
चिम्खोले काइँला
आदरणीय जेठा दाइ, मिलनसार मित्र, समाजसेवी तथा संगीतप्रेमी सम तिलिजा दाइको असामयिक निधनले म स्तब्ध भएको छु । उनको अन्तिम बिदाइ यही आउने बुधबार २९ अक्टुबरको दिन हुँदै छ । तर कोभिड १९ को कारणले गर्दा उनको अन्तिम बिदाइमा म उपस्थित हुन असमर्थ भएको छु । त्यसैले उनको स्मृतिमा केही शब्द लेख्ने प्रयास गर्दै छु ।
बास्तबमा सम दाई मेरो आदरणीय दाई मात्र थिएनन् । उनि मेरो असल मित्र तथा अबिभाबक थिए । दाईसंग बाल्यकालमा म उनिसंगै भैसी गोठमा बसेको छु । उनीसंग परिमा तथा परम लागेर काम गरेको छु भने हामी दुइभाइले एउटै स्कुलमा अध्ययन गरेको हो । हामी दुइभाई भारतीय सैनिकमा लाहुरे हुन गोरखपुर पनि संगै गएको हो तर हामी दुवै लाहुरे हुन असफल भएपछी संगै घर फर्किएर आएका थियौं । केहि बर्षपछि हामी दुवै ब्रिटिश आर्मीमा लाहुरे भएका थियौं । ब्रिटिश आर्मीमा लाहुरे भएपछी पनि हाम्रो छुट्टी प्रया: संगै पर्थ्यो। छुट्टिमा दाज्युले ठेलो फ्याकेर जिते पछि मैले उनलाई काँधमा बोकेर दुलाउथे । सम दाइले ठेलो जितेको उपलक्षमा साफा (धरो) किनेर धरो लगाइदिन्थ्ये । सम दाई अलि हक्की स्वभाब भएको व्यक्ति थिए । उनले भनेको मान्नु पर्ने । मैले उनले भनेको सधै मान्थे तर एकदिन मैले उनले भनेको नमानेपछि, मैले उनको पिटाइ पनि भेटेको छु । सम दाइले मलाई अर्ति बुद्धि, ऋण, माया सबै थोक दिएका छन । सम दाई बास्तबमा दयालु स्वभाब भएको व्यक्तित्व थिए । उनको माया आँखामा झझल्किन्थ्यो । उनको घरपरिवार इस्टमित्र तथा उनले चिनेको जानेको व्यक्तिहरुलाई लुगाफाटा, सरसामान तथा पैसा नपुगेको तथा नदिएको व्यक्ति सायद बिरलै होला । घरमा भाइहरु एक तिलिजा र ललित तिलिजालाई काठमान्डौ माउण्ट भ्याली स्कुलको होस्टेलमा राखेर पढाएका थिए।
सम दाइको जन्म साबिकको धौलागिरी अञ्चल, मुस्ताङ्ग जिल्ला, चिमखोला गाउँ पंचायत चिमखोला खोलापारी गाउँ हालको रघुगंगा गाउँ पालिका वडा नम्बर ७ चिम्खोलामा पिता बिर बहादुर तिलिजा र माता पिटिका पुन तिलिजाको कोखबाट भएको थियो । उनको बाल्यकाल चिमखोला घर, गोठ, स्कुल, घाँस दाउरा तथा खेती किसानमा बितेको थियो । सम दाइले कक्षा ५ उतिर्ण गरेपछि निम्न माध्यामिक बिद्यालय अध्ययन गर्नको लागि छिमेकी गाउँ बेग गएका थिए । छिमेकी गाउँ बेगमा कक्षा ६ को अध्ययन गरेपछि आफ्नै गाउँ चिम्खोलामा अमर निम्न माध्यामिक बिद्यालय स्थापना भएपछी फेरि आफ्नै गाउँ चिम्खोलामा कक्ष ७ र ८ को अध्ययन पुरा गरेका थिए । कक्षा ८ को अध्ययन पुरा गरेपछि लाहुर जान लागि कोशिस गर्नेक्रममा ब्रिटिश सैनिक तथा भारतीय सैनिकमा प्रवेश गर्नको लागि पनि कोशिस गरेका थिए । ब्रिटिश सैनिक तथा भारतीय सैनिकमा प्रवेश गर्नेक्रममा सन १९७९ मा ब्रिटिश सैनिकमा प्रवेश गरेका थिए। उनको आर्मी नम्बर २११६२४१५ हो |
सम दाइले ब्रिटिश आर्मीको आधारभूत तालिम हंगकंगमा सम्पन्न गरे पश्च्यात २/२ गोर्खा राइफल्समा आबद्ध भएका थिए । २/२ गोर्खा राइफल्समा केहि समय राइफल्स कम्पनीको अनुभब बटुलेपछि सपोर्ट कम्पनीको मोटर प्लाटुनमा लामो समयसम्म कार्यरत रहेका थिए। सपोर्ट कम्पनि मोटर प्लाटुनमा कार्यरत रहदा ८१ मोटर सम्बन्धि बिभिन्न तालिमहरु लिनुको साथै सेक्सन कमान्डर ब्याटल कोर्समा बेस्ट स्टुडेन्ट हुन सफल भएका थिए। २/२ गोर्खा राइफल्समा हुँदा सम दाई खुड्रेस तथा क्रसकन्ट्री दौडमा माहिर थिए । सन १९९० पछि ब्रिटिश आर्मीमा कटौती शुरु भएपछी २/२ गोर्खा राइफल्स पनि कटौतीको मार तथा चपेटामा परेपछि उनि ७ गोर्खा राइफल्समा आबद्ध भएका थिए। ७ गोर्खा राइफल्समा आबद्ध भएपछी उनले झन्डै उनको उमेर ३५ बर्षको हुँदा ब्रिटिश आर्मीको प्याराजम कोर्स गरेका थिए । सायद ब्रिटिश आर्मीमा सबैभन्दा बुढो उमेरमा पाराजम कोर्स गर्ने उनै सम तिलिजा हुनुपर्छ। किनकि उनि आजसम्म पनि बुढो पाराको नामबाट परिचित छन ।
सम तिलिजा कलर सार्जनको दर्जा लिएर ७ गोर्खा राइफल्सबाट अवकाश पाएपछि अफ्रिकाको तान्जानिया भन्ने देशमा केहि बर्ष नोकरी गरेपछि परिवारसहित बेलायत छिरेका थिए। उनि बेलायतमा रहदा ब्रिटिश गोर्खा कम्युनिटी डोनकाष्टरका निबर्तमान उपाध्यक्ष थिए भने चिम्खोले समाज युकेका बर्तमान उपाध्यक्ष थिए। सम तिलिजा गित संगीतप्रति अति रुचि राख्दथे । उनको रचनामा रेकर्ड गरिएको “धौलागिरी शिरैमा” भन्ने गितमा गायक गगन पुन र गायिका तारा पुनले स्वर दिएका छन भने सो गीतलाई चिमखोलामा छायांकन गरिएको छ । उनको पहलमा इन्द्रेणी टिमलाई चिमखोला लैजाने सम्पूर्ण तयारी पुरा भएको भएता पनि कोभिड १९ को कारणले गर्दा सो धोको पुरा हुन बाँकी थियो । स्वर्गीय सम तिलिजा श्रीमती फमया पुन तिलिजा छोराहरु नबिन तिलिजा, नसिब तिलिजा, छोरी निरा तिलिजा लगायत सम्पूर्ण भाइहरु तथा बहिनीहरुको घरपरिवार, इस्टमित्र र साथि भाईहरुलाई यो धर्तीमा छोडेर उनि स्वर्गको बाटो लागेका छन। उप्रान्त यो जिन्दकिमा भेटहुन नसके पनि स्वर्गमा अबश्य भेट हुने बाचा गरेको छु |






