
HAPPY BIRTHDAY BISHESANK.
छोरालाई र छोराको कुरा (बाउको सपना, मनोदशा, अपेक्षा र वास्तविकताको छोटो वृतान्त । तपाईंको सन्तान टिनेज वा युथ हुनुहुन्छ भने एकपटक पढ्न अनुरोध गर्दछु ।)
छोरा तिमी आज २१ वर्षमा प्रवेश गर्यौ।
सन् २००० चिनियाँ क्यालेन्डरअनुसार Year of Dragon हो। Bishesank, Hong Kong मा जन्मेको हो । ल्होहरूमा चिनियाँहरू यो ल्होलाई सबैभन्दा शक्तिशाली मान्ने गर्छन् । त्यसैले चिनियाँहरूले भरसक यही ल्होलाई सदुपयोग गरी सन्तान जन्माउने गर्छन् । धेरै नानीहरू जन्मने वर्ग (ल्हो) भित्र पर्दछ । गुरूङको क्यालेन्डरमा गिद्द वर्ग (मुप्री अथवा क्रोए ल्हो) भन्छौं । स्मरण रहोस्, चारवटा वर्गमा हुबहु मेल खाँदैन । तर अन्य आठवटा वर्ग मिल्दछन् र यो प्रत्येक बाह्र वर्षमा घुमिरहन्छ ।
सन् २००६ मा हङकङबाट सपरिवार यूके छिरेपछि धेरै कुराहरूमा फरकपन पाएँ ।
…
झन्डै एक वर्ष पाँच जनाको परिवारलाई बासगँसको प्रपन्च गर्ने तिम्रो आज्यू कान्छी (सङ्गीना ) र काका (प्रकाश)को गुण तिर्नुपर्छ बाबु । कक्षामा Never second केटो थियौ । हामीलाई यो केटो चाहिन्छ भन्थे स्कुलका शिक्षक र शिक्षिकाहरू। उता हुँदा म सबै म सक्तछु भन्ने आत्मबिश्वास थियो, अलिकति हङ्गर पनि थियौ । तर यूकेको पढाई र रिल्याक्सपनले फरक हुँदै गएको महसुस भयो छोरा । यहाँ Compare नगर्ने, बच्चालाई अनावश्यक Pressure नदिने स्कुलमा सबैलाई नै तपाईंको नानी राम्रो छ भनी फुर्काउने गरेको पाएको छु ।
कहाँको पढाइ कस्तो….के राम्रो के नराम्रो…… यो त बहसको कुरा होला बाबु ।
तिमी युनीको अन्तिम वर्षमा छौ ।
तिम्रो पढाई, क्षमता, ज्ञानलाई अघि बढाउँदै लानु ल ।
पटक पटक मैले स्कुल, कलेज र युनीको पढाईले मात्र पुग्दैन भनी भनिरहेको छु । तिमीलाई फकाएर र करकापमा पनि धेरै पटक गुरू (मेन्टर)हरूसँग लगेको छु ।
धेरै पटक webinar मा राखेको छु ।
धेरै पटक यो वा त्यो किताब पढ्न भनेको छु । फेमिली वाटसाप र ईमेलमा सयौं लिन्क फरवार्ड गरेको छु । मलाई थाह छ तिमी झिझो मान्छौ, झोंक पनि चल्छ होला …
बाउलाई सिधै भन्न नसकेर कहिलेकाहीं गुन्गुन गरेको पनि पाएको छु, बाबाको यो भएन, त्यो भएन….मलाई बुझ्नुहुन्न भन्ने तिमीहरू तीनजना गुन्गुन गरेको पनि सुनेको छु । मान्छे हो….केही क्षण नमज्जा लागे पनि आफ्नो सन्तानले दिएको अपजस शिरोपर गरिदिन्छु …..बस् त्यसपछि आनन्द । आफ्नै सन्तानसँग हार्दाको मज्जा अर्कै हुन्छ छोरा !
बाउ हुन कहाँ सजिलो छ र बाबु । मलाई लाग्दछ हरेक नयाँ पुस्ताले पूरानो पुस्तालाई कुरा नबुझ्ने, पूरानो विचारको (रूढीवादी) ….आरोप लगाइरहन्छन्…यसैको निरन्तरता होला जस्तो लाग्दछ ।
तिमीले सिकेको छैनौ भन्ने मेरो कुरा होइन । तिमीले बुझेको छैनौ भन्ने कुरा पनि मेरो होइन….। मेरो सन्तानले अलि छिटो सिकिदिए हुन्थ्यो भन्ने हो । म त सधै केही न केही थप वा बढी खोजीरहने तिम्रो बाउ पो त ! म लोभी होइन छोरा….. अ साँच्चै लोभी पनि भन्न सक्छौ । तर पैसाको होइन…. असन्तुष्ट पनि भन्न सक्छौ । तर स्वार्थले होइन । स्वार्थ छ छोरा तर बुझिने खालको स्वार्थ छ । मेरो स्वार्थ तिम्रो प्रगति होस् भन्नेमा छ । म तिमीलाई साँच्चै माया गर्दछु । मायामा शर्त राखिन्न छोरा……लेनदेन पनि गरिन्न ….दिइन्छ मात्र !
मेरो स्वार्थ र कर्तव्यसँगै आउँछन् बाबु । मैले जानेर, नजानेर गर्ने वा भन्ने त्यही हो जुन मलाई ठीक लाग्दछ । मैले आफ्नो सन्तानमाथि लादेको अर्थ नलागोस् । तिम्रो भविष्यको लागि भनी भनिरहँदा झोक पनि चल्छ होला ! मलाई म भएर बाँच्न नदिने हस्तक्षेप गर्छौ भनी पनि सोच्न सक्छौ ।
मनको गाँठो के हो भने बाबाले मारेको माछा खाइरहनु ठीकै छ । अब त आफै सुरू गर बाबु भन्ने हो…. गरीब बाउले बल्छीको जोहोसम्म गरिदिन्छु भन्ने हो क्या …
प्रोपर्टी :
प्रोपर्टी मार्केटको कुरा सिकिरहेका छौ । यसको ब्यूटी तिमीले देखिसकेका छौ। जोखिमसँग जुध्न सजिलो हुन्न बाबु । सायद ईमानदारिता, ज्ञान, सीप, समय र पैसाको सन्तुलनले सफलताको नजिक पुर्याउन सक्छ । यद्यपि सफलता केलाई मान्ने भन्ने कुरा हरेक व्यक्तिमा फरक कुरा हो ।
प्रोपर्टीर्ले मलाई च्वइस दियो । आज जागिर छोडेको पनि यही अप्रिलमा चार वर्ष पुग्दैछ । एउटा working class मान्छेको लागि ठूलो नै फड्को हो भन्छु म । मसँग सबैभन्दा बढी समय छ बाबु ।
Short term, Mid term र Long term गरी Portfolio Diversify गरेमा सजिलो हुन्छ छोरा ।
Long Term मा राम्रो मुनाफा दिन्छ।
मैले केही HMOहरू किनेर चलाइरहेको छु । क्यास फ्लोको लागि गजबको रणनीति हो । अर्को FLIPPING हो । सस्तोमा किन्ने र भ्यालु एड गर्ने रणनीति हो बाबु । यसले खुत्रुकेमा पैसा भरिरहन्छ । नाफा राम्रो हुन्छ तर Tax धेरै तिर्नुपर्ने हुन्छ । नाफा गरेमा टेक्स तिर्दा के फरक पर्छ र ! आखिर क्यापिटलिष्टको ठाउँ त हो !
अन्य …धेरै क्षेत्रमा मैले हात राखेँ । Auction मा मात्र ६ वटा प्रोपर्टी किने । Auction एकै दिनमा तीनवटा पनि किने । मेरो साहस/ दुस्साहस देखेर म आफै छक्क पर्छु । नपत्याउन पनि सक्नुहुन्छ फेरि । सफल व्यवसायी एबी गुरूङ साक्षी हुनुहुन्छ ।
(auction ठीक हो भनी फस्नुहोला फेरि ! मलाई सम्पर्क गर्न सक्नुहुन्छ ।)
Auvesta:
गत साल दुईवटा विषयमा फस्ट क्लास आएको बतायौ छोरा । मैले तुरुन्तै £500 स्याबासी स्वरूप दिएँ । त्यसैबाट Auvesta को एकाउन्ट खुल्यो । प्रत्येक महिना £100 पनि थपिदिएको छु । केही न केही जम्मा भइरहेको छ । सुन, चाँदी र चारवटा बहुमूल्य धातुहरू किनिरहेका छौ । तिमीलाई 30-35 वर्ष पुग्दा अवश्य केही तोक हान्दछ । अथवा Rainny day को लागि हो । किनभने यो S&P 500 भन्दा माथि छ । मनी मार्केट बुझ्न पनि केही सहयोग पुग्दछ । तिमीले एन्जोय लिइरहेको पाएको छु । सबैभन्दा ठूलो कुरा लाइक माईन्डेड साथीहरू भेटिन्छन् । मैले पनि ईनभेष्ट गरिरहेको छु ।
सियर मार्केट / क्रिप्टो :
गत साल तिमीहरू तिनैजनालाई मैले जनही १३ वटा Tesla दिएको छु । ती सबै सुरक्षित छन् बाबु । मसँग धेरै सम्पत्ति भएर दिएको होइन । म तिमीहरूलाई केही न केही रूपले सिकुन् र ईन्करेज पनि होस् भनी Promote गरेको मात्र हुँ । म त अबको हाम्रो मान्छेहरुले सन्ततिलाई स्टक (सियर) औसा, दाइजो वा गिफ्टको रूपमा चलाउन भन्छु ।
छोरा तिमीलाई Etoro, Coinbase को Trading 212 मा गरी ससानो पैसा छुट्याइदिएको छु । तिमीलाई केही समय मेरो अवश्य पर्दछ । आस छ केही महिना वा एक वर्षमा तिमीले केही सिक्ने छौ । शुभकामना छ ।
सियर मार्केटलाई हाम्रो समाजले जुवासँग दाँज्छन् बाबु । म भन्छु यो अर्धसत्य कुरा हो । धेरै प्रकारका सियर छन् । तुलानात्मक रूपले कम जोखिम भएका र राम्रो रिटर्न दिने सियरहरू पनि छन् । समाजले के भन्छ भनी सुनेर बस्ने होइन । तिमी अलि प्रगतिशील हुनुपर्छ भन्छु म । सियर मार्केट बुझेनौ भने तिमी पछि पर्छौ र जुन बाउको लागि असह्य हुन्छ बाबु ।
कमाई गर्नुभन्दा पहिले अध्ययन, सीप बढाउनुपर्ने हुन्छ भनी भनिरहन्छु । तिमीले केही किताबहरू पढ्यौ, केही Training मा गयौ । धेरै Strategy हरू भित्ताभरि टाँसेर राखेका छौ । Crypto को पनि तिमीले धेरै समय कृष्ण काकासँग बिताएका छौ । बढी भोलाटाईल हुन्छ, बिचार गर्नु ल ।
तिमीले मलाई काउन्टर चेक गरेका हौ वा साँच्चै हो एकाउन्ट हेर्ने रहर गर्ने गर्छौ । म पनि आखिर मेरो सक्सेसर तिमी नै हौ क्यारे भनी केही देखाउने गरेको छु । अलिकति भएको अखिर तिमीहरूको नै हो ।
फरेक्स:
तिमीले फिनानसियल मार्केट पढ्नुपर्छ । फरेक्स सिक्नुपर्ने हुन्छ बाबु भने । सायद डेलिबेरटली पैसा छैन भन्यौ । बाबासँग जस्तो बदमासी अरूलाई कहाँ गर्न पाइन्छ र छोरा !
आज तिम्रो जन्म दिन हो …मैले तिम्रो माग पूरा गरेको छु । १ हजार पाउन्डबाट Forex सुरूवात गर्न भनी एकाउन्ट लगानी गरिदिने भएँ । फरेक्स मसँग भन्दा Sabindra Kumar Gurung मामासँग सिक्नु भने । उनले धेरै राम्रो गरिरहेको छ । मैले पनि 17 महिना फरेक्स पढेँ । केही कमाई पनि गरेँ । तर daily trading गर्न छोडेँ । कुमार बाबुले मेरो इम्प्रेसनमा फरेक्स सिक्नुभयो । अहिले मेरो सहयोग पाएमा नि:शुल्क सघाउने कुरा गरेकोले म उत्साहित भएँ । मैले एक महिना समय दिन्छु भनेको छु ।
त्यसैले छोरा, भान्जा र भतिजोलाई सिकाउने (पहिले डमी एकाउन्ट र पछि रियल एकाउन्टमा) पनि सिकाउने विचारमा छौं । यदि तपाईंहरू पनि इच्छुक हुनुहुन्छ भने सम्पर्क गर्न सक्नुहुन्छ । हामीले कुनै व्यक्तिगत फाइदाको होइन र कुनै पनि चार्ज पनि नलिने हुँदा सानो संख्यालाई मात्र लिन्छौं । यो फर्स्ट कम फस्ट सर्भको आधारमा हुनेछ । (हामी फिनान्सियल एडभाइजर होइनौं र यो नितान्त एजुकेसन वा ईन्टरटेमन्ट प्रोपोजको लागि मात्र हो। )
लौ छोरा बाउको वृतान्त र मनोदशा यही हो । सपना, आपेक्षा, विश्वास र भरोसा नाप्ने जोख्ने बेला भई हालेको छ वा छैन थाहा भएन । तर आम बाउहरु जस्तै मेरो dream छ ।
छोरा जिम्मेवार होस्, सुखमा मात्तिने र दुःखमा आत्तिने नहोस् भन्छु म । सधैं नयाँ ठाउँ, नयाँ अवसर, नयाँ च्यालेन्जलाई स्वीकार्ने, नयाँ किताब पढिरहने र नयाँ उचाई चुम्न खोज्ने…हरदम प्रयासरत् रहोस् छोरा ।
Happy birthday Chora Bishesank.
(छोराको जन्मोत्सबमा उनलाई एउटा जिम्मेवार बाउको हिसाबले धेरै शब्दहरू खर्चेँ । कसैले कर गरेको होइन भोलिन्टियरली होमिइरहेको छु । आफू आपमानित हुँदा पनि उनीहरूसँग घुस्रन्छु । असहजताको वातावरणमा पनि माहोल बनाउँदै छिर्छु म…. आफू पलपलमा स्वेच्छाले हारेर तिमीहरूलाई जिताउने तिम्रो बा बाहेक को हुन सक्छ र ? कथा वास्तविकतामा आधारित छ । कथा आममान्छेसँग मेल खान्छ । किनभने प्रत्येक बाउहरुको मनोदशा या त यस्तै वा यसैको वरिपरि छ ।
विभिन्न कारणहरूले धेरैजना खुल्न चाहँदैनन् । यो छोटो जीवनमा मलाई धेरै बनावटी कुरा गर्नु छैन । म बढीभन्दा बढी ईमान्दार कोसिस गर्दछु । यसलाई पढेर आम बाउहरूले केही धारणा बनाउनुभएको छ होला । तपाईंलाई कस्तो लाग्यो कमेन्ट र फिडब्याकको प्रतीक्षामा छु । सियर गर्न अनुरोध गर्दछु ।)






