लकडाउनमा मुक्तक वाचन

SHARE:

सेमन्त राई

संखुवासभा हाल वेलायत  । नयाँ सालको आगमनसंगै संसारलाई महामारीको लगामले सर्लक्कै तानेको छ।यो बिकराल अवस्थामा हामी आफ्नै घर भित्र संकुचन भएर छट्पटीदै बसेका छौं।समय आजभोली लगाम बिना दगुरेको छ हामीलाई दासी बनाएर।बिहान र साँझको शुभपलहरुको खासै महत्व रहेको छैन जस्तो भान हुन्छ।एकाबिहानको कुखुरी काँ र चराको चिरबिरे आवाजले आजभोली खासै कुनै कुराको संकेत दिंदैन।जुन अवस्थामा दिन शुरु हुन्छ अन्त पनि त्यही अवस्थामा हुन्छ। साथीभाई आफ्ना आफन्तहरु सबैको उस्तै छ चाला।सारा शहर सुनसान मद्यरातको मसान घाट झैं बरु गाउँघर पो अलि ब्युँझेको होकी! कसैलाई थाहा छैन यो कस्तो संक्रमण हो भनेर।हरेक दिन नयाँ संक्रमित र मृतकको संख्या हेर्दा हेर्दै नयाँ सालको आधा उधि त भागी पो सकेछ।फोन, कम्प्युटर, अईप्याड टेलिभिजनको साहाराले दैनिकीमा साथ दिने गरेको छ।सामाजिक संजाल फेसबुक, ट्विटर, इन्स्टा, युट्युब, नेटफ्लिक्स जस्ता कुराको नहुने हो भने दिन कसरी गुज्रने थियो कल्पना गर्छु।मलाई पनि यहि कुराले थोर बहुत रुपमा प्रभाव नपारेको भने हैन।यो समयमा कुनै सामाजिक चाडको भेटघाट र रमझमका कार्यक्रममा सहभागी हुन नपाउँदाको छटपटीले भावुक भएर निकै कवि, कलाकारहरु जन्माएको उदाहरण पनि देखिन्छ।पुस्तक र कृतिहरु पढेर कोहि लेख्छन् कोहि लेख्दैनन् भने कोहि नपढी नै लेख्छन्।मलाई भने एउटा भनाईले झस्क्याई रहन्छ “नपढी लेख्नु साहित्यिक पखाला हो तर पढेर पनि केहि नलेख्नु साहित्यिक कब्जियत हो।” लाग्छ कहिले काहीं कतै मलाई साहित्यिक पखाला लाग्दै त छैन!

म साहित्य र बाँसुरीलाई समानान्तर रुपमा अगाढि बढाउने कोसिस गर्दैछु। यसै क्रममा समय र भावना उर्लदा लेख, गजल, कविता, मुक्तक, गित र हाईकु लेख्ने प्रयत्न गर्छु। विभिन्न साहित्यिक कार्यक्रममा सहभागी भएर आफु भन्दा अग्रजहरुबाट साहित्यको खुराक लिने गरेको छु।सबै भन्दा धेरै मुक्तकले मनलाई नजिक्याएको भान हुन्छ तर गजल लेखन पनि मेरो मन पर्ने विधा नै हो। मलाई मुक्तक लेखनको जानकारी राम्ररी भई सकेको छैन तर जानी नजानी लेख्न भने तम्सी रहन्छु।कुनै नयाँ विषय पाउनासाथ मुक्तक नै पहिला फुराउन मन लाग्छ। डुबेरै त लेखी हाल्न सक्दिन तर जस्ताको तस्तै बाहिरी खोलले नछोपी लेख्न मात्र सिक्दै छु।कहिले एक दिनमा नै केहि मुक्तक फुर्छन् भने कहिले केहि दिन वा हप्तामा। जम्मा गरेर राख्छु अनि आफैं पढ्छु कतै अर्थ दिन्छ के भनेर। कुनै ठिकै लाग्छन् कुनै आफैं बुझ्दिन र चिन्ह लगाउँछु फेरी बनाउनु छ भनेर।कहिले काहीं यसरी लेखिएका केहि मुक्तक सामाजिक संजालमा पनि लगाउँछु फेरी “वाउ, राम्रो, गज्जब, मिठो” जस्ता प्रतिक्रिया पाउँछ मेरा मुक्तकहरुले। मख्ख पनि हुन्छु त्यो बेला अनि अग्रजहरुको पढ्छु, हेर्छु, लाग्छ बिनसित्ती पोस्ट्याएछु।अरु बेला भन्दा यो महामारीको समयमा मुक्तक सृजना गर्ने मुख्य विषय थुप्रै भए, केहि मुक्तक बने पनि।म मुक्तक लेख्ने एक सिकारु विद्यार्थी हुँ र मेरो मुक्तक लेखन यात्रा धेरै लामो पनि भएको छैन।अझ खुलेर भन्नु पर्दा वेलायतमा रहनु हुने सम्पूर्ण मुक्तककारहरुको हौसला र प्रोत्साहन स्वरुप मुक्तक लेखन अगाडी बढाउँदैछु।नामै लिनु पर्दा डा रुपक श्रेष्ठ ज्युकै कारण म यहाँ सम्म आईपुगेको हुँ।जब म र भरत जी मुक्तकको बारेमा जिज्ञासु विद्यार्थी भएर साहित्यिक कार्यक्रममा सहभागी हुन्थ्यौं सायद ऊ बेला हाम्रा मुक्तकहरु मुक्तक थिएनन्।भाग्यवस डा. रुपक सरको साथ र संगत प्राप्त भयो।”धनुको ताँदो, गागरमा सागर अटाउने” जस्ता विभिन्न किसिमका उदाहरण सहित मुक्तक लेखनका लागि चाहिने तत्वहरुको जानकारी उहाँबाट पाउँदै गयौं।हरेक मुक्तकमा तुक हुनु पर्ने, पहिलो पंक्तिमा उठान, दोश्रोमा अझ प्रष्ट्याउने, तेश्रोमा कौतुहलता जगाउने र चौथोमा समाधान गर्ने कुराहरुको जानकारी हुदै आयो। जस्तै:

गागरमा सागर अटाउने मुक्तक नै रहेछ हजुर

थोरै शब्दले धेरै बताउने मुक्तक नै रहेछ हजुर

धनु टिपी ताँदो चढाई निशानीमा छोड्न सके

मुटु छेडी कलेजो फटाउने मुक्तक नै रहेछ हजुर

यस्तै गरी शुक्रबार, १२ जुन, सन् २०२० का दिन नेपाल मुक्तक प्रतिष्ठान वेलायतले एक भर्चुअल मुक्तक वाचन कार्यक्रम आयोजना गरेको खबर पाउँदा खुशी लाग्यो ।यो कार्यक्रमको मुख्य उद्देश्य भर्खरै दिवंगत हुनु भएका नेपाल मुक्तक प्रतिष्ठानका सल्लाहकार स्व. रत्नशम्सेर थापा, वेलायतमा बस्दै आउनु भएका कवि स्व. गोपाल शाही पथिक र अन्य दिवंगत साहित्यकारहरुको सम्झना र श्रद्धान्जली अर्पण गर्न आयोजना गरिएको थियो।संस्थाका अध्यक्ष दुर्गा प्रसाद पोख्रेलको सम्योजकत्वमा सम्पन्न भएको उक्त कार्यक्रममा संस्थाका सल्लाहकारहरु डा. रुपक श्रेष्ठ, बिनोद अधिकारी लगायत गोकुल भन्डारी, सेमन्त राई, नृपेश उप्रेति, भरत लोहोरुङ्ग राई, नानु राना, रबिन जोशीको सहभागिता रहेको थियो।यो विषम परिस्थितिमा वेलायतमा रहनु भएका मुक्तककारहरुसंग यसरी भेट हुने खबरले मलाई हर्षित बनायो। दिवंगत हुनु भएका साहित्यकारहरुको समर्पणमा आयोजना गरिएको कार्यक्रम भए पनि वेलायतका अग्रज साहित्यकारहरुसंग अप्रत्यक्ष नै भए पनि भेटघाट हुने एउटा सुनौलो सौभाग्य ठानें मैले।आफुले जानी नजानी लेखेका मुक्तक कसलाई सुनाऊँ, सुनाऊँ भएको बेलामा मुक्तक लेख्न सिकाउने शिक्षकहरुको माझ प्रस्तुत गर्न पाउनु अति नै खुसीको कुरा थियो।लाग्यो वार्षिक परिक्षामा बस्ने राम्रो अवसर हो यो।फरक त्यति थियो अप्रत्यक्ष रुपमा लेखन र वाचनको जांच आफ्नै सुबिस्ताले घरैबाट दिन सकिने।

भौगोलिक रुपमा जहाँ रहे पनि प्रविधिको प्रयोगले आ-आफ्नै वासस्थानबाट भिडियो जुम मार्फत उक्त कार्यक्रम निर्धारित समय अनुसार साँझको छ बजेर पांच मिनेटमा शुरु भएको थियो। मुक्तक प्रतिष्ठान नेपालका केन्द्रिय सल्लाहकार स्व. रत्न शमशेर थापा, वेलायतमा रहँदै आउनु भएका कवि स्व. गोपाल शाही पथिक साथै वेलायत शाखाकी उपाध्यक्ष श्रीमती प्रतिमा केसीका पिता स्व. तुलसीराम जिसीको दिवंगत आत्माको चिर शान्तीको कामना साथ हार्दिक श्रद्धान्जली अर्पण सबैको तर्फबाट संस्थाका अध्यक्ष तथा कार्यक्रम संयोजक दुर्गा प्रसाद पोखरेलले नै गर्नु भयो। नेपाल मुक्तक प्रतिष्ठान केन्द्रिय अध्यक्ष रामकाजी कोने ज्युको कार्यक्रमको शुभकामना संदेश पनि उहाँले नै पढेर सुनाउनु भयो।आफ्नो तलको मुक्तक वाचनसाथ कार्यक्रमको उठान गर्दै संस्थाका अध्यक्ष श्री दुर्गा प्रसाद पोखरेलले वेलायतका सम्पूर्ण सहभागी मुक्तककारहरुलाई कार्यक्रममा स्वागत गर्नु भएको थियो।

कि त सृजना संग पिरती लाउन पाईयोस्

कि त भावना संग मन मिलाउन पाईयोस्

तब न जिन्दगी सार्थक भएको मान्नु

कि त मन पर्ने मुक्तकहरु गाउन पाईयोस्

राज श्रेष्ठको दुई सुन्दर मुक्तकहरुबाट शुरु भएको वाचन कार्यक्रममा उपस्थित सबैलाई पालो पालो आफ्ना मुक्तक बाचन गर्ने मौका प्रदान  गरिएको थियो।

) राज श्रेष्ठ ~

क)

ओछ्याई घुम्तीमा रगतका तुलहरु

नगर्ने भयौ अबदेखि कुनै कबुलहरु

एक थुप्रो माटो बिसाएछौ नि दाजै

चढाउँछु पाउहरुमा श्रद्धाका फूलहरु।।

ख)

सम्झना मन भरी हुन्छ

आँखाकै वरिपरी हुन्छ

भेटिन्नौ थाहा भएरै झन्

तिर्सना घरीघरि हुन्छ।।

) सेमन्त राई~

क)

कान्छी संग ठट्टा गर्दै बैंश गयो घुम्तीहरुमा आउँदा

रगत उम्लने देश सिगार्न नौ जवानलाई जगाउँदा

जिन्दगीका उकाली ओरालीमा सप्तरंगी फूलसंगै

घर सम्झाउने जब बिछोडको पीडाले सताउँदा ।।

ख)

कोहि शहिद भएर देशका लागि सेवा भो

कोहि परदेश गएर देशकै अर्थमा टेवा भो

नेताहरु जनताले नै चुनेका राज्य चलाउन

राजनिती त पालो पालो नेताको पेवा भो।।

ग)

चिन्न सकिएन उसलाई टाढैबाट हेरेर बसियो

रमाउन दिएन संसारलाई रुटिन फेरेर बसियो

भाग्यमा लेखेकै कुरा भगवान लिएर आउँछन्

रम्न पाईएन रहरलाई कहरले सरेर बसियो ।।

) नृपेश उप्रेती~

क)

पुरै देखिए के होला बल्ल दुई तिहाई देखियो

देख्ने नहुने कुरा पनि छर्लंग नाचिहाई देखियो

विशेस वस्त्रमा छु भन्ने भ्रम भयो महाराजलाई

जब निर्बस्त्रहरुको तारिफ र हाई हाई देखियो ।।

ख)

निरन्तर बगी रहने प्रेमको कन्चन मुल हो

कहिल्यै नोईलाउने सुगन्धित फुल हो

चिन्नेहरुले यसरी पनि चिन्छन् नृपेशलाई

तिमीले चिन्न सकेनौ यो अब तिम्रै भुल हो ।।

ग)

बाटोले फेरी हिड्ने बाटो पाएन

माटोले स्वयम् टेक्ने माटो पाएन

भोक भोकै मरेछ आज भोक पनि

पापी पेट भर्न थोरै आँटो पाएन।।

) भरत लोहोरुंग राई~

क)

सुन्दर शब्द पस्किन मै सारा जीवन भो सपर्पण

जीवन मात्र थिएन त्यो थियो साहित्यको दर्पण

फूलहरु त ओईली जान्छन् के चढाउँ बिदाईमा

उनकै पाईला पछ्याउँदै गर्छु मुक्तक यो अर्पण ।।

ख)

बगैचामा फुलेको फुल रछ्यानमा सारिनु हुन्न

कालोलाई बाहिर र गोरोलाई भित्र पारिनु हुन्न

मानवता जिन्दावाद, नश्लवाद, रंगभेद मुर्दावाद

नवराज र जर्ज फ्लोईडहरु यसरी मारिनु हुन्न ।।

ग)

हुनेहरु खाए होलान् म त काम खोज्दै थिएँ

राहत पनि बाँडे अरे कुन्नि कस्लाई रोज्दै दिए

भोकमरीले घेरी रह्यो आकाशले नि हेरी रह्यो

के गल्तिको सजाय हो भगवानलाई सोध्दै थिएँ।।

) गोकुल भण्डारी~

क)

फूलहरु जहाँ फुल्छन् मन झुल्छ त्यहाँ

तिनै फूलहरु बीच मन डुल्छ त्यहाँ

पापी मन कहिले काहीं लुकी छिपी हेर्छ

अरु धेरै फुल रोज्न धाउँछ कहाँ कहाँ ।।

ग)

चोखो माया पबित्र छ भन्छन् यहाँ सबै

विश्वास घात धोका मात्र मान्छे भित्र संधैं

स्वार्थ पुर्ती गरे पछि लत्याई हिड्ने चलन

प्रवृति यो निच किन हट्दैन हो अझै ।।

ङ)

कहिले खुशी कहिले रोदन जीवन घाम छाया

सकिदैन एक क्षण पनि बाँच्न बिना माया

जन्मे पछि मर्ने पर्ने मानिसको चोला

डरै डरमा बाँच्नु पर्ने हेर्दै दाया बाया ।।

ख)

जमाना लौ कति सारो परिवर्तन भाको

ईर्ष्या अनि अहमताले जलेको छ राँको

तृप्ति कहाँ मिल्ने होला भरिदैन गाग्री

मान्छेहरु मात्र यहाँ लोभी किन भाको ।।

घ)

मन दुख्छ प्रियजन छोडी जाँदा खेरि

अतालिदै दिल रुन्छ आउदैनन् फेरी

दु:ख कष्ट गाली दिन्छन् बाचुन्जेल यहाँ

पश्चातापको आगोभित्र जल्छन् संधै भरि ।।

च)

जीवन एउटा यात्रा त हो यात्रीहरु हामी

चढ्ने कहाँ झर्ने कहाँ अनभिज्ञ हामी

थुप्रै नाटकहरु मन्चन हुन्छन पर्दाभित्र

अचम्मको संसार यो अनि जिन्दगानी ।।

छ)

हाँसी खुशी शान्तीसंग बाँच्न पाए राम्रो

सेवा धर्म गर्नु यहाँ कर्तब्य हो हाम्रो

सकारात्मक सोचको बिकाश गर्दै अघि बढे

सफलताले आकाश छुन्छ बन्छ जीवन राम्रो ।।

) नानु थापा राना~

क)

नेपाली साहित्यमा तिमी हौ एक अनमोल रत्न

तिम्रो सम्मानमा दुई हरफ कोर्ने गरें सानो प्रयत्न

तिमी सदैव अमर बनिरहनेछौ साहित्य नक्षत्रमा

श्रद्धा सुमन अर्पण गरें धेरै त सक्दिन होला समेट्न ।।

ख)

मलजल गरेर मलिलो बनायौ साहित्यको माटो

टारेर नटर्ने मृत्यु ढिलो चाडो त्यही हो सबैको बाटो

अपुर्णिय क्षति भो नेपाली साहित्यमा अमर छौ तिमी

साहित्य भण्डारको कुवेर देख्यौ होला गालाको आलो टाटो ।

ग)

आलै छ पिडा ह्रदयमा पा’छैन् बस्न खाटो

अपरिहार्य छ तिम्रो कृति र साहित्यको पाटो

घुम्तीमा नआऊ है भन्दै कुन घुम्ती काट्यौ ?

कदापि हुन सक्ने छैन परिपूर्ति तिम्रो साटो ।।

) रबिन जोशी~

क)

आमा तिम्रो दुधको भारा तिर्ने बेला आयो

अत्याचारको जालो अब चिर्ने बेला आयो

भेडाको खोल ओढी ब्वाँसो छिर्यो बगालैमा

त्यहि ब्वाँसो खेद्ने तरबार भिर्ने बेला आयो ।।

ख)

जिन्दगीको महत्व र आवश्यकता जाने पछि

हिजो सम्म पराई आज आफ्नै मुटु ठाने पछि

कलियुगको कृष्ण भा’छु प्यारो रुक्मिणिको

चौधै भुवन तीनै लोकको भेद जाने पछि ।।

ग)

एक्लै छाडी नजाऊ प्रिये रात बाँकी नै छ

तिमीसंग गर्नु पर्ने बात बाँकी नै छ

जस्तो दु:ख परे पनि गैन अन्तै मरे पनि

तिम्रै लागि साँची राख्या मात बाँकी नै छ ।।

) प्रतिमा केसी~

क)

जनताको के लाग्छ र ठेकेदारले कर छलेपछि

घरहरु सबै कुहेका छन् डढेलोले घर जलेपछि

बारी भत्क्यो मोटर आयो बिकाश भयो भन्छन्

सुनसान छ गाउँ पिपल चौतारी र बर लडेपछि ।।

) बिनोद अधिकारी~

क)

स्यालहरु पानीले आवाज चुट्न थालेका छन्

मौका मिलाई महामारीमा फेरी लुट्न थालेका छन्

यिनीहरुकै दम्भ र अहंकार देखेर अब

भ्रष्टाचारको बिरुद्धमा स्वाभिमानीहरु जुट्न थालेका छन् ।।

ख)

सारा जुट्यो एउटा फुट्यो ऊ कुन भेषको थियो

अबुझ होकी बुझ पचाउने ऊ कुन देशको थियो

देशले शिर सिधा पारी टोपी मिलाउन खोज्दा

राष्ट्रभाषा बिर्सिने उसको लामो एस थियो।।

ग)

मुसाहरु पहाड पर्बत दुलो पार्दैछन्

सिमा गौंडा आलीहरु धुलो पार्दैछन्

जागजाग नेपाली सबै जाग्नु पर्छ

गौरब हाम्रो मातृभूमि धुलो पार्दैछन ।।

 १०) दुर्गा प्रसाद पोख्रेल~

क)

जीउनुको अर्थ एकमुठी सास रहेछ

डर भन्दा ठुलो कुरो त आस रहेछ

कोरोनाले सम्झाई दियो जीउनुको ढंग

मान्छे भन्दा प्रकृतिको आस रहेछ ।।

ख)

संसार कतै भोग, कतै रोग त कतै योग हो

कतै प्रेम आसक्ति, त कतै विरक्ति वियोग हो

सधै एकैनास नहुनु यहाँ स्वाभाविक छ

संसारमा हुनु भनेकै सुख दु:खको संयोग हो।।

ग)

कहिले मन पनि फुलको थुङ्गा जस्तो

कहिले अति सारो बाटाको ढुंगा जस्तो

कहिले आफु कतै चुर्लुम्म डुब्छु जस्तै

कहिले त अहो सबैलाई तार्ने डुंगा जस्तो ।।

कार्यक्रमको अन्तमा संस्थाका सल्लाहकार डा.रुपक श्रेष्ठले नेपाली साहित्यका धरोहर स्व. रत्न शमशेर थापा, वेलायतका ससक्त साहित्यकार स्व. गोपाल शाही पथिक तथा श्रीमती प्रतिमा केसीका पिता स्व. तुलसीराम जिसी प्रति श्रद्धान्जली अर्पण गर्दै समवेदना प्रकट गर्नु भएको थियो।कार्यक्रममा वाचन गरिएका मुक्तकहरुको छोटो समिक्षा गर्दै सबै मुक्तकहरु समसामयिक विषय वस्तु वरिपरी रहेको कुरा बताउनु भयो।भ्रष्टाचार, माया, पिरती, राजनिती, कोरोना र देशप्रेम कै वरिपरी रहेको मुक्तक बाचन भएको कुरा बताउनु भयो।गत वर्षको तुलनामा सबै मुक्तककारहरुको मुक्तकमा स्तरोन्नती भएको कुरा बताउनु भयो।जाँदा जाँदै अन्तमा मुक्तककार स्व. रत्न शमशेर थापा कै यो मन छुने मुक्तकलाई श्रद्धा सुमन चढाउँदै कार्यक्रमको अन्त गर्नु भएको थियो।

“कुल्ची हिंड हाँसी हाँसी यो छाती तिम्रै बाटो हो

मेरो देह केहि होईन केवल एक थुप्रो माटो हो

गालाको पाटाको लामो धर्सो त्यो घाउ हैन

त्यो त झरी सुकेको एक थोपा आँसुको टाटो हो” – रत्न शमशेर थापा

प्रविधि र समयको सहि सदुपयोग भएको उक्त कार्यक्रमले एउटा भिन्नै किसिमको अनुभव दिएको महसुस भयो।सायद नेपाल मुक्तक प्रतिष्ठान वेलायतको ईतिहासमा यो पहिलो भर्चुअल कार्यक्रम थियो। हामी समयको दासी भएकै कारण होला समयले जता हुत्याउँछ उतै बहकिन्छौं।मन बहकाएर मुक्तकबाट नै थोरै बिरह, रीस, असन्तुष्टि, खुशी, माया, प्रेम, घृणा, दु:ख, पिडा, चिन्ता ब्यक्त गर्न मुक्तक प्रतिष्ठान वेलायतमा भेला हुने मौका जुर्यो।छोटो तर एकदमै संयमित रुपमा संचालित कार्यक्रममा सहभागी हुन पाउँदा अलिकति उर्जा थपिएको महसुस भयो।राम्रा राम्रा सृजनाका खुराकले एकोहोरी सकेको जिन्दगीमा औषधिको काम गरेको अनुभुत भयो।आगामी दिनहरुमा अझ ससक्त मुक्तक सृजना गर्ने प्रेरणा प्राप्त भयो।यसका लागि पुन: संस्थाका अध्यक्ष दुर्गा पोखरेल ज्युलाई हार्दिक धनयवाद दिन चाहन्छु।निकट भविष्यमा अझ धेरै मुक्तक सुन्न र सुनाउन पाउने उचित समय छिट्टै फर्कियोस्।

जय मुक्तक, जय साहित्य !

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!