एटा संवाददाता
लन्डन । निर्माणकै क्रममा अत्यन्त चर्चामा रहेको नेपाली चलचित्र दयारानी अल्डरसटमा विशेष प्रदर्शन हुने भएको छ ।

ग्रामीण नेपाली परिवेशको कथामा आधारित सो चलचित्र यही १३ डिसेम्बरका साँझ ५ः३० बजे अल्डरसटस्थित एम्पायर हलमा प्रदर्शन गर्ने भएको हो । पछिल्लो समय निकै चर्चामा रहेको दयाहाङ्ग राई, बुद्धि तामाङ, बिजय बराल, दिया पुन, पुस्कर गुरुङ, टिकाराम घले लगायतको जोडदार अभिनय
रहेको छ ।
यसअघि हङकङ, बेलायतको क्याट्रिक र बेजिङ्गस्टोकमा प्रदर्शन भएको सो चलचित्र १३ डिसेम्बर अल्डरसट, १२ जनवरी २०२० प्लमस्टिड, २५ जनवरी फोक्सटोनमा प्रदर्शन गरिने प्रदर्शन समूहले जानकारी गराएको छ । मेजर खुशीमान गुरुङ एमभिओ, क्या. सुरेन्द्र गुरुङ, क्या. सूर्यप्रकाश गुरुङ, मोहन गुरुङ (तिला), न्यू आईटी भेन्चर जापान र केन्द्र लिम्बु निर्माता रहेको चलचित्रमा लोकप्रिय निर्देशक रामबाबु गुरुङ र अपिल बिष्ट कार्यकारी निर्माता छन् ।
त्यस्तै, पछिल्लो समय थुप्रै सफल नेपाली चलचित्रको अभिनय तथा निर्देशन गरिसकेका माओत्से गुरुङको लेखन तथा निर्देशन रहेको सो चलचित्रको टिकट १० पाउन्ड तोकिएको र टिकटका लागि मेजर खुशीमान गुरुङ एमभिओ र फोटो पत्रकार मिलन तमुलाई सम्पर्क गर्न प्रदर्शन समूहले अनुरोध
गरेका छन् ।






