नेपालको आर्थिक समृद्धिका लागि एउटा आधार हुन सक्छ भन्दै संघीय संसद्मा गाँजा खेतीलाई नियमन तथा व्यवस्थापन गर्न बनेको विधेयक दर्ता गरिएको छ । नेकपाका सांसद एवं पूर्वकानुनमन्त्री शेरबहादुर तामाङले गाँजा खेतीसम्बन्धी विधेयक फागुन तेस्रो हप्ता प्रतिनिधिसभामा दर्ता गराएका हुन् । गाँजालाई लागूऔषधको रुपमा होइन, औषधिको रुपमा प्रयोग गर्न पाउनुपर्छ भनेर संसद्मा दर्ता भएको गैरसरकारी विधेयकले नेपाली समाजमा केही बहस सिर्जना गराइदिएको छ । गाँजा खेती विधेयकलगायत विषयमा नेकपा सांसद एवं पूर्वमन्त्री शेरबहादुर तामाङसँग एभरेस्ट टाइम्सले गरेको कुराकानी :

गाँजा खाएर शाखासन्तान बिग्रियो भनिराखेका बेलामा प्रतिबन्ध लगाउनुहुन्न, यसको खेतीलाई नियमन र व्यवस्थापन गर्नुपर्छ भनेर गैरसरकारी विधेयक प्रतिनिधिसभामा दर्ता गर्नुभयो, जरुरी थियो र ?
कानुनी ढंगले गाँजा खेतीलाई नियमित, व्यवस्थित नगर्दाखेरी उपद्रो भइराखेको छ । नेपाली जनताको अर्थतन्त्र उपद्रो भयो । हामी धेरै पछाडि पर्यौं । नेपाल राष्ट्रकै अर्थतन्त्र धेरै पछाडि पर्यो । अविकासको दलदलको खाडलमा हामी जाकिएका छौं । गाँजासँगै लागूऔषध व्यापारीहरु देखापर्दैनन्, भित्रिरुपमा कारोबार गरेर अर्बौं नाफा गर्नेहरु पनि छन् । त्यसले हाम्रा राज्यका धेरै अंगहरुलाई इन्फुलेन्स गर्छन् । त्यस्तामार्फत लागूऔषध सेवनकर्ताहरुलाई अरु लतमा फसाइदिने र अरु लागूऔषध बेच्ने काम भइरहेको छ । कतिपय लागूऔषध एकपटक लिएपछि जिन्दगीभर छोड्नै सक्दैन । त्यसलै अहिले उपद्रो भइराखेको हो । त्यो उपद्रोलाई व्यवस्थित गरौं, मुलुकको आर्थिक समृद्धि बनाऔं । र, जनता पनि धनी बनाऔं भनिराखेका छौं ।
गाँजा खुला गर्दा आर्थिक वृद्धिमा प्रभाव पार्ने वैज्ञानिक कारणहरु पत्ता लगाउनुभएको छ ?
हामी रिसर्च बेसमै भनिरहेका छौं । ठूलो टिम हामी रिसर्चमा लाग्यौं । दसौं वर्षदेखि आएको निष्कर्ष र पुष्टि हो । त्यही रिसर्च बेसमा अन्य मुलुकहरु पनि खुला गर्दै लगेको छ । देशमै रोजगारी दिन, उत्पादन बढाउन नसकेर हामीले नेपाली युवाहरुलाई खाडीमा पठायौं । स्थिति एकदमै दर्दनाक छ । जतिबेला काम गर्न सक्ने क्षमता छ, परिवारसँग रमाइलोसँग बाँचौं । आफ्ना बाबुआमा, छोराछोरी, श्रीमतीसँग रमाइलो गरी दिन काटौं भन्ने बेलामा विदेशमा गएर काम गरिराख्नुपरेको छ । र, फर्केर आउँदा कतिपयका घरपरिवार नै विखण्डित भइराखेको हुने, कतिपय आकाशमा उडेर जाने, बाकसमा प्याक भएर आउने पनि देखिन्छ । विदेशमै मृत्युवरण गर्नुपर्ने अवस्था छ । राज्यले रोजगारी दिन नसकेरै हो । यदि राज्यले रोजगारी दिन सकेको भए ती युवाहरुको श्रम यही मुलुकमा खर्च हुन्थ्यो । मुलुक पनि समृद्ध हुन्थ्यो ।
अलिअलि मान्छेमा भ्रम छ । लामो समय गाँजा लागूऔषध हो भनेर हामीले कानुन बनायौं । ‘यसलाई छुनुहुँदैन, खायो भने गजडी हुन्छौं है’ भन्ने खालका शब्द समाजमा प्रयोग भयो । लामो समय प्रतिबन्धित गरिएको कारण यो त छुन नहुने चिज पो हो कि, खायो भने जेल पनि पर्छ । यसकारणले गाँजा भन्नेबित्तिकै नकारात्मक चिज भन्ने मान्छेहरुमा भ्रम छ । कोही सदस्य लागूऔषध खाएर हिँडिराखेको छ त्यस्ता घरपरिवार अत्यन्त संकटग्रस्त हुन्छ । ती व्यक्तिले गाँजाबाहेक अरु लागूऔषध पनि खाएका कारण परिवार समस्यामा परेको हो । गाँजामात्रै खानेले काहीं नोक्सानी गराएको छैन, खाने व्यक्तिलाई नोक्सानी पनि भएको छैन । गाँजा खाएर कोही मान्छे अहिलेसम्म मरेको रेकर्ड पनि छैन । गाँजाबाट यो रोग लाग्यो भन्ने रेकर्ड पनि छैन ।
रिसर्चका आधारमा एकजना विद्वान्ले बोलेका छन्, ‘गाँजा लागूऔषधको इन्ट्रान्स होइन, एक्जिटचाहिँ हो ।’ कसैलाई नियमित रक्सी खाने लत छ भने नियमित गाँजा सुरु गरिदिनुस् । उ रक्सीको लतबाट छुट्छ । मान्छेलाई सुर्ती खाने लत छ । त्यसलाई छुट्याउने हो भने गाँजाबाट छुट्याउनुस् । खोकीका लागि पनि कतिपय मान्छेले लागूऔषध प्रयोग गर्छन् । रंगहरु प्रयोग गर्छन् । खैरो हिरोइन, सेतो हिरोइन, कोकिनहरु लागूऔषधका रुपमा प्रयोग गर्छन् । यस्ता लतहरु छुट्याउने हो भने डाक्टरको प्रेस्किप्सन लिएर नियमित गाँजा सेवन गर्नुस्, छुट्छ । रेकर्ड र रिसर्चले त्यही देखायो ।
गाँजा खुला गर्दा लागूऔषधमा फस्ला भनेर थुप्रै अभिभावकमा डर देखिन्छ नि ?
मेरो विनम्र अनुरोध छ, डराउनै पर्दैन । लागूऔषधबाट छुटाउने औषधि गाँजा हो । परिवारमा कुनै व्यक्तिले गाँजा खाएर समस्या निम्तिएको होइन कि गाँजाबाहेक अरु लागूऔषध प्रयोग गरिएकोले हो । यसबाट छुट्याउन डाक्टरको निगरानीमा नियमित गाँजा ख्वाइदिने हो भने अरु सबै छुट्छ ।
केही समयअघि तत्कालीन राज्यका प्रमुख र परिवारले संयुक्त रुपमा गाँजा सेवन गरेको तस्बिर सार्वजनिक भएको थियो, के त्यो लतबाट छुट्कारा पाउनकै लागि होला ?
कुनै पनि चिज प्रयोग कि दुरुपयोग गर्ने भन्ने हो । प्रयोग गर्नुस् सबै औषधि हो । दुरुपयोग गर्नुस् सबैथोक विष हो । चिनी पनि विष हो । भातै विष हो । तपाईं टन्न भातैभातै खानुस्, १५ दिनपछि चेक गर्दा सुगर लागिराखेको हुन्छ । समस्या छ । चिनी खाएर पनि सुगर रोग लाग्छ । बढी खायो वा दुरुपयोग गर्यो भने कुनै पनि चिजले राम्रो गर्दैन । तर, त्यसलाई मात्रा मिलाएर खानुस्, राम्रो गर्छ । त्यसैले गाँजाको विषयमा पनि दुरुपयोग होइन, प्रयोग गर्ने हो ।
आर्थिक पाटोमा भन्दा नेपालको प्राकृतिक वातावरणमा गाँजा जति पनि उत्पादन भा’छ । इतिहास हेर्दा नेपालकै गाँजाको बीऊ अरु मुलुकहरुमा पुगेको देखिन्छ । प्राकृतिक रुपमा नेपालबाटै गाँजा सुरुवात भएको देखिन्छ । गाँजा लाखौं, करोडौं वर्षअघि डेभलव भएको हो । यो वनस्पतीमा औषधीय गुण र त्यो नेपालमा उत्पादन हुने नम्बर वान गाँजा हो । औषधीय गुण हुने यो गाँजा र उत्पादनलाई अन्तर्राष्ट्रिय बजारमा लैजानुपर्छ ।
गुणस्तर परीक्षण भएको छ ?
थकाली खानाको परीक्षण हुन्छ ? हुँदैन । तर, पनि थकाली भान्छाको खाना मीठो हुन्छ भन्ने मान्यता पाइन्छ । किनभने एउटा ब्रान्डको रुपमा विकसित भयो । बाहिर बोर्डमा थकाली भान्छाघर भन्ने हुन्छ तर साहु क्षत्री, बाहुन पनि हुनसक्छ । थकाली ब्रान्ड भएकोले बोर्ड त्यस्तो लेखेर बेच्ने गरिन्छ । परीक्षणले पनि देखायो, नेपालको गाँजा पनि नम्बर वान हो । नेपालको गाँजा विश्वबजारमा पुर्याउनलाई केही समस्या छैन । आर्थिक हिसाबले हेर्दा हामीले पनि क्याल्कुलेसन गरेका छौं, क्याल्कुलेटरहरुमा शुन्य अट्दैन । त्यत्ति ठूलो आर्थिक सम्भावना छ गाँजाबाट ।
हाम्रा छिमेकी चीनले गाँजाबाट तेल उत्पादन गरिराखेको छ । त्यस्तै भारतले पनि । हामीले गाँजा बेस्सरी उत्पादन गरेमा कहाँ बेच्ने भन्ने पनि होला ?
गाँजाका लागि नेपालको वातावरण नै उपयुक्त हो । अरुले फार्ममा बनाए होलान् । मानौं, नेपालको लोकल कुखुरा र बोइलर कुखुराको मासु खानु फरक स्वाद छ । आखिर कुखुरा त कुखुरा नै हो नि ! गाँजा पनि त्यही हो । नेपालको हावापानीमा उत्पादन हुने फरक चिज हो । यहाँको हावापानीमा उत्पादन हुने गाँजा विश्वका लागि नमुना हो, नम्बर वान हो । अरु मुलुकले फार्ममा विकास गर्ला । भारत, अमेरिकाले विकास गर्ला, केही फरक पर्दैन । नेपालकै राम्रो हो । किनभने हावापानी भनेको यस्तो चिज हो कि, यार्चा गुम्बा अमेरिकामा खोजेर पाइन्छ ? पाइँदैन नि ! एकसिंगे गैंडा ब्राजिलमा खोजेर पाइन्छ ? पाइँदैन नि ! त्यो नेपालमै पाइन्छ ।
नेपालको हावापानीमा मात्रै पाइने जुन चिजहरु छन्, तीमध्ये गाँजा पनि नम्बर वान हो । यो गाँजाका लागि बजार खोजिरहनु पर्दैन । नेपालमा उत्पादन हुन्छ रे भन्ने भएपछि नेपालमै लिन आउँछन्, विश्वबजारमा यसको खपतको दर हामीले रिसर्च गरेका छौं । भर्खरै विधेयक दर्ता गरेका छौं । विधेयक संसद्बाट पास भएर किसानले उत्पादन गरेर विश्वबजारमा पठाउन थालेपछि नसोचेको परिणाम आउनेछ । अहिले छलफलका क्रममा मान्छेहरुलाई यसले अलि बढी कुरा गर्यो भन्ने लाग्न सक्छ । तर, नेपाली किसान करोडपति हुन समय लाग्दैन ।
उखु, धान लगायतमा किसानले सिधैं फाइदा लिन नसकिरहेको र विचौलिया मोटाइरहेको अवस्थामा गाँजा किसान रातारात करोडपति हुन्छ
भनेर पनि कसरी विश्वास गर्ने ?
कानुनी पाटोमा जाँदा हामीले संसद्मा दर्ता गरेका विधेयकमा सबै कुरा उल्लेख गरेका छौं । विचौलिया नलागोस् । बहुर्राष्ट्रिय कम्पनी आएर कब्जा नगरोस् । तस्कर नलागोस् । यी कुरामा हामीले राम्रै ख्याल पुर्याएका छौं, विधेयकमा । विधेयकमा लेखिएअनुसार किसानले उत्पादन गर्ने, राज्यको एउटा बोर्ड हुन्छ । बोर्डले कलेक्सन गर्छ । किसानका उत्पादनको मूल्य तोकिन्छ, मूल्यमा कुनै शंका गर्नुपर्दैन । कुनै किसानको ४/५ रोपनी खेत छ भने पनि ८/१० लाख रुपैयाँ कमाउन कुनै गाह्रो हुने छैन । यसको बजार यस्तो छ ।
बिचौलिया नलागोस् भनेरै हामीले विधेयकमा लेखेका छौं, जग्गाको जोसित लालपूर्जा छ, उसैले खेती गर्नुपर्छ । उत्पादनको लाइसेन्सका लागि उसैले निवेदन दिन्छ । अर्को कुरा, उसको सबै खेतबारीमा गाँजा लगाउन दिन्छौं त ? त्यो पनि हैन, तोकिएर दिन्छौं । थोरै जमिन छ, धेरै प्रतिशत खेती गर्न दिन्छौं । धेरै जमिन छ, थोरै प्रतिशतमा खेती गर्न दिन्छौं । ताकि सबै मान्छे समान आर्थिक ढंगले माथि आउन् ।
भनेपछि चाहेजति उत्पादन गर्न नपाउने ?
भनौं न, अहिले हामी खाद्यान्नमा विदेशको भर परिराखेका छौं । कुनै बेला चामल निर्यात गथ्र्यौं यो मुलुक । अहिले हामी चामल आयात गरेर खाइराखेका छौं । तरकारी आयात गरिराखेका छौं । त्यसैले तरकारी, चामल, मकै आपैंmले उमारेर खानुपर्यो । जहाँ गाँजा लगाइएको हुन्छ, त्यहाँ अर्गानिक उत्पादन हुन्छ । अरु किराफट्यांग्रा लाग्दैन । त्यस्ता किसानले तरकारी लगायत अन्य उत्पादन गरेर खाना सकोस् । खाद्यान्नका लागि आफ्नै बारीमा उत्पादन गरोस् ।
पैसाका लागि निश्चित जमिनमा गाँजा लगाउने हो भनेर दिन्छौं । त्यो पैसाबाट उसले जीवनका अन्य आवश्यकताहरु पूरा गर्छन् नि ! हेर्दा हेर्दा करोडपति भए पनि प्रत्येक नेपाली कार किन्ने अवस्थामा पुगौंला । त्यतिबेला हामी भनौंला, इलेक्ट्रिक कारमात्रै दिउँला । इलेक्ट्रिक कारको कारखाना नेपालमै खुल्ला । मान्छेहरु गाउँमै पैसा कमाउन थालेपछि किन सहर आउनुपर्यो । र, सहरका मान्छेले गाउँकालाई बेच्न थाल्नेछन् । कसैले मोटरसाइकल बेच्ला, कसैले घर बनाउने डन्डी बेच्ला । कसैले सिमेन्ट बेच्ला । त्यो गाउँमै जान्छ । त्यसकारण मान्छेहरु क्रमैसँग आर्थिक हिसाबले उन्नतितर्फ जानेछन् ।
ब्राजिलको फापर ल्याएर खाइराखेका छौं, चामल विश्वका विभिन्न कुनाबाट ल्याएर खाइराखेका छौं, कपडा पनि विभिन्न मुलुकबाट आयात गर्छौं । फेरि नेकपाकै सांसदबाट सपना देखाउने काम भयो आरोप लाग्दैन तपाईंलाई ?
पटक्कै उठ्दैन । यो नेकपाकै मात्र विषय होइन । शेरबहादुर तामाङले विधेयक दर्ता गर्दा मेरोमात्रै विषय हुँदैन । शेरबहादुर तामाङ नेकपाको मान्छे भएर, नेकपाको मात्रै विषय होइन । यो आमनेपालीको विषय हो । यसमा विरोध गर्नुपर्ने कारण नै छैन । अहिले सबै जनताले समर्थन गरिरहनुभएको छ । नेपाली जनतालाई गरिब, शोषित, पीडित । जो लाखौंको संख्यामा विदेशमा गएर काम गर्छ । विदेशको चर्को तातो घाममा काम गरिरहेका छन् । उनीहरु नेपालमा परिवारसँग बसेर वर्षमा दुई/चार लाख कमाउन यहीं सकिन्छ भने किन बाहिर जाने । त्यसो भएकोले यो सबै नेपाली जनताको विषय हो । राष्ट्रको विषय हो ।
नेपालको अर्थतन्त्रको आधार के ? केही पनि छैन । हामी भन्सारमा जम्मा भएको पैसालाई कर उठ्यो भनेर सलाम ठोक्नु पर्या छ । भन्सारमा धेरै पैसा उठ्यो भनेर भन्सार हाकिमलाई तक्मा लगाइरहेका छौैं । जति धेरै भन्सारमा पैसा उठ्यो, त्यत्ति धेरै पैसा बाहिर गयो भन्ने प्रमाणित हुँदैन र ! नेपालको पैसा बाहिर गयो, सामान ल्याएर खाइराखेका छौं । अनि त्यसबाट अलि कति पैसा उठाएर राज्य विकास हुन्छ ? हुँदैन । नेपाली जनतालाई सरकारले कर बढाइरहेको छ । कर बढाउने होइन । पैसा कमाउने आधार खडा गरिदेउ न, जनताले कर त्यत्तिकै तिर्छ । पैसा कमाउने आधार के हो यो मुलुकको ? कुनै बेला गलैंचा थियो, हामीले सिध्यायौं । पश्मिना थियो, त्यो पनि सिध्यायौं । अहिले अलि अलि ह्यान्डीक्राफ्ट जान्छ । तर, नेपालको इकोनोमिक आधार के ? केही पनि छैन ।
अर्थतन्त्रको बेस नभएसम्म कुनै पनि मुलुक अगाडि बढ्दैन । अहिलेसम्म नेपालको अर्थतन्त्रको बेस के हो भन्ने नभएकोले हामी समस्यामा छौं । जस्तो, चाइनाले डेल्ली युजका सामानहरु विश्वभरी पठाउँछ, उसको बेस त्यही हो । जापानले इलेक्ट्रोनिक सामानहरु उत्पादन गर्छ र अरु देशहरुमा पठाइदिन्छ । अरबका देशहरु तेल छ, बेच्छ । दक्षिण अफ्रिकाका देशहरुमा खानी छ, सुन बेच्छ । अमेरिकाजस्ता देशहरु कृषि उत्पादनमै अगाडि छ । विश्वका ४० प्रतिशत मकै अमेरिका एक्लैले उत्पादन गर्छ । त्यसबाट लुब्रिकेन्ट बनाएर विश्वभरी फैलाउँछ र बेच्छ । धनी हुन्छ । अहिलेसम्म नेपालको बेस नभएकोले गाँजा एउटा यस्तो आइटम हुन सक्छ, यसले नेपालको अर्थतन्त्रको जग बसाउने छ । र, यसको उत्पादन र बजार व्यवस्थापन भइसकेपछि अहिले १५ खर्ब रहेको नेपालको वार्षिक बजेटलाई दुई/तीन गुणा बढी दुई/तीन वर्षभित्र
बढाउन सक्छौं ।
गाँजाबाट तेल, कपडा उत्पादन गर्ने कुरा होला । सँगै जोडिएर चरेसको कुरा आउँला । प्रतिबन्धित चरेस पनि खोल्ने ?
गाँजाको मुख्य उत्पादन चरेस हो । त्यसमा टिएचसी, सीबीडी मुख्य तत्व हुन्छ । त्यसबाहेक पनि ६ सयभन्दा बढी औषधीय गुण छ । अन्तर्राष्ट्रिय बजारमा औषधि निर्माणका लागि चरेस लान्छन् । सिंहदरबार वैद्यखानासँग गाँजासम्बन्धी धेरै औषधि बनाउने फर्मुला छ । त्यसो भएकोले त्यसबाट पनि बनाउन सकिन्छ । मनोरञ्जनका लागि पनि अरु थुप्रै देशले लैजान्छ । ५० राज्य रहेको अमेरिकामा ३५ राज्यले खुला गरे । त्यसमा १२ वटा राज्यले मनोरन्जन पनि नि:शुल्क गरिदियो । त्यसमा पनि राजधानी वासिङटन डिसीसमेत ओपन छ । क्यानाडाले पूर्ण रुपमा खुला गरेको छ । तर, नेपालमा गाँजा खाएर बिग्रने हो कि भन्ने भ्रम नपाल्नुस् । हामीले विधेयकमा उत्पादन, बेच्ने विषयलाई प्राथमिकता दिएका छौं । मुख्य उत्पादन टिएचसी र सीबीडी भ्यालु भएकोलाई चरेस भन्छौं । त्यसको उत्पादनका लागि स्वीकृति लिनुपर्छ । अरु प्रोडक्टको हकमा टिएचसी, ०.२ कमको हकमा फार्मिङ दिनका लागि कुनै स्वीकृति लिनु पर्दैन । ०.२ टिएचसी भएको जातको कुनै भाङजस्ता चिज बारीमा रोप्नुभयो भने गाँजा पो लगाएछ भनेर फाँट्दै हिँड्नु पर्दैन । किनकि त्यसबाट कपडा बन्छ । त्यसको गेडाबाट तेल हुन्छ । त्यसबाट फुलेको
फूलबाट माहुरीले मह कलेक्सन गर्छ । त्यसले हाम्रो अर्थतन्त्रमा निकै ठूलो प्लस गर्न सक्छ । घरेलु र अर्गानिक निर्माण गर्न सक्नुभयो भने त्यसबाट अन्तर्राष्ट्रिय बजार पठाएर ठूलै रकम नेपाल भित्र्याउन सकिन्छ । टिएचसी ०.२ भन्दा हाइ भएको गाँजाको प्रोडक्टबाट आएको चिजलाई हामीले नियमन गर्न खोजेका हौं ।
परम्पराअनुसार संसद्मा कुनै पनि विधेयक दर्ता हुँदा पक्ष, विपक्षमा मत सुनिन्थ्यो, तपाईंले गाँजालाई नियमन र व्यवस्थापन गर्ने विषयमा दर्ता गर्नुभएको विधेयकका विषयमा खासै स्वर सुनिएन । सत्ता र प्रतिपक्षको सहमतिमै ल्याउनुभएको हो ?
गरिब नेपाली जनतालाई धनी बनाऔं । मधेसका जनतालाई धनी बनाऔं । दलितलाई धनी बनाऔं । पछाडि परेका वर्ग समुदायलाई धनी बनाऔं । सबै खालका जनता ग्रामीण भेगमा छन् । कस्तो निकृष्ट श्रम गरेर बाँच्नु परेको छ । १२ महिना काम गरे पनि खाना पुग्दैन । ती सबै वर्ग समुदायलाई धनी बनाउने एउटा उपाय हो । यसबाट प्रस्थान विन्दु गरौं । यो सुरुवात हो । यो ट्रमहरु धेरै साथीहरुले बुभ्mनु भाको छ । राजनीतिक दलहरुले बुझेको छ । त्यसैले यसमा विरोध त आउने भएन । समर्थन गर्दा कसरी कानुन पास गर्ने कुरामा बहस होला ।
खुला गरेपछि सबैले खाना नपाउने हो ?
कानुनमै त्यही व्यवस्था गरेका छौं हामीले । उत्पादन गर्न खुला गर्न खोजेका हौं । खानालाई खुला गर्न खोजेका छैनौं । पैसा आउने चिज खाएर यहाँ किन उडाउनु परेको छ र । विदेशमा पठाइदिने हो नि ! औषधि कारखाना खोलेका देशहरुले लिएर जान्छन् । त्यसैले मार्केटको कुनै समस्या छैन ।
तर, हाम्रो अन्तर्राष्ट्रिय बजार पनि निश्चित देशमा मात्रै निर्भर रहने । मानौं इन्डिया । उसले चाहेको बेला किनिदिने, नचाहेको बेला रोकिदिने अवस्थामा अलैंची, अदुवाको जस्तो हालत भयो भने ? यो हामीले फेस गर्दै जाने हो । अन्तर्राष्ट्रिय बजार त्यसै पनि प्रतिस्पर्धाको हो । हाम्रो जस्तो देशले अन्तर्राष्ट्रिय बजारमा कसरी टेक्ने भन्ने त होला । नेपालको गाँजा ब्रान्ड हो । त्यसको आफ्नै भ्यालु हुन्छ । त्यो विश्व नम्बर वान नै मानिन्छ । त्यसैले बजार खोज्न जानु पर्दैन । बजार हामीकहाँ प्रोडक्ट लिन आइपुग्छ ।
टिएचसी हाई भएको गाँजा राम्रो हो ?
टिएसची लो भएकोबाट हामी कपडा बनाउँछौं । तेल बनाउँछौं । टिएचसी हाइ भएको बोटको बोक्राबाट हामीले कपडा बनायौं भने टिएचसी लो नै हुन्छ । त्यसको मुख्य उत्पादन चरेस बनाउँछौं । त्यो औषधीय गुणका लागि अन्तर्राष्ट्रिय बजार पठाउँछौं । त्यसमा जति धेरै टिएचसी हाई भो, त्यत्ति राम्रो । त्यसका लागि लाइसेन्स चाहिएको हो । त्यसको लागि नियम चाहिएको जथाभावी नहोस् भनेर ।
अमेरिकीहरुले सीबीडीलाई कानुनमार्फत ब्यान्ड नै गर्दैन । गाँजैबाट उत्पादन गर्ने हो । त्यसबाटै छारे रोगहरुका औषधि बनिरहेको छ । मान्छेलाई अप्रेसन गर्दा लठ्याउने औषधि त्यसैबाट बनिरहेको छ । साइट इफेक्ट जिरो छ । त्यही चिज उत्पादनका लागि हामीले लाइसेन्सको कुरा गरेको हो । त्यसबाहेक उत्पादन हुने तेल, मह, गेडा, कपडा, ब्रिक्सहरु, डाँठबाट कयौं चिजहरु बन्छन् त्यसका लागि लाइसेन्स लिन नपर्ने ओपन नै राख्ने कुरा गरेका छौं ।
हामीले घरेलु र आन्तरिक उत्पादनलाई बन्द गराउँदैछौं नि ? घरेलु रक्सी पुलिसले पोखाइदिन्छ । ब्रान्डेड भनिएका विदेश रक्सीलाई खुलेआम बेचिन्छ ।
त्यो खाएपछि रोग नलागे हुन्थ्यो त, मान्छे रक्स्याहा नभए हुन्थ्यो, त्यो खाएर पनि लाग्दोरहेछ । त्यो खाएर पनि मान्छेको कलेजो कुहिएको छ । आज प्रत्येक पसलमा हेर्नुहोस्, होटलहरुमा हेर्नुहोस्, हुक्का । पहिला पहिला हाम्रा बाउहरु कुटुवा तमाखु भन्थ्यौं, हुक्का बनाएर खान्थे । अहिले त्यसैको विकसित रुप अरेबियनहरु कसरी बनाए ? हामी सबै हुक्का । त्यो पनि धुवाँ तानिरहेकै छ । हुक्कामा जुन म्याटेरियल्स प्रयोग भाछ । त्यसको सट्टामा गाँजा ताने पनि के फरक पर्छ । तर, पनि त्यसलाई कानुनमा ओपन गर्नुपर्छ भनेर हामीले बोलेका छैनौं ।
यो विधेयक कहिलेसम्म पास होला ? केही अनुमान छ ?
एउटा माहोल बनेको छ । पार्टीहरुभित्र यसको चर्चा सुरु भएको छ । मान्य सदस्यज्यूहरु यसको समर्थनमा उत्रिराख्नुभएको छ । कोहीले सार्वजनिक ठाउँमा बोलिराख्नुभएको छ । आम जनताको त्यत्तिकै सपोर्ट छ । मिडियाजगत्को पनि त्यत्तिकै समर्थन देखिन्छ । धेरै बुद्धिजीवीहरु यसको समर्थनमा बोल्न थालिसक्नुभएको छ । मुलुकलाई समृद्धिमा लाने हो भने यही एउटा प्रमुख आधार हुन सक्छ भनेर इकोनोमिक हिसाबले धेरै कोणबाट बुझेरै यो कुरा छलफलमा अगाडि बढाएका छौं । हामी चाहन्छौं, सरकारले नै यसलाई स्वामित्व ग्रहण गरेर सरकारी विधेयक बनाएमा झन् राम्रो । छलफल हुँदै जानेक्रममा फलानै दिनसम्म भन्दा पनि यसको माहोल बन्दै गएको छ । आन्तरिक रुपमा छलफल गरेर यो प्रक्रियालाई अगाडि बढाउँछौं । मलाई लाग्छ, कसैले विरोध गर्नुपर्ने ठाउँ छैन । सर्वसम्मत रुपमै पास हुन्छ भन्ने लाग्छ ।






