थेम्सको लहरमा तमोरको स्पर्शं

SHARE:

डा. मुलीवीर – बेलायत।

शान्ति बहिनी, तिम्रो सप्रेम भेटस्वरुपको सुन्दर पुस्तक सप्रेम स्वीकार । तिमी थेम्स नदीको फेर पक्रेर तमोर हुदै फक्तालुङ हिडेकी यात्री रहिछौ । यात्राको उरुङ शुभकामना ! “थेम्सको लहरमा तमोरको स्पर्श” पाउनासाथ मैले त्यसै शिर्षकमा कविता छ कि भनेर हेरेँ । रहेछ अलि फरक – श्पर्श भन्दा पनि बढी छोइने कविता लेखेकी रहिछौ किनकि पूर्खाहरुको रगतले सिंचिएको थेम्सको पानीमा लाहुरेहरुको वियोगान्त इतिहास यत्र तत्र तैरिएको दृष्य कहाँ जोकोही आँखाहरुको पित्ताम ! यस्तो देख्नु त केवल र केवल कविताकै आँखा मात्र चाहिन्छन नत्र मैले र अरूले पनि देखिहाल्थे नि ! नि ?

तिमी स्त्री भएकैले होला तिम्रा कविताहरूभरि अक्षरहरु आमा भएर हजार अक्षर बच्चाहरू जन्माएका रहेछन चाहे त्यो “किन किनारिन्छन आमाहरू” होस या “माहिलीको आगमनमा कोही किन डराउछ ?” अनि अरु अरु… हो नि, तिमीले सोधेकी छौ।

“आठ हजार वर्षदेखी प्रश्नहरुले यात्रा गरिरहेछन
आमाले निर्माण गरेको सभ्यता
यस पृथ्वीमा किन किनारिन्छन आमाहरू ?”

त्यसै गरी तिम्री “माहिलीको कथा” कम धारिलो बनेर बगेको छैन । युगौँदेखि छोरी चेलीले हाम्रो समाजमा भोगेको अर्घेलोपन र छोरी जन्मदा समाजले खुम्चाएको निधारका धर्साधर्सालाई अक्षरहरुमा अनुबाद गरेकी छौ;

“साउतीको भाषामा फेरी दोहोरिन्छन
कसैले मलाई सुनाए भारी आवाजमा
माहिली छोरी जन्माएछौ ।”

समाज त के? घरैमा पनि अनुहारहरु कहाँ उज्याला थिएछन र कठै!

“कुरुप समाजको सिंगो अनुहार
मसँग आमाको गर्भबाट झरेको सालनालभरी
हर्षहरु लुकेका थिए रे
खुसीहरु अन्तै गएका थिए रे”

तिमी आमा भएरै होला हगी ? – तिम्रो आशिर्वाद दिने शैली पनि अनुपम । त्यो आसिर्वाद त मलाइनै दिए जस्तो लाग्यो –
“आफ्नै मनको युद्धलाई जित्दै
युद्धले भुलेका बाँकी युद्धहरुका लागी
लडन सक्नु”
पछिल्लो समयमा जीवन बुझ्ने क्रममा मनलाई हेर्ने प्रयास गरेको छु । यो मन भनेको त बडो मापाको पो हुदो रहेछ त ! तिमिले दिएका दुइपानाका आसिर्वादहरुमा यी माथिका हरफहरु सम्पूर्ण गीता हो किनकि यसलाई भरोसा दिने तिम्रा एक्ला घाम र जून जो एक्लै आउछन र जान्छन भनेकी छौ । थपमा बटुवाको सत्य गन्तब्यलाई पनि उद्धृत गरकी रहिछौ ।
“दोबाटो अन्त्य रहेनछ
दोबाटाहरुमा
नअल्मलिइ
नआत्तीइ
यात्रालाई गन्तब्यतिर बढाइरहनुपर्छ ।”

तिमीले कवितामा जीवन, प्रेम, विसङगती, तृष्णा, वितृष्णा, पीडा र भरोसा सबै सबैको विस्कुन छ । यस अर्थमा तिमी कविताकी असल आमा बनेकी छौ । तिम्रा कविताहरु पढदै जाँदा कवि मन्जुललाइ पढे जस्तै लाग्यो ।
ल है बहिनी यसो पो भनेँ र यस्तै लेखेँ; किरिङमिमिङ लेखेँ । के के लेखेँ के के? कविता पढेर लेखेँ कि अक्षरमात्र पढेर लेखेँ । तर यौटा कुरा जरुर सत्य लेखेँ – तिम्रा भावनाहरु छोइने भएकैले लेखेँ ।

अन्तमा तिमी–हामी डियास्पोराकै भएको साइनोमा यो तिम्रो डियास्पोराको सुन्दर हरफ तिमीलाई नै

“छुट्टिएका
एक भूगोलदेखी
अर्को भूगोलभित्र
एता न उताको
कोहीको नहुनु जस्तो ।”
तिम्रा आगामी कविता–सन्तानहरूले नेपाली साहित्यिक डियास्पोराको डाँडाकाँडा ढाकुन; शुभकामना

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!