फेसबुकमा मित्रता  

SHARE:

सेमन्त राई, संखुवासभा, हाल वेलायत

13/04/2020

मान्छे जन्मिन्छ, हुर्कन्छ अनि फेरी एकदिन यो संसारबाट बिलिन हुन्छ। जन्मदा एक्लो हुन्छ र जादा पनि एक्लै हुन्छ। जन्म पछिको समय भोगाईका चरणहरु नै अखिरमा यथार्थ जिन्दगी हो। एक नावालक हुर्कदै जाँदा अनेकौ समयकालका विभिन्न खण्डमा धेरै किसिमका अनुभवहरु बटुल्न शुरु गर्दछ। बाल्यकालका अबोध क्षणहरु कति सम्झनामा रही रहलान् कति नरहलान्। आफु बढ्दै जाने क्रमसंगै विभिन्न चरणमा नयाँ नयाँ कुराको अनुभव, नयाँ साथीहरुसंगको भेटघाट तथा फरक क्रियाकलापहरु हुदै जान्छन्। कुनै क्षण अविष्ष्मरणिय भएर जीवन भर रहन्छ भने धेरै जसो कुराहरु तलाउमा डुङ्गाका पाईलाहरु हराए झैं जीवन भोगाई संगै हराउंदै जान्छन्। ती अनुभवहरु कुनै सुख र आनन्दका हुन्छन् भने कुनै हृदय विदारक पनि हुन्छन्। यी सबै कुराहरु जीवन भोगाईका तलाउमा उब्जेका अग्ला होचा तरङ्गहरु हुन्।

मेरो जीवनका वाल्यखण्डका अनुभवहरु संखुवासभाको सदमुकाम खाँदबारी वरिपरि नै बटुलिएको थियो। मकालु हिमालको काखमा एका बिहानै झुल्के घामको प्रकाशले टल्केको सुन्दर दृश्य सहित प्रत्येक दिनको शुभमुहुर्त हुन्थ्यो। स्कुले जीवन भन्दा पहिलाको जीवनमा खासै उल्लेख गर्न लायकको एउटा मात्र घटना घटेको थियो। म नावालकै भएकाले त्यो कति पीडादायक थियो भनेर मैले भन्दा पनि हेर्ने देख्नेले मात्र अनुभव गरेका थिए। जब म स्कुल जान थालें घरबाट बाहिरको संसारसंग अलिकति परिचित हुदै गएँ। थुप्रै साथीहरुसंग भेटघाट र चिनजान हुन थाल्यो। कतिले राम्रो कुरा सिकाए कतिले नराम्रो, त्यो पनि बिस्तारै अनुभव गर्न थालें। प्राथमिक र निम्न माध्यमिक बिद्यालयको शिक्षा एउटै स्कुलमा भयो। जब कक्षा ८ बाट माध्यमिक तहको अध्ययन शुरु गरियो तब केहि जिम्मेवारी बोध भएको पनि भान हुदै गयो। यसरी नै माध्यमिक तहको अध्ययन पश्चात आफुलाई एक बयस्क तथा जिम्मेवार मान्छेको रुपमा उभिएको महसुस भयो। स्कुले जीवन समाप्त हुँदा बिचबिचमा भोगेका र अनुभव गरेका कुराहरुले कहिले मनमा आत्मग्लानी हुन्थ्यो भने कहिले खुशी पनि महसुस हुन्थ्यो। धेरै शिक्षकहरुसंग जीवनभर काम लाग्ने ज्ञान र उपदेश लिएर खाली दिमाग भर्ने क्रम दश साल सम्म लगातार गरियो। घरको काम र स्कुलको पढाईलाई सन्तुलन गरेर अगाढी बढ्न सजिलो त कहाँ थियो र तै पनि जेनतेन काम चलि रह्यो। ऊ बेलाका श्रद्देय गुरुहरु कति जना आज हामी माझ हुनु हुन्न भने कति जनासंग अझै ज्ञानगुनका कुराहरु आदान प्रदान भै रहन्छ।

जीवन भोगाई कै क्रममा उच्च तहको अध्ययन गर्न एक बयस्क मान्छेको रुपमा क्याम्पसे जीवनमा गरेको अनुभव भने अहिले सम्म मजाले यो मानष्पटलमा झलझली याद आउँछ। समय समयमा ऊ बेलाका सहपाठीहरुसंग आजभोली पनि क्याम्पसे जीवनको घटनाहरुको हँसी मजाक गर्ने गर्छौं। त्यो बेला आफु भने भरखरको ठीटौले केटो आफु भन्दा धेरै जेठो, कोहि विवाहित र बालबच्चा समेत भैसकेकाहरुसंग परिचय हुने मौका मिलेको थियो। संगै एउटै कक्षामा, उही बेन्चमा बसेर उही पाठ पढेका थियौं। बल्ल महसुस भयो पढ्नलाई उमेरले छेक्न सक्तैन मात्र आर्थिक, सामाजिक र व्यवहारिक जिम्मेवारीले गर्दा यस्ता कुराहरुबाट मान्छे बन्चित भएको हुन्छ। जीवनलाई अझ निखार्दै लाने क्रममा घरको जीम्मेवारी पनि आफूमाथि थुप्रिदै गएको अनुभव हुन थाल्यो। त्यो जिम्मेवारीले गर्दा आफुलाई स्वतन्त्र जिन्दगीबाट टाढिदै गएको भान हुन्थ्यो। नयाँ साथीहरुसगंको चिनजान त्यो बेला प्रत्यक्ष भेटघाट पछि मात्र हुने गर्थ्यो । ऊ बेलाका धेरै साथीहरु आजभोलि कहाँ के गर्दै छन् केहि पत्तो छैन। आफ्नो जीवन भने अगाढी बढ्ने क्रम रोकिएको छैन, लुखुरलुखुर जसोतसो आज सम्म।

अहिले समयको गति संगै जीवनले पनि ठुलो फड्को मारीसकेको छ। विश्व साँघुरो बनेको छ, संसारका कुनाकुनाका मान्छेहरु संग एउटा गाउँको झुपडीबाट होस् या घरको सिकुवाबाट होस् कुरा गर्न सजिलो छ। बन जंगल मेलापात जता सुकै भएका घटनाहरु संसार भर क्षण भरमा फैलन्छ। विज्ञानको प्रबिधि र विभिन्न लोकप्रिय सामाजिक संजालको माध्यमबाट चिन्दै नचिनेका र भेट नै नभएका मान्छेहरुसंग मित्रताको साइनो बढाउन सजिलो भएको छ। त्यो बेला पेनपाल वा पत्रमित्रताबाट मित्रताको सम्बन्ध जोडिन्थ्यो। भेटघाट र देखादेख नभए सम्म न कसैसंग मन साटीन सम्भव हुन्थ्यो। कुनै हाटबजार वा गोठाला खेतालामा साटीएको सम्बन्ध झाङ्गिएर गए पनि मनको कुरा पोखाउन उचित अवसर मिल्दैनथ्यो। कल्पनामा आफैं मस्त डुबेर अनेकौं सपनाहरु जन्मदै मर्दै गर्ने गर्थे।आजभोलि यस्ता कुराबाट कोहि पिडित हुनु परेको त छैन। तर लाग्छ त्यो बेलाको माया प्रीती नै दिगो र जैविक थियो कि? कतै त्यो बेलाको जैविक माया प्रिती र सम्बन्ध अब लोप भएर गएकै हो त? यो सबै आधुनिक प्रविधिकै असर हो भन्नुमा अत्युक्ति नहोला। हुनत प्रविधिको सहि सदुपयोग गर्न सके धेरै कुराको फाईदा नै छ तर यसको दुरुपयोगले पारेको नकारात्मक प्रभावहरु पनि समाजमा प्रसस्तै भेटिन्छन्। नयाँ प्रविधीलाई सहि ढंगले चलाउन सके आवश्यक पर्ने सामाग्री आफनै औंलाको टुप्पामा उपलब्ध हुन्छ। म पनि यो संजालको बिद्यार्थी नै छु र अछुतो भने रहन सकेको छुईन।

यस्तै क्रममा गत २६ नोभेम्बेर, सन् २०१९ का दिन अकस्मात एकजना अपरिचित व्यक्तिसंग फेसबुकमा जोडिन पुगें। नेपाली साहित्यमा अलिकति चासो भएको साथै गित लेखनमा पनि रहर गरेकाले उहाँसंग मेरो रुची मिलेको पाएँ। मेसेन्जरमा उहाँलाई गतसाल रेकर्ड भएको मेरो पहिलो गजल “चोखो माया लाउने मुटु” को युट्युब लिंक उहाँलाई पठाएँ। प्रत्युत्तरमा उहाँको पनि पहिलो गीतको युट्युब लिंक नै पाएँ। खोलेर हेर्दा “सुन्दर सपनाको घर” शब्द- शोभा सर्बदा, संगीत- भुपेन्द्र राई, स्वर- बन्दना राईद्वारा सुसज्जित मिठो सौगात रहेछ। मिठो शब्दहरु लेख्नु हुदो रहेछ शोभा जी। उक्त दिन देखि हामी एक सर्जक मनले सृजनाको प्रसंसा एकापसमा गरीरहेका हुन्छौं। फेसबुकमा पोस्ट गरेका सृजनाहरुलाई प्रोत्साहन युक्त कमेन्ट गर्छौं। सृजनामा कन्जुस्याई नगरी लेखी रहनु पर्छ भन्दै एकापसमा उत्साह जगाउने गर्छौं। आगामी दिनहरुमा गित संगीतको भावी योजनाहरुको बारेमा पनि छलफल गर्छौं। उहाँको कर्मथलो स्वास्थ्य क्षेत्रमा भएकाले अहिलेको संक्रमण कालमा आफुलाई सुरक्षित रहन सल्लाह दिने गर्छु। त्यसै गरी उहाँको सोहि कामना हामी प्रति उत्तिकै प्रगाढ रुपमा हुन्छ। उहाँबाट धेरै कुराहरुको बारेमा जानकारी प्राप्त हुन्छ र मैले पनि जानेको बुझेका कुराहरु उहाँलाई शेयर गर्छु।

उहाँको घर ईलाम, मेरो घर संखुवासभा, हाल बसाई वेलायत, न पहिला चिनेको न कुनै नाताले बाँधेको छ। केवल सामाजिक सन्जाल वा आधुनिक प्रविधिकै कारण हामी जोडिन सफल भयौं। उहाँ संगको सामाजिक संजालको सुनौलो भेट एक सहृदयी मित्र संगको भेट झैं महसुस भएको छ। लाग्छ अनेकौं नचाहिंदा कुराहरुमा कमेन्ट समय खेर फाल्नु भन्दा यसरी नै सामाजिक संजालको सहि सदुपयोग गर्न सके फाईदाजनक नै हुने रहेछ भन्ने कुराको महसुस भएको छ। मित्रताको सुची बढाउने क्रम जिन्दगी भर जारी रहन्छ तर जीवन भोगाईका क्रममा पुराना साथीहरुसंग पहिलाको झैं सुमधुर सम्बन्ध चाहेर पनि उस्तै नरहने अनुभव भैरहेछ। बाल्यकालका साथीहरु केवल थोरैसंग मात्र हिजोको झैं हितैसीपाना कायम रहेको छ। सायद समय, परिस्थितिले गर्दा मान्छेको आचरण र चाहानाहरु बद्लिएको हुन सक्छ। जसको फलस्वरुप पुराना पाईलाहरु मेटिएर नयाँ चरणमा नयाँ पाईलाहरु टेक्न हामी विवश भएका छौं। नयाँ शोखसंगै नयाँ साथीहरुसंगको भेटले आगामी दिन र वर्षहरुमा रोचक जीवनको कल्पना बोकेर जन्म र मरण बिचको जीवन यापन भई रहेको छ। हुन त यो सामाजिक संजालमा नराम्रा भावनाका मान्छेहरु संग भेट नभएको भने हैन। मित्रता छान्ने स्वाधिनता र स्वतन्त्रता भने आफनै हातमा छ। शोभा सर्बदा जी संगको भेट हाल भर्चुअल रुपमा भए पनि भविष्यमा कुनै दिन प्रत्यक्ष हुने आशा छ। हाम्रो मित्रता सदैब उत्पादन मुलक कार्यमा लागि रहोस्। हाम्रो अप्रत्यक्ष भेट एक वयस्क र शैक्षिक भेट हो र यो मित्रताको साईनो भने तलाउमा हिनेको डुङ्गाको पाईला झैं मेटिएर नजाओस्। हामीलाई शुभकामना !!

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!