लण्डन । बडा दशैंको पहिलो दिन घटस्थापनाको अवसरमा लन्डनस्थित नेपाली दूतावासमा विधिपूर्वक घटस्थापना गरी पूजा अर्चना गरिएको छ।
पण्डितहरू चिरञ्जीवी ढकाल, निलहरि घिमिरे, गोविन्द नेपाल र होमनाथ पौडेलले नेपाली दूतावास परिसरमा रहेको हिन्दू मन्दिरमा स्वस्तिवाचन सहित घटस्थापना पूजा गरेका थिए।
नेपाली कल्चर सेन्टर यूके स्थापना भएको एक वर्ष पुरा भएको अवसरमा आयोजित कार्यक्रममा पश्चिम लण्डनमा नेपाली सांस्कृतिक केन्द्र स्थापना गर्ने अभियानअन्तर्गत हालसम्म १ लाख २२ हजार ५ सय ७२ पाउण्ड (करिब २ करोड ५० लाख रुपैयाँ) संकलन भएको जानकारी दिइयो । नेपाली भाषा, संस्कृति, परम्परा र पहिचानको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले पं कुबेर सुवेदीको उत्प्रेरणामा उक्त केन्द्र स्थापना गर्न लागिएको हो।
कार्यक्रमलाई सम्बोधन गर्दै बेलायतका लागि कार्यवाहक राजदूत बिपिन दुवाडीले बेलायतमा नेपाली समुदायको साझा चौतारीका रूपमा सांस्कृतिक केन्द्रको आवश्यकता रहेको बताए। नेपाली कल्चर सेन्टर यूकेले अघि सारेको परियोजनाको प्रशंसा गर्दै उनले यसलाई अत्यन्तै सराहनीय पहलको संज्ञा दिए।
दुवाडीले नेपालमा हालै भएका प्राकृतिक विपद्का कारण देश कठिन परिस्थितिबाट गुज्रिरहेको उल्लेख गर्दै मातृभूमिलाई संकट परेको बेला विदेशमा रहेका नेपाली समुदायले सधैं एकजुट भएर सहयोग गर्दै आएको बताए। देशप्रतिको माया, सामाजिक उत्तरदायित्व र आपसी एकताको भावनाले प्रवासमा रहेका नेपालीलाई मातृभूमिसँग जोडिराखेको उनको भनाइ थियो। उनले नेपाली समुदायको एकता र सहकार्यले यस्ता महत्त्वपूर्ण परियोजनालाई सफल बनाउन योगदान पुग्ने विश्वास व्यक्त गरे।
उक्त कार्यक्रममा धार्मिक तथा सांस्कृतिक प्रस्तुतिसमेत समावेश गरिएको थियो। कलाकार निरुषा भट्टराई पाण्डेको टोलीले नेपाली सत्सङ्ग तथा भजन प्रस्तुत गरेको थियो। प्रस्तुतिमा श्री बालेश्वरी देवी, होमनाथ पौडेल, शंकर खराल, गंगा खनाल, प्रकृति खनाल र निधि पाण्डेले साथ दिएका थिए।
कार्यक्रममा स्पेल्थर्न काउन्सिलका पूर्वमेयर मेड बकको समेत उपस्थिति थियो।







