कांग्रेसलाई भ्रष्टाचार, दण्डहीनता, अनुशासनहिनता र अराजकताले निल्नै लाग्यो

SHARE:

जगदीशश्‍वर नरसिंह केसी 

 नेपाली कांग्रेसमा जसका मुखाराविन्दबाट पनि सभापति र महत्वपूर्ण पदाधिकारीको लागि मात्र उम्मेदवारीको दाबी सुनिएपछि, आगामी चौधौं महाधिवेशन भनेको समयसांपेक्ष जनमुखी नीति, एजेन्डा, विचारधारा, नवीन मूल्य–मान्यतालाई आधिकारिकता दिने र त्यसका लागि पदाधिकारी नेतृत्व चाहिने सुझबुझ पूरै उपेक्षित र तिरस्कृत भएको वा बिर्सेको हो त ? भन्ने प्रश्नवाचक निचोड बन्दछ ।

मेरो भनाइ— पदको दाबी गर्न वा आफ्नो महत्व बढाउनै नपाइने भन्ने अर्थमा नबुझियोस् । पार्टीका केन्द्रीय सभापति, प्रदेश, जिल्ला तहका सभापति र अन्य पदको दाबी गर्नेले सो पदमा बसेर पार्टी संगठन कस्तो बनाउने कटिबद्धता लिएको हो ? के–कस्ता नीति, प्रतिबद्धता, मूल्य–मान्यता स्थापित गर्न आफू पदको दावेदार भएको हो, त्यसबारेमा नामोनिसान केही छैन । घरदैलो र शक्तिकेन्द्र धाएर पदको दाबी गर्नेको यस्तो ‘पद–यात्रा’ अभियान, पार्टीको लागि ताजा लोकप्रिय मार्गदर्शक प्रस्ताव, योजना, कार्यक्रम, पार्टी संगठित, संस्थागत र विधानसम्मत तरिकाले चलाउने, सबैलाई विश्वासमा लिएर काम गर्ने नवीन विस्तृत योजना प्रस्तुत गर्न सकेमा मात्र दाबीको औचित्य स्थापित हुनसक्छ । गतिलो भाग खोज्ने हकमा जिम्मेवारी, कर्तब्य, दायित्व, अभिभारा र वैचारिक स्पष्टता पनि भरोसायोग्य रुपले प्रकट हुनुपर्छ । तबमात्र पदको दावेदार हुन सुहाउँछ ।

विगतमा देखापरेको सिद्धान्तहिन चरम गुटबाजी, ६०-४० को भागबण्डा, पार्टी विधानको हुर्मत लिएर सिंगो पार्टीलाई नै बर्बादीको खण्डहरमा पुर्‍याएको कुकृत्यलाई सच्याउने विचार, योजना र दृढता कहाँ छ को सँग छ ? आफू पदाधिकारी चुनिएमा गुटबन्दी, भागबण्डा रोक्न भागबण्डाबाट पाउने वा आउने हिस्सा कुनै हालतमा लिन्न भनेर किन भन्न सक्दैनन् यी दावेदारहरू ! पार्टीलाई भ्रष्टाचार, दण्डहीनता, अनुशासनहिनता र अराजकताले निल्नै लागेको आजको परिस्थितिबाट पार्टी जोगाएर नयाँ जीवन दिने विचार, योजना, लक्ष्य र प्रतिबद्धता नभएकालाई किन निर्वाचित गर्ने, केका लागि गर्ने ?

अब सभापति वा महत्वपूर्ण पदाधिकारी उमेदवार हुने, विजयी र पराजित सबैले ४०/६० को कुख्यात भागबन्डामा सामेल हुन्न, दिए पनि लिन्न वा दिन्न भनेर प्रतिबद्धता जनाउनै पर्छ । पार्टीको विधान र अनुशासनको इमानदारीका साथ पालन गर्न गराउने परिपाटी बसाल्नुपर्छ । जित्नेले हरेक क्षेत्रमा मेरो र उस्को भन्दा पनि पार्टीको लागि त्याग र योगदान गरेको, लोकप्रियताको आधारमा मूल्याङ्कन गर्नुपर्छ । गणेश वा मन्थरा प्रवृत्तिको अन्त्य गर्ने आँट व्यबहारमा सावित गर्नुपर्छ।

यो पार्टी त्यागी नेताहरूले बनाएको हो भने बागी, दागी र सोवुधाभोगी नेतृत्वबाट आज पीडित हुनपुगेको छ । पहिलेको कांग्रेसमा ‘पार्टी कार्यक्रम र संघर्षमा योगदान पुर्‍याएको’ प्रोफाईल हेरिन्थ्यो । आजकाल पदको दाबी गर्नेमध्ये कतिपयबाट ‘पार्टीमा ठूलो लगानी गरेको’ कुरीकुरीलाग्दो हिसाब सुनिन्छ । पार्टीप्रति समर्पित क्रान्तिकारी कार्यकर्ताले ‘योगदान’ गर्छ, ब्यापारीले अन्य क्षेत्रबाट आएर अवसर लिनेले पो ‘लगानी’ को हिसाब सुनाउँछ ।

नेपाली कांग्रेसको मूल्य, मान्यता, विचारधारा, इतिहास, संस्कार, परम्परा, सभ्यता बुझेका तमाम निष्ठावान् कार्यकर्ता साथीहरूले कसैसँग रिसाउनुपर्ने त होइन, तर भद्रता र जिम्मेवारीपूर्ण सावधानी अपनाउनुपर्ने जरुरी भइसक्यो । पार्टीमा त्यागीहरू किनार लाग्ने, दागी, बागी र सुविधाभोगीहरूको हालीमुहाली चल्ने कुप्रथालाई निर्ममताका साथ अन्त्य गर्न चौधौं महाधिवेशनका लागि आजैदेखि हामी मानसिक र वैचारिक रुपले तयार हुनु नै सामूहिक लक्ष्य भेट्ने हाम्रो एकमात्र बाटो हो हुनुपर्नेछ ।

अन्तमा जननायक बीपी कोइरालाले भन्नुभए जस्तो “लोकतन्त्र आएपछि सुकिला, मुकिला, चिल्ला गाडी चढ्नेहरू र पैसावाल पार्टीमा हाबी हुनेछन् । सच्चा इमान्दार निष्ठावान् कार्यकताले फेरि एक पटक आन्दोलन गर्नुपर्नेछ ।”

(लेखक नेपाली कांग्रेस नुवाकोटका सभापति हुन् ।)

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!