एकेन्द्र गुरुङ
तमु धीं युकेको उपाध्यक्ष रामबजार सोसाईटी युकेको निवर्तमान अध्यक्ष जुमकाजी गुरुङले नेपालबाट फर्के पछि “स्वर्गको एक फन्को” नाम गरेको पुस्तक मेरो हातमा थम्याउनु भयो । यो तमु संसार त्रैमासिक पत्रिकाको प्रधान सम्पादक रोशनी गुरुङले लेखेको कविता संग्रह थियो । पुस्तक हेर्ने वित्तिकै कोमल र सुन्दर लाग्यो । गुरुङ साहित्यिक मञ्च नेपालको प्रकाशन भएको हरियो पृष्ठभूमिमा सुन्दर फुलको थुंगाले सौन्दर्य चेत राम्रो संग खुलेको देखिन्थ्यो । पुस्तक हात पर्ने वित्तिकै कहिले पढु, कहिले पढु हुन थाल्यो । हुनत नयाँ पुस्तक देख्ने वित्तिकै पढ्न पाए हुन्थ्यो लाग्ने मेरो आफ्नो पुरानो बानी नै भन्नु पर्छ । स्वर्गमा एक फन्को भन्ने वित्तिकै यस भित्र के छ भन्ने जिज्ञासा र कौतुहलले छिट्टै पुस्तक पढ्न प्रेरित भएँ । शुरु देखि अन्त्यसम्म कविता अधोपान्त पढें । कविता पढ्दा बिषय र प्रसंगले आफुलाई नछुँदा कहिले कहि पुस्तक पुरै नपढि बीचैमा आएर थन्किन्छ पनि तर यहाँ त्यो लागू भएन । पुस्तकमा समावेश बिषय वस्तुले मन छोयो, कविताकै लयमा म बगे, कवितामा चुर्लुम्म हुने गरी रमाई रहे, थाहै नपाई समाप्त भएछ । भाषा, शैली, सरल र सुन्दर लाग्यो विषय वस्तु सबै नेपालीको साझा भोगाई लाग्यो त्यसैले स्वर्गमा एक फन्को कविता संग्रहको बारेमा एउटा समिक्षात्मक टिप्पणी लेख्ने रहर पलायो । यो रहरले यो पुस्तकलाई न्याय दिन सकुला नसुकुला लेख्दैमा के विग्रिन्छ र भन्ने सोंचले यो आलेख लेख्ने कोशिस गर्न लागेको छु ।
कवितालाई विज्ञहरुले आ–आफ्नो ढंगले परिभाषित गरेका छन् । यहाँ नेपाल प्रज्ञा प्रतिष्ठान अनुसार कविता भनेको कविले भावना र अनुभूतिलाई छन्द र लयमा उनेर प्रस्तुत् गरिएको पद्यात्मक अथवा गद्यात्मक रचना वा कृति हो । मलाई लाग्छ कविता कुनै निश्चित परिभाषामा सिमित गर्नु राम्रो हुदैन । कविता शब्दहरुले व्यक्त गर्न नसकिएका भोगाई र बुझाईहरु पनि कविता बन्न सक्छन् । कविताले व्यक्त गर्न खोजेको बिषय जे सुकै भए पनि कविता पढ्ने पाठकले जे बुझ्छ र अनुभूति गर्छ, त्यसैलाई कविता भनिन्छ यसैमा केन्द्रित भएर स्वर्गमा एक फन्को कविता संग्रह पढ्दा मैले जे बुझें, जे अनुभूति गरें, त्यहि कुरा यहाँ उल्लेख गर्ने प्रयास गर्दैछु । यस पुस्तकमा समेटिएका कविताहरु नेपालको वर्तमान परिस्थितिको पृष्ठभूमि समेटिएका छन् ।

कवियत्रीले नेपालको प्रकृति, परम्परा, संस्कृति र समाजमा व्याप्त भोगाईलाई विम्व र मिथकको रुपमा प्रयोग गरेकी छन् । मैले धर्ती छाडेको दिन शिर्षकमा गुरुङहरुले मृत संस्कारमा गर्ने सबै विधि विधान र गतिविधीको संपूर्ण विवरण प्रस्तुत् गरेकी छन् । गुरुङ संस्कृतिमा आधारित भएर लेखिएको कविता यो भन्दा अगाडि पढेको थिएन । गुरुङ पूरोहितहरुले वाचन गर्ने वेदका मन्त्रहरु र श्लोकहरु, कर्मकाण्डमा बजाउने बाजाहरुको विस्तृत वर्णन गरेको छ । गुरुङ समुदायको वोन परम्परा, सभ्यता र दर्शनलाई मिहिन ढंगले प्रस्टाएको छ ।
उता घर भित्र पच्यु र क्हलेप्री गुरुहरुले
मेरो आत्मालाई एकोहारो पुकाईरहेछन्
आफ्नो कुरा निरन्तर सुनाई रहेछन् ।
कवियत्रीले यहाँ स्वर्गको कल्पना गर्दै कुनै एउटा सुन्दर वस्तीलाई प्रतिकको रुपमा व्याख्या गरेको छ । यसलाई कवियत्रीको लेखन कौशलता भन्न सकिन्छ ।
त्यहाँको मायाले बस्तीहरु हिडेर
आँखाको सौन्दर्य बटुल्दै गएँ
बाटोमा विछ्याएको चाँदीको सिढीहरु
बाटो वरिपरि फुलेका लालुपाते र मखमली फुलहरु
बुट्टेदार पछयौरी जस्ता देखिएका थिए
सुनको जलप सहितको घरहरु चम्केको देख्दा
चकित परेर हेरि रहें म ।
कहिल्यै पुग्न नसकिने, देख्न नसकिने तर सुख र शान्ति मिल्ने औलोकिक ठाँउ स्वर्गको विम्वको रुपमा कुनै सुन्दर ठाउँको अनुपम चित्रण गर्नु कवियत्रीको सौन्दर्य चेतको रुपमा लिन सकिन्छ । “घर फर्कि आउ छोरा” कविताले यतिखेरको नेपालको वास्तविक परिस्थितिको सटिक चित्रण गरेको छ । नेपालको सबै आमाहरुले बोल्ने भाषालाई टिपिक्क टिपेर बोलेको छ । जुन आमाहरुले बोल्ने गरेको आम भाषा हो । जस्ले सबैलाई भावुक बनाउँछ । असारको रमझममा नेपालको पहाडि जिल्लाहरु बिशेष गरि मध्यम वर्गिय परिवारको जीवन भोगाई प्रतिविम्वित भएको छ । स्याखु, गुन्द्रुक, ढिडो, गंगटो र भ्mयाउकरी सबैको जिब्रोमा आईरहने शब्दहरु हुन् । साहिली बज्यैको कथा सबै नेपालीहरुको साझा कथा हो, तिम्रो आगमन अभागी प्रेमीप्रेमिकाहरुको वियोगान्तक कथा हो । तिम्रो खोजी प्रेमको नाममा तड्पीरहनेहरुको व्यथा हो । अधुरो सपना कहिल्यै पुरा नहुने सपनाहरुको सपना हो र दसैं गाउँघरको यथार्थ तस्वीर लिएको बेजोड प्रस्तुति हो ।
आँखामा नाचिरहने यंजाकोट यस कविता संग्रह भित्रको सबैले पढ्न लायक एउटा नोस्टालजिया कविता हो । यसले सबैको मन मुटु छुन्छ ।
मैले खेल्ने गरेको घर आँगन
मैले घाँस दाउरा गरेको कुइचो बन
मैले क ख र पढेको सीताराम स्कुल
मेरो जीवनको अमूल्य किताव हुन् ।
यसमा यंजाकोटको मात्रै वर्णन हैन संगसंगै सिंगो नेपाली संस्कार संस्कृतिको नाली बेली छ । एउटा अवोध बालिकाको जिवन संघर्षको कथा छ । रोधीं, मेलापात, घाँस दाउरा, घाँटु, सोरठी र कृष्णचरित्रको जिवन्त वर्णन छ । सिंगो नेपालको मौलिक दस्तावेज छ । परदेशीको साथी र सन्तबीरको कथा उस्ताउस्तै लाग्छ । घरदेश र परदेशको वेलिविस्तार लगाएको छ । एक छाक खानाको अनवरत संघर्ष गर्नेहरुको कुरा छ । जुन सबै नेपालीहरुले भोगिरहेको साझा कथा हो । याद कवितामा आफ्नो काकाको यादमा छुताछुल्ल पोखिएको भावनाहरुको संगालो छ । फुल शिर्षमा आपूm फुल जस्तै भएर सुवास छर्नुपर्ने सुझाव व्यक्त गरिएको छ । पुसे पन्ध्रको रमझम स्वर्गमा एक फन्को कविता संग्रहको महत्वपूर्ण कविताको रुपमा लिएको छु । यो गुरुङ संस्कृतिको महत्वपूर्ण पाटो हो, यसलाई पहिचानको मुद्दा संग पनि लिने गर्दछ । नयाँ पिढीले यसलाई अंगिकार गर्नु पर्छ भनेर कवियत्रीले आप्mनो चाहना व्यक्त गरेकी हुन् ।
कवियत्री रोशनी गुरुङ
बीरलाल बाजे भेडी गोठमा बसेर थुप्रै हण्डरहरु संग पौठेजोरी खेलेर कठिन जिवन यापन गर्ने अनगिन्ती पात्रहरुको साझा नाम हो । बुकिफुलको वासना संगै यार्सागुम्बा निरमसी टिप्दै लाली गुराँसहरुलाई आप्mनै जिवन सम्झने नियतिको साक्षी हो । कवि, कवियत्रीको कवितालाई आफ्नो अनुभूति अनुसार ग्रहण गर्ने अधिकार पाठकमा सुरक्षित हुनुपर्छ भन्ने मेरो मान्यता भएकोले स्वर्गमा एक फन्को कविता संग्रहमा अहिलेको नेपालको समसामयिक परिवेशमा आम नेपालीले भोगेको भोगाईको कथा र कथाको परिकल्पना छ । नेपाली जनजिवनलाई जस्ताको तस्तै प्रस्तुत् गरिएको विम्वहरुको प्रतिविम्व हो । यहाँ माया प्रेमको कथाहरु छन्, संस्कार संस्कृतिको पाठहरु छन्, गाउँवेसीका भाकाहरु छन्, रोधी र घाँटुका रमाइला कुराहरु छन् । मैले खुलाउन नसकेका धेरै विम्वहरु छन्, जुन विज्ञ पाठकबाट खुल्ने आसा गर्छु । यसरि यो सुन्दर र मिठास कवि फेरि पनि पढ्न पाईरहोस् कवियत्री रोशनीलाई शुभकामना छ ।






