भीसीका मित्र

SHARE:

विजय हितान
घाइते सिपाही । दूर देश । रोयल पेभिलियन अस्पातल ब्राइटनमा । यतिबेला मेरो स्वास्थ्यमा केही सुधार आइसकेको थियो । मैले दोभाषे काम पनि गर्थें । आठ क्लाससम्म अंग्रेजी, हिन्दी र उर्दु पढेको काम लाग्यो । मेरो अंग्रेजी भाषा पल्टन जोइन भएपछि अझै निखारिएर आएको थियो । पल्टनमा एक अंग्रेज सेकेन्ड लेफ्टेन्ट साहेबको अर्दली गरेको थिएँ । उसलाई गोर्खाली सिकाएँ, मैले मज्जाले अंग्रेजी सिकेँ ।

म जस्तै घाइते भएर यहाँ ल्याइएका पठान र मुसलमान सिपाही उर्दुमात्रै बोल्थे । गोर्खालीले नेपालीमात्रै । अरु इन्डियनले हिन्दीमात्रै । मैले गोरा मेडिकल स्टाफ र यी सिपाहीबीच दोभाषेको भूमिका निभाउनु पर्‍यो । यसो गर्दा परोपकारी काम गरिरहेको छु भनेर आत्मा सन्तुष्टि मिलेको अनुभूति हुन्थ्यो । यो मेरो सहयोगमा कुनै स्वार्थ जोडिएको थिएन । प्रमोशनको लोभ छैन । नाम र ठूलो दर्जा कमाउनु पनि छैन । बस ! बाउबाजेले गर्दै आएको पुर्खौली पेसा रोजियो । जानेर या नजानेर । बाउआमाले इन्जिनियर, डक्टर, नेता, बिजिनेसमेन हुनपर्छ कहिल्यै भनेन । आफूलाई ती पेसाहरु हुन्छन् भनेर पनि ज्ञान भएन । बन्दुक, परेड, पल्टन र युद्धजस्ता परिबेशमा जन्मियौं, हुर्कियौं । लाहुरेबाहेक के नै हुन लेखेको थियो र ? दुःख त भरियालाई पनि हुन्छ । हलीलाई पनि । यस्तै कुराहरु मनमा खेलिरहन्थे ।

युद्धको मैदानमा साथीहरुसँगै हुन नपाउँदा कताकता आत्माग्लानी नलागेको हैन । फ्रन्टलाइनमा फर्कन्छु भनेकै हो मैले डक्टरलाई । तर के गर्ने ? डक्टरले नै, ‘तिमी अझै फिट भइसकेका छैनांै, टाउकोको चोट अझै राम्रोसँग सन्चो भएको छैन’ भनेपछि मैले के गर्ने ?

सेप्टेम्बर २९ का दिन घाइतेको अर्को एक समूह अस्पताल ल्याइयो । त्यसमा केही गोर्खाली पनि थिए । सबैभन्दा पहिला तिनीहरुलाई नयाँ कपडा फेराइयो । पुरानोलाई जलाइयो । तिनमा जुम्रा परेका हुन्थे । अनी ती घाइतेलाई तातोपानीले नुहाइदिइयो । तत्पश्चात् बेडमा सुताएर आवश्यक उपचार प्रदान गरियो ।

मेरो छेउको बेड हालसालै रिक्त भएको थियो । त्यसमा आसाम मिलिटरी पुलिसका राइफलम्यान जशधोज लिम्बु सुत्थे । बिचरा ! अस्तीमात्रै उपचारको क्रममा निधन भयो । यहाँदेखि केही कोश उत्तरमा पेचहाम भन्ने स्थान छ । त्यहाँ एक हिन्दु समाधीस्थल बनाइदिएको छ आर्मीले । उनलाई त्यहीं लगेर अन्तिम दाहसंस्कार गरेको मलाई झलझली सम्झना छ ।

जशधोजकै खाली बेडमा आज आएका एक घाइते गोर्खालाई राखियो । छिमेकीको नाताले मैले हाम्रो परिचयलाई अगाडि बढाएँ । पत्ता लाग्यो उनी निगालपानी, पाल्पाका रहेछन् । पहिले १ र ३ गोर्खा राइफलका । अहिले युद्धको बेला २ र ३ गोर्खा राइफलमा ट्रान्सफर भएका । उमेरले मभन्दा पाँच छ साल जेठा । नम्बरमा पनि सिनियर । उनी २१२९ म २२९७ ।

उनको कुमको घाऊ पाकेर गनाएको । खुट्टा सुन्निएर हात्तीको खुट्टाजस्तै । तर तिनमा ‘म घाइते भएँ’ भनेर कुनै नैराश्यता नछाएको । बोली टाठो । जोसिला र हट्टाकट्टा शरीर । भनिन्थ्यो, औसत गोर्खालीको हाइट पाँच फुट दुईं इन्च । तर उनी यस्तै हुन पर्थ्यो पाँच फुट पाँच इन्च । फ्लान्डर फिल्ड अवस्थित लुजको लंडाइमा उनलाई कुम र खुट्टामा चोट लागेपछि अस्पताल ल्याइएको थियो । घाइते भए पनि उपचारपश्चात् म उनीभन्दा धेरै राम्रो भइसकेको थिएँ । उनलाई रेखदेख गर्ने र व्हिलचियरमा हालेर घुमाउने जिम्मा मलाई दिइयो ।

अक्टोबर लाग्यो । दिन खुम्चिन रात तन्किन सुरु गरे । रापिलो घामले गालामा यदाकदा मात्रै सेक्थ्यो । भाग्सुमा ताप्न पाइने घाम यहाँ छाइदिएको भए यो कठ्याङ्ग्रिएको शरीर कति तातेर आउँन्थ्यो ! सोन्च्थें, जति कलावतीबाट छुट्टिएर यतिका टाढा भएर बस्न परेको छ त्यो भन्दा अधिग भागसुको घामबाट दूर हुनुपरेको छ ! ब्राइटनको सामुन्द्रिक चिसो हावासँगै मेरो मन गाउँघरतिर बहकिन्थ्यो । दसंै आउन केही हप्ता बाँकी थियो । घरकाले सम्झेहोलान् घरीघरी घुटुक घुटुक बाडुल्कीले सताउँथ्यो ।

एकदिन सराकको बादललाई पन्छाउँदै घाम निस्कियो । लन्च खाएपछि उसलाई व्हिलचेयरमा हालेंँ । अनि गार्डनमा निस्कियौंं । पल्टन–पल्टनका बिरामीहरु झुन्डझुन्डमा बसेका थिए । कोही बाघचाल, कोही तास खेल्दै । अस्पताल परिसरभित्र धुम्रपान मनाही भए तापनि कोही लुकेर चुरोट बिंडी तान्दै थिए । चिसोबाट थाप्लोलाई जोगाउन गोर्खालीले पन्जाबीले जस्तै सेता फेटा कुटेका थिए । कोही भने देब्रेतिर पल्टाइएको गोर्खा ह्याटमा देखिन्थे । अर्को समूह थियो गोर्खाली जस्तै देखिने गढ्वाली । तिनीहरु पनि कसैले गोर्खा ह्याट लगाएका थिए । तर तिनको ह्याट दाइने पल्टाइएको हुन्थ्यो ।
बगानमा हरियो दुबो कार्पेट जस्तै बिछिएको थियो । हरिया आलङ्कारिक बुट्ट्यान, सलबलाउँदा झार र मगमगाउँदा पूmलहरुले त्यो बाह्य दृश्य स्वर्गझैं लाग्थ्यो । म एउटा काठको बेन्चमा बसेँ, उनी व्हिलचेयरमै । मेरा आँखा उक्त बेन्चमा टाँसिएको स्यानो मेटल प्लेटमा परे । स्वर्ण अक्षरमा लेखिएको थियो–
Robin D= Anderson
24 August 1866- 08 January 1915
In my heart your memory lingers,
lAways tender, fond and true;
There’s not a day, dear father, I do not think of you=
त्यो देखेर मैले मनमनै सोंचे– म पनि यतै मरेर गएँ भने मेरा छोराछोरीले यस्तै समवेदनाका शब्दहरु कहाँ लेख्लान् ?

युद्धको विभत्स भोगाइले पीडित बनिसकेको मेरो दिल एकचोटी संवेदनशील बनेर आयो । लामो श्वास फेरें । आकाशतिर हेरेर एकचोटी भगवानको नाम लिएँ । लुजको लडाइँमा उनी कसरी घाइते भएका रहेछन् भन्ने कुरा जान्न मलाई कौतुहल जागेर आयो । अनि त उनलाई सोधेँ ।

उनले आफ्नो देब्रे कुमको घाउमा लगाएको मलमपट्टिमाथि दाहिने हात राख्दै युद्ध वृतान्त सुनाउन थाले– २१ सेप्टेम्बर १९१५ का दिन आर्टिलरी, मेसिन गन र ट्रेन्च मोर्टार प्रक्षेपण गरियो । चार दिनसम्म लगातार । सेप्टेम्बरभरी सफा आकाश रहे तापनि २४ तारिखको दिन मौसमले धोका दियो । पानी पर्ने, तुँवालो लाग्ने, हावा चल्ने गर्‍यो । ग्यास आक्रमण गर्ने भनेर तयार थियौं । ब्रिटिसको यो प्रथम ग्यास आक्रमण हुन्थ्यो । उल्टो दिसाको हावा बहकाइले स्थगित गर्न पर्‍यो । ट्रेन्चमा एक फुट पानी जम्यो । बिहान चार बजेतिर जर्मनको बम आक्रमणले हाम्रा ग्यासका सिलिन्डर पड्के । ग्यासले उल्टै हामीलाई नै असर पार्‍यो । एकजना सिलिन्डरको नजिकै हुनाले ग्यास जती उसको मुखमा ह्वास्सै पस्यो । आँखा चिम्म गरेर छट्पटाउन लाग्यो । आमा आमा भन्दै भुइँमा घोप्टोमुन्टो गरेर लड्यो । मेरो पालो उसकै फसएड किटबाट फिल्ड ड्रेसिङ झिके । त्यसमाथि उसैलाई मुत्न लगाएन । अनि मुतले भिजेको फिल्ड ड्रेसिङले उसको मुख बेरिदिएन । क्याजब्याक टोली आएर स्ट्रेचरमा हालेर लगे । तर पछि पत्ता लाग्यो बिचरा बाँचेनछ ।

त्यसै घटनामा कति गोरा सिपाही आफ्नो मोजाले मुख छोप्दै भागेको देखेँ । कति पन्जाबी सिपाही पगरीले नाकमुख ढाकेर ट्रेन्चको कुनामा मुन्टो धसाएर बसेको पाएँ । कति कहालीलाग्दो थियो त्यो क्षण !

पूर्वनिर्धारित आक्रमण अगाडि बढाइयो । हाम्रो २र३ गोर्खा र लेस्टर पल्टनलाई जर्मन लाइन आक्रमण गर्न पठाइयो । तीन घण्टाको भीषण लडाइँपछि सियो साहेब ओम्स्बीले जर्मन ट्रेन्चमा बेलायती झन्डा फराएको देखेछन् । हाम्रा सैनिकहरु घेरामा परे होलान् भनेर सुबेदार भिम्सिङको नेतृत्वमा अल्फा कम्पनी उद्धार गर्न पठाइयो । म पनि त्यसै समूहको एक सदस्य थिएँ । जर्मन ट्रेन्च नजिक पुग्दा हाम्रो आक्रमण असफल भएको पाइयो । दुस्मनको गोलीले हाम्रा साथीहरु मारिएका र घाइते भएका रहेछन् । बचेँका साथीहरु ट्रेन्चमा लुकिरहेका भेटाइयो । तिनैले रहेछ झन्डा देखाएका ।

उद्धार टोलीलाई नै खतरा हुने देखेर हेड्क्वार्टरबाट पिछाडी हट्ने आदेश आएछ । तर त्यसभन्दा अघि नै म क्रोलिङ गर्दै जर्मन तार नाघेर ट्रेन्चको मुखमै पुगिसकेको रहेछु । फिर्ता हुनु भन्ने हुकुम मैले सुन्न सकिनँ । ट्रेन्चमा लेस्टर पल्टनको एक सिपाही नराम्रो घाइते अवस्थामा छटपटाइरहेको भेटेँ । नाम केहो भनी सोधें ।

‘बिल, बिल किट्ले’, सासै सासले उसले भन्यो ।
‘फिक्कर नगर । म तँलाई जसरी भए पनि सुरक्षित स्थानमा पुर्‍याउँछु ।’, मैले सान्त्वना दिँदै भनेँ ।
‘हिड्न सक्छस् ?’ मैले सोधें । उसले सक्दिनँ भन्ने टाउकोले सङ्केत गर्‍यो ।

दुइटै खुट्टाबाट रगत आएको थियो । भाँचिएको थियो क्यारे । एउटा खुट्टा अली बलियो देखिन्थ्यो, अर्को खुट्टा लरङलरङ । फायरम्यान क्यारि गरेर बोक्ने प्रयास गरें । साले तँ म भन्दा अग्लो र गरुङ्गो रहेछ । नुन र घाँसका भारी बोकेको मेरो पिठ्युँ कामै लागेन ।

म उसलाई उठाउन असमर्थ भएको देखेर उसले भन्यो, ‘भो सक्दैनस् । दुःख नगर । बरु तेरो ज्यान जोगा । मलाई छोड्दे एक्लै । म मोरे मोर्छु ।’
मैले भने, ‘तँलाई बचाएरै छोड्छु । तँलाई केही भएको छैन । बरु कस्ट काटेर तैंले पनि अलिकती बल गर ।’

ट्रेन्चको भित्तामा खुकुरीले चारवटा खोपी खनेर सिँढी बनाए । अनि उसको दुबै काखीमुनी पिछाडीबाट मेरा बाहु घुसारेर उसको खुट्टामा उब्ब्याएँ । उसलाई बल गरेर ट्रेन्चबाट माथि निस्कन भने र पिछाडिबाट उसको पुठोमा धकेलिदिएँ । यसरी ट्रेन्चको ढिकमा ऊ उक्लन सफल भयो । खुल्ला ठाउँ भएकोले दुस्मनले सजिलै देख्न सक्थे । एक दुइवटा दुस्मनको ट्रेन्च मोर्टर पनि हाम्रो छेउछाउनमा बर्सिँदै थिए । घाम पश्चिम क्षितिजमा डुब्दै थियो ।

जोखिम नमोलौं होला भनेर ट्रेन्चभित्र झर्‍यौं । त्यो रात उसैसँग बिताएँ । उसको पोचेसमा बिस्कुट र टम्लेटमा पानी रहेछ । त्यही खाएर रात काट्यौं ।
२६ तारिख बिहान तुवाँलोमा लपेटिएको थियो लुज । त्यसै मौका पारेर उसलाई घिसार्दै जर्मन तारबाट बाहिर ल्याउन सफल भएँ । त्यसपछि दुलहीलाई बोकेजस्तै पिट्ठयुमा बोकेर धेरै वोर ल्याइ पुर्‍याएँ । अनि तोपले पारेको खाल्टोमा उसलाई राखेर फेरि म अरुलाई उद्धार गर्न गएँ । तुवाँलोको फाइदा लिँदै फेरि जर्मन ट्रेन्चमा गएर आशबहादुर गुरुङ र दिलबहादुर रानालाई पनि क्रमशः उद्धार गरें । अनि चौथोपल्ट माइक भन्ने गोरालाई पनि ट्रेन्चबाट झिकेर ल्याएँ ।

यतिबेला दिउँसोको बाह्र बजिसकेको थियो । तुवाँलो फारेर आकाश खुल्ल भइसकेको थियो । एउटा चुइँया गर्दै ट्रेन्च मोर्टार मेरै अगाडि ड्याम्म पड्क्यो । त्यसको चुइन्टाले मेरो कुमको मासु लगिदियो । भुइन्मा कभर लिन हाम्फाल्दा खुट्टा भाँचियो ।

यतिबेला सराकबाट घाम बादलभित्र ओझेल पर्दैथियो । उनको यो सनसनीपूर्ण घटना श्रवण गरेपछि मैले भने, ‘कुलबहादुर थापा दाइ, त्यसो भए तपाईंले त भीसी पाउने साहसिक कार्य पो गर्नु भएछ !’ कुलबहादुरले लामो स्वास तान्दै भने, ‘होला । कम्पनी ओसीले रिपोर्ट लेखेर माथि बढाएको भनेको सुन्छु । गोर्खालीको पहिलो भीसी हुने सपना देख्दैछु । हेरौं के हुन्छ ? जे होस्, मित्रसेन, तिम्रो मुखमा घ्यु भात पसोस् !’ त्यसपछि मैले व्हिलचेयर धकेल्दै हामी दुबै अस्पतालको सङ्घारभित्र पस्यौं ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!