लन्डन । बेलायतको रसमोर बरोअन्तर्गत अल्डरसटस्थित वेलिङटन वार्डका काउन्सिलर उत्तरबहादुर गुरुङ नेपाल पुगेका छन्।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिँदा उनलाई परिवारका सदस्यहरूले आत्मीय स्वागत गरेका छन्। गुरुङले सामाजिक सञ्जालमार्फत नेपाल आगमनका क्रममा परिवारबाट पाएको माया, खुसी र न्यानो स्वागतले यात्रालाई विशेष तथा अविस्मरणीय बनाएको बताएका छन्। उनले स्वागतका लागि परिवारका सबै सदस्यप्रति आभार व्यक्त गरेका छन्।
बेलायतबाट दुबई हुँदै फ्लाई दुबईको उडानमार्फत पोखरा पुगेका गुरुङले आफ्नो हवाई यात्रा सहज, सुविधाजनक र सुखद रहेको उल्लेख गरेका छन्। उनले बेलायतबाट नेपाल यात्रा गर्ने, विशेषगरी पोखरा भ्रमण गर्न चाहने यात्रुका लागि दुबई हुँदै पोखरा पुग्ने हवाई मार्ग राम्रो विकल्प हुन सक्ने बताएका छन्। साथै, सहज र आरामदायी यात्राका लागि फ्लाई दुबईलाई धन्यवाद दिँदै नेपाल भ्रमण गर्नसमेत आग्रह गरेका छन्।
नेपालको प्राकृतिक सुन्दरता, समृद्ध संस्कृति र आत्मीय आतिथ्यको प्रशंसा गर्दै जीआरएनसी यूकेका उपाध्यक्षसमेत रहेका गुरुङले नेपाल सुन्दर, पोखरा अद्भुत र परिवारको मायाले हरेक आगमन अविस्मरणीय बन्ने भाव व्यक्त गरेका छन्।








