- एटा संवाददाता
काठमाडौं । ड्रिमर्स व्यान्डबाट परिचित गायिका पवित्रा गुरुङले स्वर भरेको मौलिक गीत चुट्का केही समयअघि सार्वजनिक भएको थियो । गायक तथा संगीतकार आरके (रामकुमार) गुरुङको प्रस्तुति रहेको उक्त ‘बारपाक सुलीकोट’ गीतमा पवित्राले स्वर दिएकी हुन् । केही वर्षदेखि संगीत शिक्षा र गायनलाई निरन्तरता दिँदै आएकी पार्वती अब ड्रिमर्स व्यान्डबाट कभर सङ निकाल्ने तयारीमा पनि छिन् । कभर सङ र समय एकीन गर्न बाँकी रहेको उनको भनाइ थियो ।

नेपालको केन्द्रीय राजधानी काठमाडौंसँग गाँसिएको नुवाकोट जिल्लाको दुप्चेश्वर गाउँपालिका गोल्फुभञ्ज्याङ गुरुङ गाउँमा जन्मिएकी पवित्रा अचेल शास्त्रीय संगीत सिकिरहेकी छन् । काठमाडौंमा रहेको गन्धर्व संगीत विद्यालयमा चौथो वर्षमा अध्ययनरत छिन् उनी । संगीत अभ्यासमात्रै नभइ गुरु थापेर अघि बढ्दा राम्रो हुने सोच उनको छ । एभरेस्ट टाइम्ससँग संक्षिप्त कुराकानीमा भनिन्, ‘शास्त्रीय संगीतको आठ वर्षको कोर्स समयले साथ दिए पूरा गर्ने सोचमा छु ।’ उनको गुरु चन्दनकुमार श्रेष्ठ हुन् ।

सानैदेखि संगीत क्षेत्रमा झुकाव राख्ने पवित्राले औपचारिक शिक्षा स्नातक गरेकी छन् । त्यससँगै संगीत शिक्षालाई जोडेकी उनले सहितका साथीहरु ड्रिमर्स व्यान्डको अफिसियल पहिलो पप प्यार्टनको ‘नक्कली कान्छी’ गीत २०७६ सालमा निकालिन् । उनको व्यान्डमा रिया मानन्धर, महेश शाक्य र मदन शाक्य छन् ।
विविध विधाका गीत गाउन मन पराउने नुवाकोटे चेली पवित्राले आरसी रिमालसँग मिलेर लोकदोहोरी पनि गाइन् । जसको नाम हो, ‘मायाको चिनो’ ।
सो गीतको कम्पोज र लेखन फिन्जु पाख्रिनले गरेका हुन् भने स्वर आरसी र पवित्राको । उनले स्वर दिएको ३/४ वटा गीत भने सार्वजनिक हुन बाँकी छ ।






