काठमाडौं । गायन रियालीटी शो ‘द भ्वाइस अफ नेपाल’ सिजन–२ को उपाधि राम लिम्बूले जितेका छन् । बौद्धमा शनिबार भएको फाइनलमा उत्कृष्ट चार प्रतिष्पर्धीलाई पछि पार्दै लिम्बूले द भ्वाइसको उपाधि जितेका हुन् । उपाधि जितेसँगै उनले डाटसन रेडी गो कार, १२ लाख नगद पुरस्कार, १५ लाख बराबरको भिडियो एल्बम र विश्व सांगीतिक यात्रको अवसर प्राप्त गरेका छन् ।
सेमीफाइनलबाट ८ जनाको प्रतिस्पर्धात्मक शोबाट उत्कृष्ट ४ जना फाइनल प्रवेश गरेका थिए । फाइनलमा प्रवेश गर्नेहरुमा बिकाश लिम्बू, सनिशा श्रेष्ठ, आरिफ राव र राम लिम्बू थिए । ब्लाइण्ड अडिसन, ब्याटल राउण्ड हुँदै नकआउट चरणबाट लाइभ राउण्डमा १२ जना छानिएका थिए । जसमा विकास, रजनी, सञ्जय लाइभ राउण्डमा पुगेका थिए । यान्की ह्यामो, शशिका राई, आरिफ राव पुगेका थिए । बलबहादुर राजबंशी, मेचु धिमाल र राम लिम्बू थिए । गीता शर्मा, अन्जु रानामगर र सनिश श्रेष्ठ लाइभ शोमा थिए ।






