जगदीशश्वर नरसिंह केसी
सत्तामा बसेर जे गर्ने हो त्यो नभन्ने, जे भनेको हो त्यो नगर्ने, बेइमान राजनीतिमा प्रचलित अपारदर्शी कम्युनिस्ट आचरण प्रधानमन्त्री केपी शर्मा ओलीले पनि राम्रोसँग वरण गरेको देखिन्छ । ‘म भ्रष्टाचार गर्दिनँ र गर्न पनि दिन्न’ भन्ने उहाँको बारम्बारको अस्वाभाविक भनाइले हामीलाई आश्वस्त बनाएको होइन, आशंकित बनाउन थालेको थियो । आशंका झुटो होस् भनी हामीले चाहे पनि, हाम्रो चाहनाविपरीत सत्य सावित भयो ।
सत्तारुढ नेकपा का ‘कार्यकारी’ अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेकपाभित्रकै एउटा सशक्त र प्रभावशाली पक्षको प्रतिनिधित्व गर्दै हालै प्रस्तुत गरेको १८ बुँदे प्रतिवेदन आफैंमा ओलीजी र उहाँको सरकारको नालायकी र सत्तामा रहन अयोग्य भएको आधारभूत दस्तावेज हो ।
वास्तवमा प्रचण्डद्वारा प्रस्तुत उक्त प्रतिवेदनले प्रधानमन्त्री ओलीमाथि महाअभियोग नै लाग्ने १८ वटा बुँदा उल्लेख गरेको छ । त्यसैले अब यो प्रतिवेदन नेकपाभित्रको आन्तरिक दस्तावेजमात्र भएन, त्यसको अन्तरवस्तु सार्वजनिक चासोको विषय भएकोले नेपाली कांग्रेसले लोकतान्त्रिक विधिउचित आवश्यक कारबाही गर्ने बेला आएको छ ।
प्रचण्डले प्रस्तुत गरेको २० पृष्ठ लामो सो प्रतिवेदनको १२ औं पृष्ठमा प्रस्टसँग उल्लेख छ, “वाईड बडी विमान खरीद, सुरक्षण छापाखाना खरीद र सञ्चारमन्त्रीको टेप प्रकरण, यति होल्डिङ्गसँगको अपारदर्शी र शंकास्पद कारोबार, चिनी आयातमा घोटाला, कोरोना संक्रमणको नियन्त्रणका लागि स्वास्थ्य सामाग्री खरीदमा ओम्नी समूहको साँठगाँठ र अनियमितता, बजेट सार्वजनिक गर्नुअघि अतिगोप्य राख्नुपर्ने राजश्वका दररेट परिवर्तनलाई चुहाएर विद्युतबाट चल्ने गाडी र चकलेट आयातमा अनियमितताजस्ता प्रकरण सार्वजनिक भए । यस्ता प्रकरणमा मुछिएकाहरूको प्रतिरक्षा गरेर क. केपी शर्मा ओलीले भ्रष्टाचारलाई प्रोत्साहन र संरक्षण गर्नुभयो ।”
सत्तारुढ नेकपामा ओलीसरहको हैसियतका समकक्षी प्रचण्डले एउटा सिंगो पक्षलाई प्रतिनिधित्व गर्दै प्रस्तुत गरेको उक्त प्रतिवेदनबारे प्रमुख विपक्षी दल नेपाली कांग्रेसलाई त चुप लागेर बस्नु नहुने बनाएको छ नै, सत्तारुढ पार्टीभित्रकै न्यायप्रेमी र निष्ठावान नेता तथा कार्यकर्ताहरूका साथै मतदाताहरू समेत प्रतिवेदनका अन्तर्वस्तुलाई बोकेर वर्तमान सरकारका विरुद्ध उत्रिनु आवश्यक भइसकेको छ ।
यत्रो शासकीय अन्याय, अत्याचार, भ्रष्टाचार, संविधान ध्वस्त, असुरक्षा, दण्डहिनता, कुशासनद्वारा जनताको बाँच्ने सम्भावना तहसनहस बनाइरहँदा पनि मुर्दाशान्ति कायम राखेर सरकारका ज्यादतीप्रति प्रतिक्रियाहीन हुने हो भने हामी कसैको भविष्य उज्वल, सुरक्षित र सुनिश्चित नहुने अवश्यम्भावी छ । त्यसैले समय छँदै सोचौं ।
वर्तमान कम्युनिस्ट नेतृत्वको सरकार मुलुकको लागि भयानक संकटको स्रोतका रुपमा कुख्यात भएर चिनिइसकेको छ ।






