एटा संवाददाता
बेजिङस्टोक । नेपालबाट बेलायतको सांगीतिक भ्रमणमा रहेका भ्वाइस अफ नेपाल सिजन–२ समूहलाई वनेम परिवार यूके, तुम्बापो समाज यूके, शुभचिन्तक तथा शुभेच्छकहरुले एक कार्यक्रमबीच सम्मान गरेका छन् ।
विश्वभर सांगीतिक प्रस्तुति दिनेक्रममा बेलायत आएका सो समूहलाई गत १५ मार्च शनिबारका दिन बेजिङस्टोकमा एक कार्यक्रम आयोजना गरी सम्मान गरिएको हो ।

कार्यक्रममा भ्वाइस अफ नेपाल सिजन–२ समूहका विबजेता राम लिम्बु लगायत उनको समूहमा रहेका विकास लिम्बु, याञ्की याल्मो, अञ्जु राना मगर, सन्नि श्रेष्ठ र कार्यक्रम उद्घोषक सुशील नेपाल समेतलाई सम्मान गरिएको थियो ।
भ्वाइस अफ नेपालकी शुभचिन्तक पुनम वनेम नेम्बाङले सबै कलाकारलाई खादा ओढाई व्यक्तिगत तर्फबाट उपहार पनि प्रदान गरेका थिए भने तुम्बापो समाज यूकेका अध्यक्ष दिपक तुम्बापोले संस्थागत रुपमा पुष्पा गुच्छा र नगद उपहारसहित खादा ओढाई सम्मान गरिएको थियो । त्यस्तै, वनेम परिवारको तर्फबाट शमसेर वनेमले राम लिम्बुलाई कदर पत्रसहित सम्मान गरेका थिए ।
गत ६ मार्च साँझ अल्डरसटमा, ७ मार्च साँझ बेजिङस्टोक, १३ मार्च साँझ ह्यारोमा १४ मार्च साँझ स्वीन्डनमा आफ्नो प्रस्तुति दिएका सो समूह १७ मार्च मंगलबार नेपाल फर्कने भएका छन् ।
स्मरण रहोस्, यसअघि गत वर्ष भ्वाइस अझ नेपाल सिजन–१ का सांगीतिक समूहले पनि बेलायतमा आफ्नो प्रस्तुति दिएका थिए ।






