ललितपुर । ललितपुरको गोदावरी नगरपालिका–६ की ३५ वर्षीया मुना थापा विगत पाँच वर्षदेखि मिर्गौला रोगबाट पीडित हुनुहुन्छ। लामो समयदेखि उपचार गराइरहनुभएकी उहाँलाई आर्थिक अभावका कारण उपचार र दैनिक खानपिनमा समेत समस्या परेको छ।
मुना हाल धापाखेलस्थित सुमेरु अस्पतालमा डायलाइसिसलगायत उपचार गराइरहनुभएको छ। अस्पतालका मिर्गौला रोग विशेषज्ञ डा. विक्रम वीर बज्राचार्यका अनुसार उहाँलाई सीकेडी-भी र एचटीएनको पनि समस्या देखिएको छ। उहाँको २०७९ पुस २२ गतेदेखि नियमित डायलाइसिस भइरहेको छ।
लामो समयदेखि रोगसँग संघर्ष गरिरहनुभएकी मुनाको उपचारमा ठूलो रकम खर्च भइसकेको छ। तर आर्थिक अवस्था कमजोर हुँदा औषधि उपचारदेखि दैनिक खानपिनको व्यवस्थापन गर्नसमेत कठिन भएको छ। उहाँका पति हिराकाजी क्षेत्री पनि आर्थिक समस्याका कारण पत्नीको उपचार खर्च जुटाउन संघर्षरत हुनुहुन्छ।
पीडित मुना थापाले आफ्नो उपचार, कोठा र खानपानमा समस्या परेकोले देश विदेशमा रहनुभएका नेपालीलाई सहयोग गर्न अनुरोध गर्नुभएको छ । त्यस्तै उहाँकी पति हिराकाजी क्षेत्रीले पनि आर्थिक समस्या ठूलो भएकोले देश, विदेशमा रहनुभएका सबै नेपालीमा बिन्ती बिसाउनुभएको छ ।
केही दिनअघि तिहार पर्वका अवसरमा मुनाको डेरामै पुगेर अमेरिका निवासी चलचित्र निर्माता तथा नायिका एन्सर्ज गुरुङले १० हजार रुपैयाँ र सञ्चारकर्मी टीकाराम तामाङले औषधि र खानपिनमा केही सहजता होस् भन्ने उद्देश्यले ५ हजार रुफैयाँ आर्थिक सहयोग गर्नुभएको बिरामीका पति हिराकाजी क्षेत्रीले जानकारी गराउनुभएको छ ।
उहाँहरूको बसोबासको अवस्था र आर्थिक कठिनाइ प्रत्यक्ष देखेपछि थप सहयोगको आवश्यकता महसुस भएको सहयोगीहरूले बताएका छन्। मुनाको कमजोर आर्थिक अवस्थालाई मध्यनजर गर्दै गोदावरी नगरपालिका–६ का वडाध्यक्ष विष्णुमान महर्जनले पनि उहाँको उपचारका लागि सहयोग गर्न सबैसँग अपिल गर्नुभएको छ।
मुनाको उपचारमा सहयोग गर्न चाहने व्यक्ति तथा संघसंस्थाले उहाँका पति हिराकाजी क्षेत्रीलाई मोबाइल नम्बर ९८२२४९००५० मा सम्पर्क गर्न सक्नेछन्।







