पुनर्निर्मित घरमा आफूखुसी संरचना विस्तार गर्दा खतरा हुने भन्दै विज्ञहरूको चिन्ता

SHARE:

काठमाडौं ९ चैत्र । २०७२ सालको गोरखा भूकम्पपछि सञ्चालित पुनर्निर्माणको महाअभियान अन्तर्गत पुनर्निर्मित निजी आवासहरुमा नयाँ संरचना थप हुने श्रृंखला सुरु भएको छ ।

पुनर्निर्माण हुने सबै घरहरु अब आउने भूकम्प थेग्न सक्ने गरी निर्माण हुनुपर्छ भन्ने सिद्धान्तमा आधारित भएर प्राविधिक मापदण्डहरुको निर्धारण गरिएकोमा सबै घरहरु सोही अनुरुप निर्माण भएपनि आकारका हिसाबले भूकम्पभन्दा अघिका घरहरु भन्दा केही साना घरहरु निर्माण भएका थिए । घरधनीहरुको आवश्यकता र समय अनुसार परिवार संख्या बढ्दै जाँदा ती पुनर्निर्मित घरहरुमा फेरि कोठा, तला वा फुर्काहरु जोडिन थालेको छ । सरकारी अनुदान प्राप्त गरी पुनर्निर्माण गरिएका ती घरहरुमा कोठा, तला वा फुर्काहरु जोड्दा पुनर्निर्मित घरहरुमा लागू गरिएजस्तै मापदण्ड पालना नहुने चिन्ता छाएको छ ।

२०१८ को अन्त्यमा गरिएको एक अध्ययनको निश्कर्ष अनुसार गोरखा भूकम्पभन्दा अघि अधिकाँशको घर २ तला वा बढी भएको र कोठाको औसत संख्या ४ रहेकोमा भूकम्पपछि १ तला र कोठा संख्या २ मा सिमित भएको पाइएको थियो । अध्ययनलाई आधार मान्दा पुनर्निर्माणको प्रकृया सम्पन्न भइसकेपछि घरधनीहरुले आफूखुसी आवश्यकता अनुसार कोठा थप्ने, तला थप्ने वा केही नयाँ संरचना घरसँगै जोडेर निर्माण गर्दै जानेछन् । यो प्रयासलाई रोक्न वा बन्देज लगाउन सम्भव नहुनेहुँदा थप गरिने नयाँ संरचनाको भूकम्पीय सुरक्षाको ग्यारेन्टी गराउनु नै अहिलेको आवश्यकता रहेको विज्ञहरुले औँल्याएका छन् । यो विषय नितान्त प्राविधिक विषय मात्रै नभएर सामाजिक सांस्कृतिक विषय रहेको र आगामी दिनमा थपिने नयाँ संरचना पनि भूकम्पीय सुरक्षालाई ध्यान दिएर निर्माण गर्नुपर्ने विज्ञहरुको सुझाव छ ।

ढुंगा माटोबाट बनेका घरहरुमा कोठा वा तला थप्न चाहने लाभग्राहीहरुलाई मध्यनजर गर्दै तयार गरिएको कार्यविधिमाथी सोमबार आयोजित छलफल कार्यक्रममा विज्ञहरुले यस्तो सुझाव दिएका हुन् । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले कार्यविधि कार्यान्वयनको केन्द्रविन्दु स्थानीय तहलाई बनाउनुपर्ने र त्यसमा केन्द्रीय निकायहरुले मेरुदण्डको रुपमा काम गर्नुपर्ने बताए । पुनर्निर्मित घरको क्रमश विस्तार मूलतः ग्रामीण क्षेत्रमा संस्कृति नै रहेको उल्लेख गर्दै उहाँले थप गरिने संरचना पनि भूकम्प प्रतिरोधी हुने कुराको ग्यारेन्टी गराउनुपर्ने बताए । कार्यविधिमाथी विज्ञहरु अनिल पोख्रेल, जितेन्द्र बोथरा, विवेक रावल, डा. हरिराम पराजुली, श्याम किशोर सिंह, डा. रमेश गुरागाईँ लगायतले टिप्पणी गर्नुभएको थियो । उहाँहरुले पुनर्निर्माणको चरणमा लागु गरिएका मापदण्ड, विधि र पद्दतिलाई निरन्तरता दिइएमा मात्रै पुनर्निर्माणको दौरानमा गरिएका प्रयासहरु दीगो हुने बताए । नयाँ थपिने संरचना निर्माणमा ध्यान पुर्याइएन भने फेरि भूकम्प आउँदा पुरानै नियति व्यहोर्नुपर्ने उनीहरुको चेतावनी थियो ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरण कार्यकारी समिति सदस्य डा. चन्द्रबहादुर श्रेष्ठले कार्यविधिलाई अन्तिम रुप दिइएपछि प्राधिकरणको कार्यकारी समितिबाट पारित गरी कार्यान्वयनमा लगिने र त्यसमा स्थानीय सरकार मुख्य कार्यान्वयनकर्ता हुने बताए । घरमा थप गरिने सम्भावित संरचनाको मापदण्ड, त्यसको निर्माण प्रकृया र विधि पद्दतिबारे सबै पक्ष उत्तिकै जानकार हुन जरुरी छ । घरधनी, निर्माणकर्मी, प्राविधिक, ठेकेदार र अन्य सरोकारवाला निकायहरुमा ती सूचना प्रवाह गर्नका लागि अमेरिकी सहायता नियोगको सहयोगमा भूकम्प प्रविधि राष्ट्रिय समाज नेपालद्वारा सञ्चालित बलियो घर कार्यक्रमको सहयोगमा पुनर्निर्माण प्राधिकरण केन्द्रीय आयोजना कार्यान्वयन इकाइ (भवन)ले निर्माण भइसकेका ढुंगा माटोको घरमा तला वा कोठा थप्नेबारे कार्यविधि र त्यस सम्बन्धमा सरल ढंगले बुझाउन १० बुँदे पुस्तिका तयार पारेको हो । केन्द्र्र्रीय आयोजना कार्यान्वयन इकाइ (भवन) का उपनिर्देशक झप्परसिंह विश्वकर्मा र एनसेट बलियो घर कार्यक्रमका प्रबन्धक रञ्जन ढुंगेलले कार्यविधि तथा १० बुँदे पुस्तिाका बारेमा प्रस्तुतिकरण दिएका थिए ।

शहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक नवराज प्याकुरेलले आगामी दिनमा बन्ने घर संरचनाहरु विस्तारका लागि पनि कार्यविधि उपयोगी हुने विश्वास व्यक्त गर्दै यसलाई कार्यान्वयन गर्न विभाग तत्पर रहेको उल्लेख गरे।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!