चीन माघ ३० । ‘झूटो’ र ‘अनुचित’ सामग्री प्रसारण गरेको भन्दै चीनले बीबीसी वर्ल्ड सर्भिस टेलिभिजनको प्रसारणमा प्रतिबन्ध लगाएको छ ।
बीबीसी वर्ल्ड न्युजलाई चीनमा प्रसारणमा रोक लगाइएको चिनियाँ राष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेका छन् । हालैका आफ्ना रिपोर्टहरुमा बीबीसीले कोरोना महामारी र शिनजियाङमा विगर मुसलमानहरुमाथि शोषण भइरहेको भन्दै आलोचनात्मक सामग्री प्रसारण गरेको थियो ।
बेलायतको विदेश मन्त्रालय विज्ञप्ति जारी गर्दै चीनमा इन्टरनेट र मिडयामाथि कडा प्रतिबन्ध लागू भएको बताएको छ । बेलायती विदेश मन्त्रालयले चीनको पछिल्लो निर्णयले विश्वसामु उसको छवि गिराउने प्रतिक्रिया दिएको छ ।
गएको हप्ता बेलायती सञ्चारमाध्यम नियामक निकाय अफकमले चीन सरकारको नियन्त्रणमा रहेको सीजीटीएन टेलिभिजनको प्रसारण लाइसेन्स निलम्बित गरेको थियो । त्यसैको प्रतिक्रियास्वरुप चीनले बीबीसीको वर्ल्ड सर्भिसमाथि प्रतिबन्ध लगाइएको विश्लेषण गरिएको छ । बीबीसीले चिनियाँ राष्ट्रियता र राष्ट्रिय एकतालाई अवमूल्यन गर्दै सामग्री प्रसारण गरेको पनि चिनियाँ अधिकारीले आरोप लगाएका छन् ।
बीबीसीका एसिया सम्पादकका अनुसार चीनमा बीबीसी वर्ल्ड सर्भिसमाथि प्रतिबन्ध लगाउँदै खासै असर नपर्ने बताए ।






