
कथाकार: मधुकर गुरुङ
–मधुकर गुरुङ
‘हामी केहिबेरमा लन्डनको हिथ्रो विमानस्थलमा अवतरण गर्दैछौं, कृपया यात्रुहरू आ–आफ्नो सिटको पेटी बाध्नुहुन अनुरोध गर्दछु’ । विमान पारिचारिकाको कर्णप्रिय आवाजले मेरो निन्द्राको त्यान्द्रा भङ्ग हुनगयो । आँखा जबरजस्ती उघारें । लामो थकाईयुक्त हाई काडें । केही समयपछि एकजना चिटिक्कपरेकी निक्कै सुन्दरी सर्लक्क परेकी थाई एयरको एयर होस्टेसले ‘एक्स्क्युजमी सर कृपया तपाईले आफ्नो सिटको बेल्ट बाँध्नुहोस्’ भनेर अनुरोध गरिन । म पनि झसङ्ग हुँदै, ‘मलाई माफ गर्नुहोला’ भन्दै सिटको पेटि बाँध्न थालें । तिनी पनि मसिनो मिठो स्वरमा ‘धन्यवाद’ भन्दै अघि बढिन् । म मनमनै सोचें, ‘स्वर्गमा अप्सरा हरु पनि त यस्तै हुँदाहुन सृष्टि कर्ताले निकै फुर्सदमा बनाएको हुनु पर्दछ ।’ फेरि सोचें, ‘यिनी सुन्दरीलाई बनाउने बेलामा स्वर्गमा कोरोना भाइरसले गर्दा लकडाउन त भएको थिएन ? पक्का पनि भगवानले ति सुन्दरिलाई अन्य मनुष्य भन्दा निकै मेहनत गरेर बनाएको हुनु पर्दछ । मेरा नयन तिनी परीलाई तब सम्म पछाईरह्यो, जबसम्म उनी विमानको करिडोर हुँदै आफ्नो क्रीउ केबिन भित्र पसिनन् ।
सन् १९९९ साल अप्रिल महिनाको ४ तारिक शनिबारको दिन बिहानको अन्दाजी ६ बजिरहेको थियो । म थाई एयरको उडान नम्बर टि ०१५ बाट हङकङबाट व्यांक्कक ट्रान्जिट हुँदै लन्डनको लागि उडिरहेको थिएँ । मेरो साथसाथै मेरा रङ्गिन सप्तरङ्गी सपना हरु पनि उडिरहेको थियो । मेरो जिन्दगीको पहिलोपटक मेरो सपनाको देश युकेमा मनभरी उमङ्ग बोकेर आईरहेको थिएँ । लामो यात्राको थकानले र अपुरो निद्राले गर्दा अनुहार नुन नखाएको कुखुरा जस्तो मलिन देखिन्थे । तर, लन्डनको पहिलो यात्राले गर्दा मनभरी उमङ्गले ती थकाईलाई मातदिने भरमग्दुर प्रयास गरिरहेको थियो । बिहानको ६ बजेर ३५ मिनेटमा विमान अवतरण भयो । अध्यागमन हुँदै लगेज लिइवरी बाहिर आएँ । मेरो आँखाले बाहिर आएर मलाई रिसिभ गर्न आउनुहुने डेविड दाइलाई खोज्न थाल्यो । अहँ, कतै दाइलाई देखिन । अनि डायरीबाट दाइको फोन नम्बर निकालें । अनि टेलिफोन बुथमा गएर पसलमा गएर साटेको २० पेन्सको सिक्का हालेर डायल गरें । दाइ अझैसम्म एयरपोर्ट नआईपुग्नु भएको रहेछ । उहाँले १० मिनेटमा पुग्दैछु भन्नु भयो ।
बिहानको अन्दाजी ८ बजिरहेको थियो । दाइको कार १३१ सेन्ट जोन्स रोड वेम्ब्लीमा गएर रोकियो । चिसोले मुटु ठिहिराई रहेको थियो । आकाशमा बादल लागको थियो र हल्का पानी पनि परिरहेको थियो । घरभित्र पसे पछि दाइले मेरा लागि अग्रिम बस्नको व्यवस्था गर्नु भएको हुनाले केही समस्या भएन । तातो चिया नास्ता खादै दाइले लन्डनको, कामको र लोकल यातायातको बारेमा जानकारी दिनु भयो ।
हुन त म पनि युकेको प्लेन टिकट खरिद गरि सके पछि हङ्गकङ्गको लाइब्रेरीबाट लोन्ली प्लानेटको ट्राभल बुक पढेर लन्डनको मौसम, हावापानी, यातायात, खाना र सुरक्षाको बारेमा सामान्य जानकारी लिईसकेको थिएँ । तर, दाइले धेरै इन्फर्मेसन दिनु भयो ।
म हङकङबाट आउदा मैले काम गरेको कम्पनिबाट राजिनामा दिएर आएको थिएँ । त्यसकारण म केहिदिन आराम पनि गर्छु र लन्डनको बस्तुस्थिति बुझेपछि नोकरी गर्छु भन्ने मनसायले यहाँको तौरतरिका बुझ्दैं थिएँ र काम सुरु गरेको थिईन । म लन्डन आएको करिब एक महिना भैसकेको थियो र मेरो एकजना साथी राजकुमारसंग परिचय भएको थियो । एक दिन हामाी दुईजना सेन्ट्रल लन्डन घुमेर आउने क्रममा म वेम्ब्ली नर्थ स्टेसनमा ओर्लिए । राजकुमारको घर अर्को स्टेसनमा पर्ने थियो । म उहाँबाट बिदा भई ओर्लिए । स्टेसनबाट बाहिर निस्केर घरतिर हिनें । रात पर्न लागेको थियो । भनौं त्यो समयलाई दिनभन्न पनि नमिल्ने रात भन्न पनि नमिल्ने, ठेट नेपाली भाषामा भन्नुपर्दा गोधुली सांझ परेको थियो । यत्तिकैमा मेरो नजर बेञ्चमा बसिरेहेकी युवती माथि प¥यो । उनी रोइरहेको जस्तो देखिन्थ्यो । तर, अध्याँरोले आफ्नो च्यादर फैलाउदै गरेकोले उज्याँलोलाई अध्याँरोले निल्दै थियो । उनी सुक्क–सुक्क गर्दै अन्दाजमा टाउको हल्लिएको जस्तो देखिन्थ्यो तर आवाज सुनिएको थिएन । अनायासै एक सेकेन्ड मेरा पाइला रोक्किए । अनि सोंचे ‘हेर्दा नेपाली जस्ती देखिन्छ, कतै हाम्रो चेलित होइन ?’ मद्दतको लागि सोधौं की फेरि अर्को मनले सोचें, ‘यो अन्जान देशमा किन नदुखेको टाउको दुखाउनु? चुपचापले बाटो नाप, कतै आफै आपतमा परिएला’ भनेर म आफ्नो बाटो लागें । घर पुगेर चिया खाईवरी टेलिभिजन खोलेर हेर्न थाले तर मेरो आँखा वरिपरि ति दुखी युवतीको दृश्य चलचित्रको दृश्य झै बारम्बार नाचिरह्यो । मेरा नजर तिनिमा थियो तर मानसपटलमा भने स्टेसन अघिको बेञ्चमा रोइरहेकी युवती नाचिरहेको थियो । आफ्नै मनले आफैलाई भन्न थालें, ‘थुक्क तँ, एउटा समस्यमा परेको मानिसलाई एक वचन सोध्दैमा के नै बिग्रने थियो र ? हुन सक्छ उसलाई तिम्रो स्यानो मद्दतले ठूलो राहत पाउन सक्ने थियो कि? हुन सक्छ यो केटी नेपाली होला, भाषाको समस्या हुन सक्छ? बिखर्ची हुन सन्छ? तिम्रो मद्दतले उसलाई ठूलो दुर्घटनाबाट जोगिन सक्ने थियो कि ? उ पनि कसैको छोरीचेली हुन सक्छ । तैंले जे गरिस गल्ती गरिस्’ भन्दै आफ्नै मनले आफैलाई धिक्कार्न थालें । फेरि एक मनले सोचें, त्यो केटि अझैसम्म त्यहीँ छ की ? फेरि सोचें, ‘एक पटक त हेरेर आउँछु,’ मनको उकुसमुकुसलाई मथ्थर पार्न फेरि स्टेसन जाने अन्तिम निर्णयमा पुगें । पाइन्ट, न्यानो जाकेट र जुत्ता उनेर हतार–हतार फेरि स्टेसन तिर हानिएँ । शान्त स्थिर मनको तलाउमा एक्कासि त्यो युवती रुपी पथ्थरले अनेकन तरंगहरु पैदा भई हलचल मच्चिरहेको थियो । बिस्तारै बिस्तारै उक्त तरङ्गहरु छाल बनेर उर्लिन थालेको भान हुन्थ्यो । ‘कतै त्यो युवती माथि कुनै आपतबिपत त आईपरेन? कँहि उनी त्यहाँबाट गैत सकिन कतै ? उनी नेपाली पो हो की ? यस्तो रातबिरातमा एक्लै रुनुको अर्थ पक्का पनि उनी आपत बिपतमा हुनु पर्छ । हे भगवान मैले किन उसलाई एक वचन पनि किन सोधिन ।’ आफैले आफैलाई धिक्कार्न मन लाग्यो । म बिस्तारै स्टेसन पुग्न आँटेको थिएँ, जत्ती जत्ती म नजिक पुग्दै थिए, मेरा पाइलाहरु लम्किदै थिए, मेरा पाइलाभन्दा मेरा मनमा खुल्दुली मच्चिदै थियो । अन्तमा म स्टेशनको त्यो बेञ्चमा पुगें तर मेरो दुर्भाग्य उनीलाई भेटेर मनको खुल्दुली मेट्ने अवसर प्राप्त भएन । त्यो बेञ्चमा एकजना हेर्दा इन्डियन जस्तो देखिने बुजुर्ग बसिरहेको थियो । अनि म घर फर्किने निर्णय गरे ।
यत्तिकैमा मेरो फोनको घन्टी बज्न थाल्यो । ती युवतीले मलाई फोन गरि होला नि भन्दै फोन गोजिबाट निकालेर हेरें, राजकुमारको फोन थियो । घण्टी लगातार बजिरहेको थियो फोन उठाउनु मनै लागेन । जस्को फोन होला भन्ने सोंचेको थिएँ । उस्को नभए पछि मन लाग्दो रहेनछ । अनि एक्कै छिन अघि एक झलक देखेको मान्छेको फोन पनि किन आउने थियो र ? आफै संग लाज पनि लाग्यो, हांसो पनि आयो । अनि अनायासै मेरा पाइला घरतिर मोडिन थाल्यो ।
फेरि फोनको घण्टी बज्न थाल्यो । यसपाली भने म राजकुमारको फोन होला भन्नेमा ढुक्क थिएँ । हेल्लो भनें, हेल्लो । म फोनमा कुरागर्दै घर तिर जाँदै थिए । साथीसंग दिनभरि घुमेको ठाउँबारेको कुरामा ब्यस्त हुँदै थिएँ । एक्कासी पछाडिबाट महिलाको आवाज आयो , ‘एक्सक्युजमी’ म साथीसंग गफमा भुल्दै थिएँ फेरि अलि जोडले आवाज आयो ‘एक्सक्युजमी प्लीज’ । म पछि फर्किएँ, मेरा अगाडि त्यो मैले खोजीरहेको युवती उभिरहेकी थिईन् । जसलाई मेरा आँखाले एकैछिन अघि सम्म व्यग्र साथ खोजिरहेको थियो । उनी मेरै अघि साक्षात देबि बनेर उभिइन् । एकछिन अघिसम्म खोजीरहेको तिनै युवती मेरो अघि पाउँदा म अक्क न बक्क हुन पुगें । किकर्तब्य बिमुख हुन पुगे । छाँगाबाट खसेझै भएँ , बोल्न खोजे बोलिनै फुटेन । हर्ष र बिस्मात मेरा अनुहारमा पक्कै झल्किएको हुनु पर्छ । म सम्हालि सकेको थिंए । अघि बेञ्चमा बस्दा राम्रो संग अनुहार देखिएको थिएन तर पछि भने उनी मेरै अघि उभिएकी थिइन । गोलो सुन्दर अनुहार बाल कुमसम्म काटेकी न काली नत गोरी, अन्दाजी ५ फिट अग्ली, एडिडासको स्पोर्ट जुत्ता, जिन्सको पाइन्ट, सेतो टिसर्ट अनि बाक्लो कालो जाकेट समग्रमा भन्नु पर्दा चलचित्रकी अभिनेत्री जस्तै थिईन् । तर, ती सुन्दर चन्द्रमा जस्तो अनुहारमा सूर्य ग्रहण लागे जस्तो मलिनो अनि ती मिर्ग नयनमा आंसुका डामहरु प्रस्ट देखिने थियो । उस्को अनुहारमा एक प्रकारको बिन्तिभाव र आंखाले केही मद्दत अर्थात् सहायता खोजिरहेको भाव झल्किन्थ्यो । हुन त म उनिलाईनै खोज्न भनेर घरबाट निस्केको थिएँ । मलाई ‘ढुङ्गा खोज्दा देउता मिलेको’ अनुभूति भएको थियो । उ नेपाली जस्तो देखिएकोले मैले सम्भालिने प्रयास गर्दै भने, ‘तिमी नेपाली हौ ?’ उस्ले मेरो भाषा बुझे झैं गरि तुरुन्तै जवाफ फर्काइन् र भनिन्, ‘नो आई एम नट नेपाली आई एम फिलिपिनि’ । मैले भनें ‘तिमिलाई केही मद्दत चाहिएको छ ? उनी केहीबेर बोल्नै सकिनन् । भक्कानिएर रोई रहिन, रोई रहिन मात्र । मैले केही बेर पछि फेरि भने ‘तिमिलाई के समस्या छ?’ । उनी ‘सुक्क सुक्क’ रुदै मलाई सबै कुरा सुनाईन् ।
सुजि हिजो मात्र लन्डन आएको रहिछन् । दिदीले एयरपोर्टमा लिन आउँछु भनेकी रहेछिन् तर ६ घण्टा सम्म पनि लिन नआए पछि उनी होटलमा बास बस्न पुगिन् । एका बिहानै उठेर दिदीको ठेगानामा पुगिन् तर उनले दिदीलाई भेटिनन् । दिदीले दिएको ठेगानामा पनि दिदीलाई नभेटे पछि उनी अलपत्र परिन्, अनि रुदै बसेकी रहिछन् । मैले सुजिलाई आस्वस्त पार्न ‘तिमी एक रत्ती पनि नआत्तिनु, पहिलो कुरा त तिमी बिपत्तिमा संयम हुनुपर्छ आत्तियो भने समस्या बल्झिन्छ । दोस्रो कुरा, मलाई तिमिले आफ्नै छिमेकी या साथी भेटिए जस्तै हो । ढुक्क हुनु ।’ भनें ।
सुजि म प्रति कृतज्ञ हुँदै भनिन्, ‘मलाई तपाईको मद्दत चाहियो’ मैले भने ‘भन्नुस् मैले कस्तो मद्दत गरौैं’, उनले मलाई ‘सस्तो होटेल खजिदिनु पर्यो’ भनिन्, मैले तुरुन्त डेबिड दाइलाई फोन गरेर बस्तुस्थिति अवगत गराएँ । दाइले ‘मेरो ८ बजे डिउटी सकिन्छ ९ बजे घर आइपुग्छु अनि इन्डियनहरुको सस्तो होटेलमा मेरै गाडिमा लैजान्छु । तिमिहरु घरमा गएर च्या खानु । बाहिर जाडोमा नबस्नु’, भन्नु भयो । मैले दाइसंग अंग्रेजीमा कुरा गरिरहेको सुजिले पनि सुनुरहेकी थिईन् । मैले सुजिलाई घर जाने प्रस्ताव राखें । सुजिको अनुहारमा खुसीको चमक प्रस्टै देखिन्थ्यो तर आंखाबाट आँसु भने झरिरहेको थियो । सुजिले आप्mनो झिटीझाम्टा घिसार्दै ‘म कसरी तपाईलाई धन्यवाद भनुँ, यो शब्दले पुग्दैन’ भनिन् । मैले सुजिलाई ‘तिम्रो देशको मान्छेहरु रुन्छे हुन्छन् की तिमी मात्रै हो रुञ्चे हौं’ भन्ने वित्तिकै सुजि विस्तारै हांस्न थालिन् । उनी हाँस्दा मलाई लाग्यो, यो मैले पुण्यको काम गरिरहेको छु ।
हामी घर पुग्दा बेलुका ७ बजिसकेको थियो । दाइ ९ बजे अर्थात् २ घण्टा पछि आउनुहुन्छ भन्दै मैले चिया बनाएँ र हामी दुवैले किचनमा संगै बसेर चिया पियौं । हामीले चिया पिउदै एकअर्कामा आफ्नो परिचय खोल्दै गयौं । सुजि प्रष्ट वक्ता, हँसिली, खुलेर बोल्ने स्वभावकी रहेछिन् । केहि छिनको भेटमा पनि बर्षौ पुरानो मित्र जस्तै एकाअर्कामा झ्यामी सकेका थियौं । उनले हामीले पिएको चियाको कप टिपिन, मैले ‘हुनदेउ तिमी हाम्रा पाहुना हौं’ भनें । सुजिले मेरो कुरा नसुनेझै गरी छिटछिटो कप धोइन् । र, मैले हाँस्दै, ‘वेटर काम गर्छौ ?’ भने । उनले मुस्कुराउदै, ‘आजैबाट सुरु गरुँ ?’ भनिन् । मैले पनि ‘हुन्छ’ भनें । र, हामी दुई पेट मिचिमिचि हाँस्यौ । मैले सुजिलाई, ‘बाथरुम माथिल्लो तलामा छ तिमी फ्रेस भएर आउनु, दाइ नौबजे आउनुहुन्छ । र, उहाँलाई ९ बजेनै खाना खाने बानी छ, त्यसैले म खाना बनाउछु’ भनें । सुजि बाथरुम पस्यो मैले राईसकुकरमा भात बसालें । मासु सकिएको रहेछ । मैले बाथरुमको ढोका ढक्ढकाएं । भित्रबाट सुजिले, ‘किन केभयो र ? आवाज आयो । मैले जोडले भने ‘सुजि म चिकन लिन सुपर्मार्केट गएर आउँछु, तिमी चिन्ता नगर है’ उनले हाँस्दै, ‘तिमी नफर्किदा सम्म म बाथरुमबाट बाहिर निस्कन्न’ भनिन् ।
पसलमा भीड भएकोले मलाई घर आउन अलि ढिलो भएको थियो । म किचनमा पस्ने बित्तिकै मेरा आँखा खुलाको खुला हुन गयो, ‘हाम्रो किचन यस्तो पनि हुन्छ, त्यो पनि एकै छिनमा’ म अचम्मित भएँ । लथालिङ्ग चारै तिर छरिएको भाडाकुँडा फोहरमैला सारा सामान मिलाएर राखेको पाएँ । पुरै किचन सफा सुग्घर थियो । फोहर थाम्नै नसक्ने हुँदासम्म पनि नफेरिएको डस्ट्बीन पत्याउनै नसक्ने गरि सफा भएको अवस्थामा पाएँ । त्यस्तो लथालिङ्ग भताभुङ्ग किचनलाई चम्किलो अवस्थामा पाउँदा मलाई त सरम लागेर आयो । म भित्र पस्ने बित्तिकै सुजिले भनिन निकै ढिलो गर्नु भयो त ? मेरो जवाफ नसुनी भन्न थाली ‘कस्तो लाग्यो किचन ?’ मैले लाज पचाउदै भनें, ‘यदि हामि स्त्री भएको भए, यो त के हो र, यो भन्दा सफा राख्ने थियौं तर तिमिहरुले भन्दा सफा राखेर तिमीहरुको मनदुखाउनु नचाहेर हो ।’ मैले लाख कोशिष गरें, सुजिले मलाई किचनमा आउनै दिएन । खाना म बनाउछु भनेर अड्डि कसिन ।
नौ बजे दाइ आइपुग्नु भयो । दाइ पनि किचनमा पस्ने बित्तिकै तिनछक्क पर्नु भयो । वहाँ पनि निकै हँसाउने बोल्ने मिजाजको हुनुहुन्थ्यो । दाईले पनि हाँस्दै भन्नुभयो, ‘नेपालीहरु घर मैलो गर्नुमा पोख्त हुन्छन्, फिलिपिनी हरु घर सफा राख्नुमा पोख्त हुन्छन् कुरा बराबरनै हो’ फेरि हांसो ।
सुजिले खाना पस्किन उनिले आफ्नै तरिकाले आफ्नै देशको खाना पकाएकी थिईन । किचनमा भएको तर कहिले प्रयोग नभएको समानको प्रयोग भएको थियो । जस्तै, सोया सस, कोकोनट मिल्क, टामारिन्ड माकारेल फिस इत्यादी । छोटो समयमा स्वादिलो खानाको परिकार बनाउने सक्ने अदभूत क्षमताको धनी अति मिजासिलो अनि मान्छे पनि चिटिक्क परेकी राम्री मृदुभाषी कम्प्लिट प्याकेज । खाना खाइवारी दाइको गाडिमा हामी तिनैजना दाइको परिचित होटलमा गयौं र भोलि भेट्ने बाचा गरि घरमा फर्कियौं ।
मोबाइल फोनको घन्टिले मेरो निद्रा खुल्यो । झ्यालको पर्दा खोले बाहिर चर्को घाम लागिसकेको रहेछ फोन रिसिभ गरें । ‘हेल्लो’ उता बाट नारी आवाज आयो ‘हेल्लो अझैसम्म सुत्दै हो, म त बिहान ६ बजे निद्रा खुल्यो सातै बजे तयार भएर बसेकी छु, छिटो मलाई लिन आउनु न’ भनिन् । बोलिमा बिन्तिभाब थियो मैले, ‘हुन्छ’ भनें । अनि म तयार भएर सुजिको होटेलमा पुगें । उनि मलिनो अनुहार गरेर बसेकी थिइन् । उस्को अनुहारको भाबभङ्गिमा हेरेर सहजै भन्न सकिन्थ्यो कि उनी कहाँ जाने? कहाँ बस्ने? भन्ने चिन्ताले सताएको जस्तो देखिन्थ्यो । मैले भने, ‘सुजि यदि तिमीलाई आपत्ति छैन भने म एउटा प्रस्ताव राख्छु हुन्न’ सुजिले मतिर हेर्दै भनिन्, ‘केहो र भन्नुस् न मलाई किन आपत्ति हुनु र’ ।
‘दाइले भन्नु भएको छ यदि तिमि चाहान्छौं भने तिमि बस्ने कोठा नपाउँदा सम्म हाम्रो सोफामा सुत्न सक्छौ’ सुजि लगातार भुइँमा हेरि रहिन । कुनै जवाफ दिइनन् । म नजिकै गएर भनें, ‘मलाई गलत नसम्झ गल्ती भए मलाई माफ गर’ । उनी फेरि पनि केही बोलिनन् म नजिकै गएर आंखामा हेरें, सुजिको गहभरी आँसु टलपल भैरहेको देखे । मैले बोल्न मुख खोल्नै लागेको के थिएं उनले मेरो मुखमा हत्केलाले छेकिन अनि गलारुंघेको स्वरमा भाबुक हुदै भनिन्, ‘होइन होइन मैले किन गलत सम्झनु नि, भगवान पनि कहिले गलत हुन्छ र ।’ यसो भनी रहँदा उनिको अनुहारमा बिनम्रता झल्किन्थ्यो प्रेमभाव अपनत्व थियो । उनी भन्दै थिइन्, ‘तपाइँ मेरो लागि भगवान नै हो’ यो भनिरहँदासम्म पनि सुजिको आँखा रसाई रहेको थियो । आंखाबाट आँसुका थोपाले जकेटलाई भिजाउने असफल प्रयास गरिरहको थियो । परिस्थिति लाई सम्हाल्दै मैले भनें, ‘मलाई एक असल मानिस हुन त देउ पहिला’, अनि फेरि भनें, ‘त्यसो भए भगवानको आदेश मानन् त, छिटो ब्याग समाउ यहाँ बाट हिड्, मन्दिरले तिमिलाई स्वागत गर्न पर्खिरहेको छ’ । अनि सुजि रुमालले आँसु पुछ्दै हाँस्न थालिन् । सुजि आएको १ महिना भैइसकेको थियो । उसको आगमनले हाम्रो जीवन शैलिमा परिवर्तन आएको थियो । हिजो सम्म खाना बस्नको कुनै तालिका थिएन । सबै कार्यशैली बक्ररेखामा चल्ने थियो । तर, हाम्रो सबै चिज ब्यबस्थित भएको थियो । बिहान नास्ता, दिनको खानाको लागि प्याक्ड लन्च र बेलुकाको डिनर सबै सुजिले नै बनाउने थिइन् । हामीलाई किचनमा पस्न अघोषित प्रतिबन्ध नै थियो । हाम्रो कपडा सफा सुकिला राख्ने राख्नु धोएको कपडालाई प्रेस गरेर आल्मारिमा राख्नु । बजारबाट सम्पुर्ण खाद्यान्न किनमेल सबै उसैको जिम्मामा थियो । सम्पूर्ण घरलाई सफा सुग्घर राखी हामीलाई अनुशासित बनाई दिएको थियो । आमाको भाउजुको बुहारिको भनौं, उ हाम्रो गार्जियनको भुमिका उनैले निभाईरहेकी थिइन् । बिहान देखि बेलुका सम्म एउटा घरको बुहारीले गर्ने जिम्मेवारी निर्बाह गरिरहेकी थिइन् । मैले पटक–पटक भन्ने गरेको थिएँ, कि यदि तिमिले नोकरी गर्न चाहान्छौ भने नोकरी गर्नु अनि सुजिले हांसेर टारी दिने थियो ।
एक दिन राती अचानक मेरो पेट बेस्सरी दुख्न थाल्यो । मैले खप्नै सकिन र सुजिलाई चिच्याएँ र बोलाएँ । उनी निदाईसकेकी थिइन् तर पनि आँखा मिच्दै मेरो कोठामा आईन । मलाई ग्यास्टीक अल्सरले गर्दा बेला बखत पेट दुख्ने गर्दथ्यो । सुजिले पानी तताएर ल्याईन् तातोपानी पिए पछि केही सन्चो भए जस्तो भयो तर एकै छिन पछि फेरि दुख्न थाल्यो सुजिले मेरो पेट छाती पिठ्युँमा भिक्स दलि मालिस गरिन तर दुखाई कम भएन म छटपटाई रहेको थिएँ । त्यत्तिकैमा दुईजना स्वास्थ्यकर्मिहरु आएर मलाई जांच्न थाल्यो । बल्ल मलाई थाहा भयो, सुजिले एम्बुलेन्स बोलाएको रहेछ । मेरो मेडिकल हिस्ट्री सोधिसके पछि एम्बुलेन्सले मलाई अस्पताल लग्यो । मैले सुजिलाई ‘तिमी घरमा नै बस म ठिक छु’ भन्दा उल्टो म संग रिसाइन् र जिद्दी गर्दै म संगै अस्पताल आइन् । रातभरी नसुती मेरो सिरानीमा बसिरहिन् । ब्लड टेस्ट, युरिन, एक्सरे सबैको रेपोर्ट आउँदा भोलिबिहान भैसकेको थियो । पेनकिलर खाई सके पछि भने म निदाएको रहेछु । निद्राबाट उठ्दा बिहानको १० बजेको थियो । सुजि कुर्सीमा नै मुन्टो घोप्टो पारेर निदाई रहेकी थिइन् । मनमनै भने, ‘यस्ले कुन जुनिमा मेरो ऋण खाएको रहेछ, कुकुरले नपाउने दुःख पाईरहेको छ’ । फेरि सम्झें, ‘यसले मलाई स्टेसनमा भेट्नुनै यसको दुर्भाग्य हो’ । यो कस्की छोरी होलि कति पढेकी होलि? आफ्नो देशमा के काम गर्ने थियो होला? किन यसरी मलाई आफ्नै जीवन सङ्गिनीले झैं सेवा गरेकी होला? कहि सुजिले मलाई मनमनै माया त गर्दिन । हो पक्का पनि उस्ले मलाई मन पराउछ त ? यसरी मेरो निस्वार्थ सेवा गरिरहेकी छे नत्रभने यो मतलबी दुनियाँमा केको मतलब ? उ हेर्दा पढेलेखेको जस्तो छ राम्रो अंग्रेजी बोल्छ बुझ्छ निरोगी छ, राम्री छ, ँएउटा जाबो काम भरखरै पाउँछ’ जस्ता अनेक कुराहरु सोच्दासोच्दै म फेरि निदाएछु । जब मेरो निद्रा खुल्यो तब नर्सले सुजिलाई भनिरहेकी थिइन्, ‘तिम्रो पतिलाई यो दबै यति समयमा खुलाउनु, यो गर्नु त्यो गर्नु, सबै सम्झाई रहेको थियो । सुजि पनि हुन्छ, हुन्छ भन्दै नर्सको कुरा सुनिरहेको थियो । नर्स गए पछि सुजिलाई मैले बोलाएँ । ‘ए तिमी बिउँझेको’ भन्दै उनी खुसी भइन् । ‘तिमिलाई अहिले कस्तो छ’ उस्ले सोधिन । ‘म ठिक छु’ मैले भने । ‘तिम्रो डिस्चार्ज भयो घर जाउँ’ भन्दै सुजिले मेरो हात समाउदै उठाउन थालिन् । मैले भने, ‘म ठिक छु, मलाई सञ्चो भैसकेको थियो, निद्रा कचपचिएर हल्का टाउको दुखिरहेको थियो’ । घरमा पुग्दा दिउँसोको बाह्र बजिसकेको थियो । म आफ्नो बेडमा पल्टिएँ । सुजिले मेरो टाउकोमा हातराख्दै सोधिन्, ‘अहिले कस्तो छ’ मैले भने, ‘अहिले एकदम ठिक छु’ । मलाई नर्सको कुरा सम्झेर हांसो लागिरहेको थियो । म हांसेको देखेर उ पनि आश्चर्य हुँदै सोधिन, ‘किन हाँसेको’ मैले भनें, ‘हाम्रो बिबाह भएको कहिले हो रे?’ । उ पनि बेस्सरी हाँसी अनि जवाफ फर्काइन्, ‘नर्सले तिम्रो बुडा हो भनेर सोध्यो, मैले पनि के भनौ, के भनौं भयो अनि हो भनी दिएँ’ भन्दै हाँस्न थाली ।
म प्रति उस्को निस्वार्थ भावना झल्कीरहेको थियो । मनमनै भनें, ‘यो माया नभएर के हो त? उस्ले पक्का पनि मलाई मन पराउँछ होला । म आजै मनको कुरा उसलाई सुनाउँछु’ अर्को मनले भन्छ, ‘होइन उस्ले तिमिलाई माया होइन इज्जत गर्छ । तिमिले गरेको मद्दत लाई ठूलो गुन सम्झन्छन् । तिमिलाई माया त गर्छ तर प्रेमिकाको रुपमा नभई अभिभावकको रुपमा’ यत्तिकैमा सुजिको आवाजले त्यान्द्रा भंग गरि दियो । सुजिले ‘तिमी आराम गर, म तिम्रो लागि चिकन सुप बनाएर ल्याउछु’ भन्दै किचनतिर लागिन् । म उसलाई हेर्दाहेर्दै कोठाबाट ओझेल भईन् । एक दिन म कामबाट घर आएँ । ँमैले सुजि घरमा देखिन, जोडले आवाज लगाएँ । उसको अत्तोपत्तो थिएन । म बाथरुम पसें, नुहाएर कोठा बसेको थिएँ । यत्तिकैमा सुजि मेरो कोठामा पसि, ‘तिमी कहाँ गएकी थियौं’ मैले प्रश्न गरें । उसले, ‘ पहिले आँखा बन्द गर्नु अनि पछि भन्छु’ भनिन् । मैले बोल्न लागेको थिएँ, सुजिले ‘प्लीज आँखा बन्द गर्नु न पहिला’ जिद्दी गर्न थालिन, मैले आँखा खोलें । मेरो अघि बर्थडे केक थियो । केकमा ममबत्ती बलिरहेको थियो । सुजिले बर्थडे संगै गाउन थालिन । मैले केक काटेर उसलाई खुलाएँ उस्ले मलाई खुलार्इ दियो । सुजिले झपक्क फुलेको रातो गुलाफको फुलको गुच्छा मलाई दियो र ह्याप्प्री बर्थडे भन्दै अंकमाल गरिन् । उस्को अंकमाल निकै कस्सिएको थियो । निकै बेरसम्म मलाई अंगालोमा राखिन । न्यानो अंगालोमा बेरिदा मेरो पैतला देखि शीरसम्म रोमान्चित हुन थल्यो । सुजिले अंगालोमा समाउँदा उसको हिमालको चुचुरोले घोच्दा अनौठो काउकुती लागिरहेको थियो । ‘म सुजिलाई दिलैबाट मन पराउँछु, मलाई पनि उस्ले त्यत्तिकै मन पराउँदो रहेछ’ भनेर म पूर्ण रुपमा बिस्वस्त भएको थिएँ । आज म आफ्नो मनको कुरा कुनै पनि हालतमा भन्छु भन्छु मनमनै अठोट गरें । सुजिले नानाथरीको खानेकुरा बनाएर राखेको रहेछ । बर्थडे मेरो थियो तर उ बढी एक्साइटेड देखिन्थिन् । सुजि आए देखि लगभग अल्कोहल खान बन्द जस्तै भैसकेको थियो । रक्सी पियो की सुजिको भाषण सुन्नु पर्ने भएकोले हामीले अल्कोहल धेरै कम गरेका थियौ । तर, त्यस बेलुकी भने उसैले मेरो लागि भनेर स्यानो स्यामपेनको बोतल किनेर ल्याएको रहेछ । स्यामपेनको गिलास हातमा लिएर आपूm पनि नाचिन्, मलाई पनि जबरजस्ती नचाउन थालिन् । हामीले धेरै बेर सम्म रमाइलो ग¥र्यौं । अनि सुजिलाई मनको कुरा भन्न खोजें तर भन्न सकिन । सुजिले पनि मलाई भन्दै थियो, ‘तिमी केही भन्न खोज्दै छौ भनन्’ मैले भने ‘त्यस्तो केहि खास होइन, म तिमिलाई भोलि भन्छु’ । उनले ‘भोलि पक्का भन्नुनी नत्र मलाई खुलदुली भैरहन्छ’ भनिन् । मैले भने, ‘हुन्छ हुन्छ भोलि पक्का भन्छु ’ । राती नौ बजे दाइ आउनु भयो । त्यस पछि थप रमाइलो भयो । सुजिलाई पनि स्यामपेनको असर प्रस्ट देखिन्थ्यो । उस्को आँखामा एक प्रकारको नशा उस्को ओठ्ले केही बोल्ने प्रयत्न गरिरहेको देखिन्थ्यो । उस्को हाउभाउमा पनि प्रेम प्रस्ताब झल्किन्थ्यो । राती अबेरसम्म रमाइलो गरियो । ‘बाबू ए बाबू’ भन्दै बोलाएको आवाजले मेरो निन्द्रा खुल्यो । मैले ओढेको सिरक स्वात्तै तानियो । चिसो हावाले मेरो निद्रा सिद्रा भाग्यो । ‘आच्छु जाडो भयो’ भन्दै म कराउन थालें । सुजि तातो चियाको कप हातमा समातेर उब्बिरहेकी थिइन् । दाईले मलाई बाबू कहिले भाइ भन्ने हुनाले सुजिले पनि मलाई बाबू भाइ भन्दै बोलाउने गर्थिन । फेरि ‘ए बाबू’ लाडे स्वरमा भनिन् । ‘१० बजि सक्यो किन हो नउठेको छिटो तयार हुनु न, खाना खाएर घुम्न जाऔं, आज कस्तो राम्रो घाम लागेको छ’ म पनि झ्याउ मान्दै भने, ‘हत्तेरी छुट्टिको दिनमा पनि राम्रो संग धित मारेर सुत्न नदिने किन होला’ । उ तल किचन तिर जान लागिन र फेरि बिचैमा रोक्किएर मेरो छेउमा आएर सोधिन, ‘तिमिले मलाई हिजो के कुरा भन्नू छ, भनेको होइन, ल भन्नु के कुरा हो ? मैले टाउको कन्याउदै भने ‘ह्या हिजोको कुरा पनि अहिले सम्म पनि याद हुन्छ र ? फेरि सम्झे भने भन्छु’, भन्दै म टोइलेट भित्र छिरें ।
म राजकुमार संग फोनमा कुरा गर्दै थिएँ । सुजिले अलिअलि रिसाउदै भनिन् १२ बजिसक्यो छिटो आउनु न खाना पसकिसकेको छु । छिटो बजार घुमेर आउँ’ भन्दै मलाई हात समाएर लतार्न थालिन् । म पनि फोन काटेर खाना खान गएँ । सुजिले खाना पस्किएर ठिक्क पारेको थियो । हामीले खाना सुरु ग¥र्यौं । सुजिले कुरा निकाल्यो, ‘बाबू भनन् तिमिले के कुरा हो मलाई भन्छु भनेको ? उस्को अनुहार सिरियस देखिन्थ्यो । मैले उतिर हेरें उस्को सुन्दर अनुहारमा एक प्रकारको चमक थियो तर आंखाले प्रश्नको उत्तर मागिरहेको थियो यत्तिकै पनि राम्री युवती झन् बजार घुम्नको लागि मेकअप गर्दा त झन हेरिरहु जस्तो लागिरहेको थियो । मैले उसलाई हेरि रहेँ, उस्ले पनि मलाई एक टकले हेरिरहिन् । आँखा जुधाएरै सिरियस हुँदै भनिन्, ‘भन्नू न के कुरा हो र’ सुजिले जिद्दी गर्न थालिन् । म दोधारमा परें । म कसरी भनु कि तिमिलाई अपार माया गर्छु भनेर कसरी भनुँ कि म तिमी बाट टाढा रहेर एकपल पनि बस्ने कल्पना पनि गर्न सक्दिन भनेर । कसरी भनुँ कि तिमी मेरो मन मन्दिरमा सजि सक्यौ भनेर । सुजिले दुखी हुँदै कांपेको स्वरमा भनिन्, ‘कतै म यहाँ बसेर तपाईहरुलाई अप्ठ्यारो त भएको छैन ?’ ‘चुप लाग्नु’ म कडकिएँ । सायद यो पहिले घटना होला म पहिलोपटक सुजिलाई हप्काएको । उ झसङ्ग तर्सिइन् । म फेरि रिसाउदै भने, ‘आजबाट यो कुरा भन्नू त के सोंच्दा पनि नसोंच्नु बुझ्यौं ? उस्को आँखा रस्सिएर आयो केही बोल्न खोजेको थियो तर भक्कानिएर बोल्न सकिनन् । एकै छिन दुबै मौन हुँदै खाना थाल्यौं । सुजिले सब्जी मलाई थपि दिइन । मैले ‘भयो’ भन्ने इसारा गरें । तर उस्ले अरु पनि खाना थपी दिइन । मैले भने, ‘मलाई माफ गर, मैले तिमिलाई चर्को स्वरले बोले तिमी संग रिसाएँ’, । लामो सास र आँसु पुछ्दै सुजिले भनिन्, ‘हामी एक अर्को संग नरिसाए को संग रिसाउने त नि?’ सुजिको यो शब्दले मेरो मन भक्कानिएर आयो तर मन थामेर चुपचाप बसे । चुपचाप खाना खाई सके पछि सुजि उठ्नै थालेकि थिईन्, मैले भने, ‘सुजि बल्ल याद आयो मैले तिमिलाई भन्न खोजेको कुरा, म भनौं त तिमीलाई ? उसले, ‘भन्नु न, छिटो भन्नु केहो ?’ भनिन् । मैले भने तिमी काम गर्छौ ? उस्ले खासै प्रतिक्रिया दिईनन् । नत हर्ष नत बिस्मात कुनै प्रतिक्रिया नै जनाइन् । म भन्दै गएँ, ‘हाम्रो कम्पनिमा क्लीनरको काम खुलेको छ, यदि तिमिले गर्छौ भने म कुरा गरिदिन्छु’ उनले धेरै बेर पछि लामो सास फेर्दै, ‘हुन्छ तिमिले भन्छौ भने म सोचौंला’ भनिन् । फेरि मैले भने, ‘यदि तिमिले त्यो काम ग¥र्यौं भने हामी संगै हुन्छौं, घरमा पनि, काममा पनि’ सुजिले केवल तिम्रो इच्छामा मात्र हुन्छ भनिन् ।
हामी बजार जान तयार भयौं । त्यतिनै बेला पल्लो घरको छिमेकीले सुजिलाई बोलायो । एकै छिन पछि फेरि भित्र आएर मलाई भनिन्, ‘त्यो छिमेकीले मलाई केही कुरा सोध्नु छ भनेर बोलाएको छ, म एकैछिन गएर आउछु, त्यसपछि जाउला है’ भन्दै अनुरोध गरिन् । मैले, ‘ढिलो नगर छिटो आउनु’ भने उस्ले, ‘हुन्छ म छिटै आउछु’ भन्दै बाहिरिइन् ।
म सोफामा बसेर टिभीमा समाचार हेर्दै थिएँ । त्यतिकैमा घरको फोनको घन्टी बज्न थाल्यो । फोन रिसिभ गरें, ‘हेल्लो कस्लाई खोज्नु भयो ?’ ‘हेल्लो हेल्लो’ उताबाट स्थानिय गोराको आवाज आयो, ‘म सुजि बोल्न सक्छु’ म छक्क परें । कसरी यो गोराले सुजिको नम्बर पायो या झुक्किएको त होइन, मैले फेरि सोधें, ‘को सुजि ?’ उनले ‘मनिला युनिभर्सिटीको लेक्चरर मिस सुजि’ भन्यो । मैले हाँस्दै भने, ‘ए तपाईं झुक्किनु भयो यहाँ सुजि नाम गरेको क्लिनर काम गर्ने एक महिला छिन्, तर यहाँ त्यस्तो पढेलेखेको कुनै पनि ब्यक्ति हुनुहुन्न ।’ उसले, ‘सरि तपाईको समय नस्ट गरेकोमा मलाई क्षमा गर्नु होला बाई’ भन्यो । उताबाट फोन राख्नै लागेको थियो, मैले सोधें, ‘बाइ द वे तपाईको शुभ नाम के होला ? उता बाट आवाज आयो, ‘ए अं म लन्डन युनिभर्सिटीको प्रोफेसर थोमस उडमन हो । ल धन्यवाद’ भन्ने वित्तिकै फोन काटियो ।
सुजि हतार हतार भित्र पस्यो र ‘लौ ढिलो भयो जाऊ’ भन्दै बाहिर निस्किन् । म पनि बाहिर निस्किए र ढोका बन्द गरें । बाहिर घुम्न जान पाउने भएर होला सुजि निक्कै उत्साहित देखिन्थ्यो । ‘कता जाने’ उनले भनिन् । ‘सेन्ट्रल लन्डन जाम’ मैले भने । जिन्सको पाइन्ट र गुलाबी भुवा भएको स्वीटरमा सुजि अति सुन्दर देखिएकी थिइन् । हामी घरबाट १०० मिटर मात्र पुगेको थियौं होला, मैले थोमसले गरेको फोन सम्झिएँ । ‘ए साँच्चै अघि एक जना मान्छेको फोन आएको थियो सुजिलाई पाउँ भन्दै थियो तर उ त झुक्किएको रहेछ । छैन भनी दिएँ’ । सुजिले फेरि सोधिन, ‘के नामको मान्छेले हो फोन गरेको ? ‘थोमस उडमन’ मैले भनें । ‘थोमस उडमन ?’ उसले चकित हुँदै फेरि सोधिन् । ‘प्रोफेसर थोमस उडमन ?’, मैले ‘हो उनै हो तर तिमिलाई होइन के किन आत्तिन्छौ, उस्ले त मनिला युनिभर्सिटीकी लेक्चरर सुजिलाई खोजेका हुन्’ । ‘छिटो हिन ढिलो भयो के’ भनें ।
सुजि टक्क अडियो र ‘घर जाम त म एकपटक थोमस संग बोल्छु’ भनिन् र मेरो उत्तर नपर्खि घरतर्फ फर्कियो । उ अलि हत्तार हत्तार गर्दै हिडिरहेको या भनौं बिस्तारै दौडिरहेकी थिईन् । म पनि तीन छक्क पर्दै उस्को पछि दगुर्दै गएँ । सुजिले ढोका खोलेर सिधै बाजले परेवा झम्टिए झै फोन झम्टियो र लास्ट कलरलाई डायल गरिन् । म छक्क परें, मनमनै ‘आखिर के भइरहेछ यहाँ । कहिँ मेरि सुजि तेत्ती ठुलो मान्छे त होइन । होइन होइन यो हुनै सक्दैन उत एउटि बेसाहारा केटि हो जसलाई हामीले गाँसबाँस दिएर पालेर राखेका छौं । म भोलिनै मेरो कम्पनिमा क्लिनरमा नोकरी लगाई दिन्छु र जिन्दगी भरी मेरो आंखाबाट एकपल पनि ओझेल हुन दिदैन’ भनिरहेको थिएँ, सुजिले फोन डायल गरिन उताबाट फोनको घण्टी बज्न थाल्यो । ‘हे भगवान मेरि सुजि त्यो मनिला युनिभर्सिटीको लेक्चरर नहोस्, नत्र म कसरी सहन सक्छु । मत जीउँदै मर्छु हे भगवान घण्टीको आवाज एस्तो लागिरहेको थियो, जस्तोकी कसैले उस्को टाउकोमा घनले हानिरहेको छ ।’ ‘हेल्लो हेल्लो’ उताबाट आवाज आयो कस्लाई खोज्नु भयो? ‘म थोमस उडमनलाई पाउन सक्छु?’ फेरी उताबाट, ‘म बोल्दै छु ? के काम थियो र ?’ यताबाट, ‘म सुजि बोल्दै छु’ ‘को सुजि ? तिमी सुजि फिल्लिप्स हौ ?’ उताबाट फेरी उत्तर आयो । यताबाट सुजिले फेरी, ‘हो म नै हुं’ भनिन् ।
म छाँगाबाट खसे जस्तो हुन पुगें । मैले एउटा मामुली केटि भनेको त युनिभर्सिटीको लेक्चरर पो रहेछ । मलाई आफै सगं लाज लागेर आयो । कहाँ उ प्रतिष्ठित ब्यक्ति कहाँ म मामुली मान्छे । आकाशको फललाई आंखा पो तरिरहेको रहेछु । ब्यर्थैमा आकाशको जुनलाई हत्केलामा टिप्ने कोशिष पो गरेको रहेछु ।
उताबाट उडमेनले, ‘सुजि म तिमी लन्डन आएको थाहा पाए पछि कति खोजें, बल्ल हिजो तिम्रो घरबाट तिम्रो नम्बर पाएँ । तिमी कहाँ बस्छौ?’ भने । यताबाट सुजिले, ‘म वेम्ब्लिमा बस्छु’ भनिन् । ‘ए सुजि मैले तिमिलाई फोन गर्नुको कारण केहो भने मलाई तिम्रो सहयोग चाहिएर हो । सुजिले फोन अझै कानसंग नजिक बनाउदै ‘के सहयोग हो र? मिस्टर थोमस ।’ भनिन् । थोमसले, ‘ए मैले पढाउने युनीमा तिमिले पढाउने बिषयको लेक्चरर चाहिएर हो, र तलब पनि आर्कषक नै छ, म तिमिलाई राम्ररी चिन्छु । हामी संगै मनिला युनिभर्सिटीमा पढाउदा तिमिले गरेको सहयोग भुलेको कहाँ छु र । अर्को कुरा तिमी एउटी खुबी भएकी चेक्चरर हौ । तिम्रो क्षमता अनुभवलाई लन्डनमा धेरै आवश्यक छ । त्यसकारण यो मेरो अनुरोध हो कृपया मलाई सहयोग गर ।’ भने ।
सुजि सानो स्वरले ‘ए अ, हुन त हो तर…’ भन्ने वित्तिकै सुजिको मनसाय बुझेपछि प्रोफेसरले भने, ‘ठिकै छ सुजि सोंच यदि तिमिलाई म संग काम गर्नु छ भने हाम्रो युनिभर्सिटीको ढोका संधै खुल्ला छ’ ।
‘प्रोफेसर थोमस तपाईंलाई धेरै धेरै धन्यवाद मलाई लायक सम्झनु भएकोमा तर मलाई माफ गर्नु होला म भोलिबाट एउटा काममा जादै छु सर ।’ सुजिले भन्ने वित्तिकै, थोमसले ‘ए होर बधाई छ तर सुजि म जान्न सक्छु कुन युनिभर्सिटीमा हो ?’ भनेर सोधें । सुजिले हल्का मुस्कान छाड्दै ‘ए होइन सर एउटा कारखानामा हो’ भनिन् । उताबाट थोमसले ‘ल ल ठिकै छ, जुन पहिलो प्राथमिकतामा पर्छ, जहाँ खुसी मिल्छ त्यही काम गर्ने हो । किन तिमिले त्यो काम रोज्यौ, मलाई थाहा छैन तर तिम्रो निर्णयको म कदर गर्छु ।’ भन्नसाथ फोन डिसकनेक्ट भैसकेको थियो ।
सुजिको मुखमा खुसी झलकिएको थियो तर मेरो आंखामा आँसु रसाई रहेको थियो । खुसिको आँसु थियो त्यो । सुजिले फोन राखेर एक्कासी मलाई गम्ल्याङ्ग अंगालो हालिन् । मेरो आँखा बाट आँसु होइन झरना बगिरहेको थियो । सुजिले मलाई अंगालोमा कस्दै लगिन् तर मेरो हात भने पानीले भरेको बाल्टी समातेको भान भइरहेको थियो अथवा भनौं मेरो हिम्मतले साथ दिइरहेको थिएन । मलाई सुजिले माया गर्छिन् यो अघोषित रूपमा प्रस्ट भइसकेको तर एक पलमा उनी आकाशको परि म धर्तिको पथ्थरमा परिणत भैसकेको थियो । एकतिर सुजिको मायाले आकास पाताल सारा सृष्टि फत्तेगरेको भान भएको थियो भने अर्को तिर म आपूmलाई त्यो जिद्दी बालक जो असम्भव बस्तुको लागि आर्तनाद गरिरहेको महसुस भएको थियो । एक मनले भन्दै थियो, ‘सुजि तिम्रो हो केवल तिम्रो हो, किनकी उस्ले तिमिलाई धेरै माया गर्छ । भगवानले तिम्रो लागि सृजना गरेर यो धर्तिमा झारेको हो । उ केवल तिम्रो हो तर मन भित्रबाट आवाज गुन्जिरहेको थियो’ । अर्को मनले, ‘बाबू तिमी स्वार्थी नबन स्वार्थी ….. कहाँ एक उच्च शिक्षित प्रतिष्ठित महिला । कहाँ तँ जस्तो मामुली दुई कौडिको साधारण मजदुर यो कुनै हालतमा पनि जायज हुदैन । तिमीहरु नदिको दुई किनारा हौ, यो जुनिमा मिलन असम्भव छ’ भनिरहेको थियो । र, फेरी अर्को मनले, ‘होइन होइन, म उ बिना बांच्न सक्दिन ।’ भनिरहेको थियो । म दोधारमा थिएँ । मेरो मनमा अनेकौं विचारहरुबीच खबरदारी गरिरहेको थियो । यसबीचमा मेरो मनले निष्कर्ष खोजिरहेको थियो ‘खबरदार त स्वार्थी हुन कदापी मिल्दैन यो पाप हो पाप … माया प्राप्ती होइन । माया निस्वार्थ हुनुपर्छ, हो माया निस्वार्थ हुनु पर्छ ।’ भन्ने विचारले जित्दै आएको थियो । मेरो अनुहारमा दृढ़ संकल्प झल्किरहेको थियो । ‘म सुजिको जिन्दगी कदापी बिगार्न चाहन्न । म उ बाट टाढा जानू नै सबै भन्दा उत्तम निर्णय हो ।’ भन्ने विचारले मेरो दृढ निश्चयले कस्सिदै गैरहेको मुट्ठी विस्तारै खुस्कदै गइरहेको थियो । मेरो सुजिप्रतिको आर्कषणलाई रोक्न खोज्दै थियो । यसैबीच मैले सुजिलाई तुरुन्तै अंगालोबाट अलग गरें । सुजिले मलाई बिन्ती भावमा हेरिरहेकी थिईन् ।






