत संगीतमा प्रवेश गरेको कुरा खुलाउनु भयो ।
पहिलो चरणको कार्यक्रमपछि लन्चको लागि २० मिनेट ब्रेक भएको थियो । त्यो बेला सबैसँग थोर बहुत भलाकुसारी गर्दै खाना खाने क्रम भयो । मैले पनि आपूmलाई उक्त दिन सबैजनासँग कुराकानी गर्ने मौकालाई राम्रै सदुपयोग गरें खानाको समयमा । त्यस पछि दोस्रो चरणको कार्यक्रम सिर्जना बाचनको पालो थियो । आआफ्ना सिर्जना सुनाउने क्रममा मैले पनि एक कविता र चार मुक्तक सुनाउने मौका पाएँ । पहिलो चरणमा लक्ष्मीप्रसाद देवकोटाद्वारा रचित “कुन मन्दिरमा जान्छौ यात्री…“ गीतको धुन बजाउने जमर्को गरेको थिएँ ।
त्यसैगरी मित्र भरत लोहोरुङ राईजीले बाँसुरीको धुनसँग मुक्तक र गजल वाचनसमेत गर्नुभएको थियो । हामी केही सदस्यहरु जागिरको प्रारम्भिक चरणमा बन्दुक चलाउने गरे पनि हाल जीवनको उत्तरार्धमा आएर कलम चलाउन रहर भएको कुराको विषयमा गफ गर्दै केही तस्बिरहरु पनि खिचियो । साथै थोरै हाँसो रुपी सत्यताको बारेमा रमाइलो कुरा आदान प्रदान भयो ।
त्यसैगरी अन्य धेरै सर्जकहरुको मुक्तक, गजल, कविता र कथा सुनेर भरपुर मनोरञ्जन लिन सफल भयौं । वातावरणविद् दाजु विजय हितानको वातवरणीय कविता सुन्न पाउँदा ज्यादै मजा आयो । सन्देशमूलक उहाँको कविताले समाजमा वातावरणप्रति सतर्कताको माग गर्दै एक छोरीको बिम्बमा मीठो सिर्जना सुनाउनु भयो । थुप्रै व्यक्तित्वहरुसँगको भेटघाट र भलाकुसारीले अन्य नेपाली समाजको कार्यक्रमभन्दा पृथक् रहने यस्ता साहित्यिक कार्यक्रम ज्यादै उपलब्धिमूलक भएको महसुस हुन्छ ।
नेपाली कार्यक्रममा सहभागी हुँदा अनेक किसिमको च्यारिटी र डोनेसन टिकटहरुको चपेटामा प्रायः परिन्छ तर यस्ता साहित्यिक कार्यक्रममा सहभागी हुँदा आफ्नो रुचिको खुराकभन्दा बाहेक अरुतर्फ कुनै करकाप हुँदैन । न त कुनै मद्यपान र खानपिनमा अत्याधिक खर्च हुन्छ, खर्च हुन्छ त केवल साधा खाना र पिउने संग्लो पानीमा न्युनतम् । साहित्यिक कार्यक्रममा हिंड्दा मलाई मन परेको सकारात्मक पक्षहरु भने यिनै हुन् । जहाँ सिक्ने र सिकाउने काम हुन्छ, आफ्नो परिधी आफैंले तोकेर स्वतन्त्र हिँड्न सकिन्छ । जुन कुराको प्रत्यक्ष अनुभूत यस्ता कार्यक्रममा स्वतन्त्र रुपले मैले गरेको छु ।
कार्यक्रमको अन्तमा अध्यक्ष दाजु सुमलकुमार गुरुङले उपस्थित सबैजानालाई धन्यवाद साथ विशेष धन्यवाद भाउजु सारा र छोरालाई व्यक्त गर्नुभयो ।
उक्त दिन नेपाली गजल गायक राज सिग्देलसँग परिचय र भलाकुसारी गर्ने एउटा राम्रो संयोग मिलेको अनुभूत भयो । साथै उहाँको बेलायतमा गजल साँझका लागि निश्चित भएका कार्यक्रमहरुको बारेमा समेत जानकारी भयो । सबै जनासँग बिदा भएर मन प्रफुल्लित बनाएर म पनि झन्डै छ बजेतिर बाटो लागें । बाटामा फर्कंदा अन्य संस्थामा आबद्ध भएर काम गर्नुभन्दा यस्तै भाषा र साहित्यमा नै समय लगानी गर्नु उचित भएको महसुस गरिरहें । आपूmलाई जहाँ रमाइलो महसुस हुन्छ त्यहीं सहभागी हुनु उचित हुन्छ । नयाँ कुराको जानकारी हुनु, नयाँ साथीहरु सँगको भेटघाट र विचारहरुको आदान प्रदानबाट प्राप्त गरिने आनन्द अन्य नेपाली कार्यक्रमबाट प्राप्त नभएको समेत अनुभव भइरह्यो बाटाभरी ।
सबैलाई एकै किसिमको रुचि हुँदैन र आफ्नो चाहनाविपरीत अरुको लागि जबर्जस्त काम गर्नु एउटा मानसिक पीडा मात्र हो भन्ने कुरा मनको एक कुनादेखि अर्को कुनासम्म मडारी रह्यो । यस्ता कुराहरुको अनुभूति बल्ल जीवनको यो चरणमा मात्र किन भयो आफैंलाई बिनाउत्तर सोधीरहें । अब फेरि यस्तै अर्को कार्यक्रममा अझ राम्रो सिर्जना र मिठो बाँसुरीको धुन सुनाउने संकल्प गर्दै हल्का मन बनाएर गाडीको एक्सेलेरेटर थिची रहें एउटै गतिमा गुरुरु…।






