तमु लम परिवार यूकेको ऐतिहासिक प्रथम वार्षिक भेला भव्य र सभ्य रूपमा सम्पन्न

SHARE:

अल्डरसट, बेलायत। तमू लम परिवार यूकेको ऐतिहासिक प्रथम वार्षिक भेला तथा भेटघाट कार्यक्रम १० अक्टोबर २०२६ मा बेलायतको अल्डरसटस्थित एम्पायर हलमा भव्य र सभ्य रूपमा सम्पन्न भएको छ। बेलायतमा बसोबास गर्ने तमू (गुरुङ) लामा अर्थात् लम थरका परिवारहरूलाई एकताबद्ध गर्दै बन्धुत्व, भ्रातृत्व र एकतालाई सुदृढ बनाउने तथा मौलिक भाषा, संस्कृति, परम्परा र पारिवारिक सम्बन्धको संरक्षण एवं प्रवर्द्धन गर्ने उद्देश्यले आयोजित कार्यक्रममा संस्थाका सदस्य, अतिथि, समाजसेवी, बुद्धिजीवी तथा कलाकारहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

गत वर्ष तदर्थ समिति गठन गरी संस्थागत यात्रा सुरु गरेको तमू लम परिवार यूकेले १२ सेप्टेम्बर २०२६ मा सम्पन्न प्रथम अधिवेशनबाट रामचन्द्र गुरुङको अध्यक्षतामा पहिलो कार्यसमिति गठन गरेको थियो। सोही संस्थागत यात्राको महत्त्वपूर्ण उपलब्धिका रूपमा आयोजित प्रथम वार्षिक भेलामा तमूधिं यूकेका अध्यक्ष जुमकाजी गुरुङ प्रमुख अतिथिका रूपमा सहभागी भएका थिए।

पितृस्मरण, प्रार्थना र दीप प्रज्वलनबाट कार्यक्रमको शुभारम्भ

संस्थाका अध्यक्ष रामचन्द्र (सुर्जे) गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रमको औपचारिक सत्र संस्थाका महासचिव एसके गुरुङले सञ्चालन गरेका थिए।

कार्यक्रमको प्रारम्भमा संस्थाका ज्येष्ठ सल्लाहकार गणेश गुरुङले तमू लम परिवारका दिवंगत पितृहरूको स्मरण गर्दै श्रद्धाञ्जली अर्पण गरेका थिए। त्यस अवसरमा वरिष्ठ धर्मगुरु लोपेन कर्मा गुरुङ तथा उहाँका सहयोगीहरूले पितृहरूको आह्वान गर्दै मोन्लम (प्रार्थना) वाचन गरेका थिए।प्रमुख अतिथि जुमकाजी गुरुङ, संस्थाका अध्यक्ष रामचन्द्र गुरुङ, कार्यक्रम संयोजक क्याप्टेन सूर्यप्रकाश गुरुङ र छोरीचेली प्रमुख बिनु गुरुङले संयुक्त रूपमा दीप प्रज्वलन गरी कार्यक्रमको औपचारिक उद्घाटन गरेका थिए।

स्वर्गीय घनबहादुर गुरुङद्वारा रचित तमू राष्ट्रिय गान प्रस्तुत हुँदा उपस्थित सबैले उभिएर सम्मान प्रकट गरेका थिए। चेलीहरू हेलिसा गुरुङ र बिनु गुरुङको आकर्षक स्वागत नृत्यले कार्यक्रमलाई थप सांस्कृतिक र उल्लासमय बनाएको थियो।

कार्यक्रम संयोजक क्याप्टेन सूर्यप्रकाश गुरुङले स्वागत मन्तव्य व्यक्त गर्दै संस्थाको उद्देश्य, पारिवारिक एकताको महत्त्व र भावी योजनाबारे प्रकाश पारेका थिए। कार्यक्रममा सहभागी ज्वाइँचेली तथा अतिथिहरूलाई संस्थाका माइती सदस्यहरूले प्रवेशद्वारमै खादा पहिराएर आत्मीय स्वागत गरेका थिए। यसले तमू लम परिवारको मौलिक पारिवारिक संस्कार, आपसी सम्मान र आत्मीय सम्बन्धलाई जीवन्त रूपमा प्रस्तुत गरेको थियो।

राष्ट्रिय कलाकारको प्रस्तुतिले थप्यो सांगीतिक रौनक

कार्यक्रमको भोजन सत्रका क्रममा नेपालबाट विशेष निमन्त्रणामा बेलायत आएका राष्ट्रिय गायिका पवित्र गुरुङ र प्रिय गुरुङले आधुनिक नेपाली तथा गुरुङ भाषाका गीत प्रस्तुत गरेका थिए। उनीहरूको सुमधुर गायनले सहभागी सदस्य तथा अतिथिहरूलाई मनोरञ्जन प्रदान गर्नुका साथै कार्यक्रमको वातावरणलाई थप उत्साहपूर्ण बनाएको थियो।

भोजनपछि कार्यक्रमको दोस्रो चरणमा सम्मान तथा साहित्यिक कृति लोकार्पण समारोह आयोजना गरिएको थियो। उक्त सत्रको सञ्चालन चेली हेलिसा गुरुङ र संस्थाका उपाध्यक्ष युनिल गुरुङले गरेका थिए।

विभिन्न क्षेत्रमा योगदान पुर्‍याउने व्यक्तित्व सम्मानित

तमू लम परिवार यूकेले शिक्षा, चिकित्सा, विज्ञान, सार्वजनिक सेवा, साहित्य तथा सामाजिक क्षेत्रमा उल्लेखनीय उपलब्धि हासिल गरेका व्यक्तित्वहरूलाई सम्मान गरेको थियो।

सन् २०२६ मा उपलब्धि हासिल गरेका तथा आ–आफ्नो क्षेत्रमा योगदान पुर्‍याएका सम्मानित व्यक्तित्वहरूमा निम्न व्यक्तिहरू रहेका थिए।

  • डा. क्रिस्टिना गुरुङ: क्लिनिकल सर्जरीसम्बन्धी चिकित्सकीय क्षेत्रमा उपलब्धि हासिल गरेकी।
  • मिस रोशनी गुरुङ: ग्रिनविच विश्वविद्यालयबाट सन् २०२६ मा बायोमेडिकल साइन्समा डिस्टिङ्सनसहित स्नातकोत्तर उपाधि हासिल गरेकी।
  • मिस लुना गुरुङ: बीएस्सी प्राकृतिक विज्ञान (BSc Natural Sciences) अध्ययनमा उपलब्धि हासिल गरेकी।
  • काउन्सिलर उत्तरबहादुर गुरुङ: अल्डरसटको वेलिङ्टन वार्डबाट हालै काउन्सिलरमा निर्वाचित भएका।
  • वरिष्ठ साहित्यकार तथा समाजसेवी सुमलकुमार गुरुङ: साझा प्रकाशनबाट हालै प्रकाशित युद्धमा आधारित उपन्यास कर्मवीर का लागि सम्मानित भएका।

प्रमुख अतिथि जुमकाजी गुरुङ, संस्थाका अध्यक्ष रामचन्द्र गुरुङ तथा छोरीचेली प्रमुख बिनु गुरुङले सम्मानित व्यक्तित्वहरूलाई खादा, शल तथा पुष्पगुच्छ प्रदान गर्दै सम्मान गरेका थिए।

यस अवसरमा वरिष्ठ साहित्यकार सुमलकुमार गुरुङद्वारा लिखित नयाँ उपन्यास कर्मवीर को औपचारिक लोकार्पणसमेत गरिएको थियो। लेखक गुरुङले आफ्नो कृतिप्रति रुचि राख्ने उपस्थित पाठकहरूलाई पुस्तकका केही प्रति निःशुल्क वितरण गरेका थिए।

सम्मान तथा कृति लोकार्पण कार्यक्रमले नयाँ पुस्तालाई शिक्षा, सार्वजनिक सेवा, सामाजिक योगदान र साहित्यिक सिर्जनाका क्षेत्रमा अघि बढ्न प्रेरणा प्रदान गर्नुका साथै संस्थाको भाषा, साहित्य र संस्कृतिप्रतिको प्रतिबद्धतालाई उजागर गरेको थियो।

औपचारिक सत्रको समापनमा संस्थाका अध्यक्ष रामचन्द्र गुरुङले कार्यक्रम सफल बनाउन योगदान पुर्‍याउने प्रमुख अतिथि, अतिथिगण, कलाकार, सम्मानित व्यक्तित्व, सदस्य तथा सम्पूर्ण सहयोगीहरूप्रति आभार व्यक्त गरेका थिए।

गीत, नृत्य र राफल ड्रले थपियो उत्साह

औपचारिक कार्यक्रमपछि आयोजित सांस्कृतिक तथा मनोरञ्जनात्मक सत्रमा तारा, बिना, मोनिका, सूर्यकुमारी, बिबिशा र अञ्जलीले विभिन्न सांस्कृतिक नृत्य प्रस्तुत गरेका थिए। त्यसैगरी नवराज, नारायण, पवित्र र प्रियका गीतसंगीतका प्रस्तुतिले कार्यक्रमलाई थप मनोरञ्जनात्मक बनाएका थिए।

नेपालबाट आएका राष्ट्रिय कलाकारहरूको प्रस्तुतिमा सहभागी सदस्य तथा अतिथिहरूले गीतसंगीतसँगै नाचगान गर्दै रमाइलो गरेका थिए। सांस्कृतिक प्रस्तुतिले विभिन्न पुस्ताका सदस्यहरूलाई एउटै मञ्चमा जोड्दै पारिवारिक आत्मीयता र सांस्कृतिक निरन्तरताको सन्देश दिएको थियो।

कार्यक्रमको अन्तिम चरणमा राफल ड्र आयोजना गरिएको थियो। राफल ड्रका पुरस्कारहरू विभिन्न प्रायोजकहरूको सहयोगमा प्रदान गरिएका थिए। पहिलो पुरस्कारका रूपमा सुनको चन्द्रमा जयश्री कृष्ण ज्वेलरीले प्रायोजन गरेको थियो। दोस्रो पुरस्कारका रूपमा ए स्टार फाइनान्सले २०० पाउन्ड र तेस्रो पुरस्कारका रूपमा बुद्ध मोर्टगेजले १५० पाउन्ड प्रायोजन गरेका थिए। चौथो पुरस्कारको प्रायोजन दिदी लन्डनले गरेको थियो।

सांस्कृतिक प्रस्तुति, सम्मान समारोह, साहित्यिक कृति लोकार्पण, पारिवारिक भेटघाट र मनोरञ्जनात्मक गतिविधिसहित तमू लम परिवार यूकेको ऐतिहासिक प्रथम वार्षिक भेला सफलतापूर्वक सम्पन्न भएको थियो।

बन्धुत्व, भ्रातृत्व र एकतालाई सुदृढ बनाउने अपेक्षा

तमू लम परिवार यूकेको प्रथम वार्षिक भेलाले बेलायतमा बसोबास गर्ने लम थरका परिवारहरूबीच आपसी सम्बन्ध विस्तार, पारिवारिक एकता र संस्थागत सहकार्यलाई थप मजबुत बनाउने आधार तयार गरेको छ।

विशेषगरी भावी पुस्तामा आफ्नो मौलिक पहिचान, भाषा, संस्कृति, धर्म, परम्परा र पारिवारिक इतिहास हस्तान्तरण गर्ने उद्देश्यसहित अघि बढिरहेको संस्थाका लागि यो भेला महत्त्वपूर्ण उपलब्धिका रूपमा रहेको छ।

संस्थाको मूल भावना “बन्धुत्व, भ्रातृत्व र एकता” लाई आत्मसात् गर्दै आगामी दिनमा सामाजिक, सांस्कृतिक, साहित्यिक तथा पारिवारिक गतिविधिलाई निरन्तरता दिने अपेक्षासहित कार्यक्रम सम्पन्न भएको हो।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!